कसरी बीमाको पहुँच बाहिरै रहे वैदेशिक रोजगारमा जाने ४९ प्रतिशत युवा ?

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Jan 16, 2024 | 12:27:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले वैदेशिक रोजगारमा जाने युवाहरुका लागि ल्याएको वैदेशिक रोजगार म्यादी जीवन बीमा प्रभावकारी नभएको देखिएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने प्रयत्नस्वरुप २०७३ सालदेखि लागु भएको यो बीमा पूर्णरुपमा कार्यन्वयन नभएको देखिएको हो । 

हाल रोजगारीको सिलसिलामा ३५ लाख बढी नेपाली विदेशी भूमिमा छन् । विदेशी भूमिमा पसिना बगाइरहेका ति ३५ लाख मध्ये आधाले पनि यो बीमा नगरेको तथ्यांकले देखाएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल वैदेशिक रोजगार म्यादी जीवन बीमा सक्रिय रहेको संख्या करिब १९ लाख मात्र छ ।  अर्थात् ५१ प्रतिशतले मात्र यो बीमा गराएको देखिन्छ । बीमा प्राधिकरणको तथ्यांक र वैदेशिक रोजगारीमा रहेका नेपालीको संख्यालाई हेर्नेहो भने अझै म्यादी बीमाको प्रभावकारीता न्यून रहेको र पहुँच पनि साँधुरो रहेको देखिन्छ। अन्य ४९ प्रतिशतले किन बीमा गराएनन् वा कसरी तथ्यांकमा छुट भन्ने गम्भीर प्रश्न खडा भएको छ । 

के छ कानुनी व्यवस्था ?

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २६ को उपदफा (१) मा कामदारलाई वैदेशिक रोजगारमा पठाउनुअघि इजाजतपत्रवालाले प्रत्येक कामदारको करार अवधिभर कायम रहने गरी कम्तिमा ५ पाँच लाख रुपैयाँको बीमा गराउनु पर्ने व्यवस्था छ। त्यसैगरी दफा २१ को उपदफा (२) मा व्यक्तिगत रुपमा वैदेशिक रोजगार जानेले पनि  बीमा गरेको प्रमाण पेश गर्नुपर्ने प्रावधान छ ।

यस्तै विदेशमा रहेको अवस्थामा बीमाको अवधि सकिए पनि सम्बन्धित देशमा रहेको नेपाली कूटनीतिक नियोगमा बीमाको रकम बुझाएर वा सम्बन्धित कम्पनीमा अनलाईनबाट भुक्तानी गरेर पनि बीमा गराउन सकिने प्रावधान वैदेशिक रोजगार (पाँचौ संशोधन) नियामवी, २०६४ मा उल्लेख छ । उक्त नियमावलीको दफा १७ को उपदफा (३) मो यसबारे स्पष्ट पारिएको छ । यसैगरी नियामावलीको दफा १९ को उपदफा (१) अनुसार वैदेशिक रोजगारमा कामदार पठाउँदा मान्यता प्राप्त बीमकबाट बीमा गराउनु पर्नेछ । 

नियम तथा कानुनमा नै उल्लेख गरिएको भएपनि बीमाको बारेमा चासो नभएर या नबुझेर वैदेशिक रोजगारीमा जाने युवाहरुले उक्त बीमा नगरेको सरोकारवाला बताउछन् ।

नवीकरण नभएको हुन सक्छ : बीमा प्राधिकरण

 नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा नगरी विदेशमा रोजगारीमा जान नै नसकिने बताउछन् । उनले अहिले बीमा गराएर मात्र विदेश जानुपर्ने नियम भएकाले  कसैले पनि बीमा नगरी विदेश नगएको दावी गरे । तर, उनले विदेशमा गएपछि बीमा अवधि सकिएकाहरुले रिन्यू गर्न भने ध्यान नदिएको हुनसक्ने अनुमान गरेका चना । 

नवीकरण नभएर समस्या: व्यवसायी 

वैदेशिक रोजगार सम्बन्धी व्यवसायीहरुले पनि विदेशमा गएकाले नवीकरण नगरेको हुनसक्ने जनाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघराज भुर्तेलले बीमा नगरी कोहि पनि कानुनी प्रक्रियाबाट कामकालागि विदश जान नसक्ने उल्लेख गर्दै अवधि सकिएपछि बीमा नवीकरण नगरेको हुनसक्ने जानकारी दिए । 

तथ्यांक गलत हुनसक्छ: विभाग 

यता नेपाल वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतिले विभिन्न कारणले गर्दा बीमाबाट बञ्चित भएको हुनसक्ने बताए । उनले बीमा कम्पनीहरुले प्राधिकरणमा रेकर्ड पठाउँदा छुटेको हुनसक्ने समेत उल्लेख गरे । यस्तै विदेश जादा केहीले श्रम स्विकृती नलिई जाने भएकोले उक्त स्विकृती नलिई गएकाहरुले बीमा नगरेको हुनसक्ने बताए  । 

यसैगरी, केहि दक्ष शिप भएका मानिसहरुमा श्रम स्विकृत नगर्दा पनि हुन्छ भन्ने सोच हुने गरेको भन्दै त्यस प्रकारमा युवाहरु विदेश जादाँ श्रम स्विकृती नलिने गरेको र बीमा पनि नगरेको हुनसक्ने उनको भनाई छ । 

वैदेशिक रोजगार म्यादी जीवन बीमा अवधि र बीमाशुल्क 

वैदेशिक रोजगारीमा जानेले यो बीमा अनिवार्य गर्नुपर्ने प्रावधान रहेको छ । प्रधिकरणले जारी गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमा निर्देशिकामा भिसा अवधि भन्दा १ वर्ष बढी अवधिको बीमा गर्नुपर्ने व्यवस्था रहेको छ ।

जहाँ बीमितको उमेर र बीमा अवधिका आधारमा बीमा शुल्क तिर्नुपर्ने हुन्छ ।  जसमा १८ वर्षको एक युवाले गर्दा लाग्ने प्रिमियम शुल्क र ६४ वर्षको उमेरकाले बीमा गर्दा लाग्ने प्रिमियममा ३ गुणासम्मको फरक पर्दछ ।

यस प्रकारको बीमाका बीमाङ्क रकम १० लाख रुपैयाँको हुन्छ । यस बीमाको अवधिभित्र व्यक्तिको कुनै दुर्घटना तथा मृत्यु भएमा सो बमोजिम दावी भुक्तानी कम्पनीले दिने गर्दछ । दुर्घटनाको सन्दर्भमा कस्तो प्रकारको दुर्घटना, शरिरको कुन भाग तथा अंगमा कति क्षति भयो लगायत विभिन्न कुराहरुको अध्ययन गरेर कम्पनीले दावी भुक्तानी गर्ने गर्दछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved