नाडा अध्यक्षका उम्मेद्वार थापालाई प्रश्न, ‘कर्पोरेट हाउससँग प्रतिस्पर्धा गर्न सक्नुहुन्छ ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2021 | 11:12:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनमा चुनावी गर्मी बढेको छ । अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्था नाडाको चुनावी साधारणसभा भदौ २५ गतेका लागि तोकिएको छ । चुनावी साधारणसभा नजिकिए सँगै नेतृत्वका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । 

पूर्व अध्यक्षहरु र ठूला कर्पोरेट हाउसहरुको हस्तक्षेप हुने भनिएको नाडामा यसपाली अहिलेसम्म २ जनाले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् । 

पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (वाडा) का पूर्व अध्यक्ष ध्रुब बहादुर थापा र नाडाकै वर्तमान उपाध्यक्ष करण चौधरीले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । चौधरी सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् भने थापा सामान्य अटोमोबाइल्स व्यवसायी तथा डिलर्स मात्रै हुन् । 

चौधरी कर्पोरेट हाउसका सञ्चालक हुन् भने थापा काठमाडौँ बाहिर व्यवसाय गर्दै आएका मोफसलका व्यवसायी हुन् ।

ध्रुब थापालाई पश्न, ‘तपाईको उम्मेद्वारी किन ?’

बिजपाटीसँगको कुराकानीमा अध्यक्षका दाबेदार ध्रुब बहादुर थापाले साना र मझौला व्यवसायीका गुनासा कहिल्यै सम्बोधन नहुने परिपाटीको अन्त्यका लागि आफू अध्यक्ष बन्ने दौडमा होमिएको बताएका छन् । 

‘नाडा अहिले सबै प्रदेशमा पुगेको छ, तर नेतृत्व भने सधैँ काठमाडौँका व्यवसायीले मात्रै गर्दै आउनु भएको छ’ उनले भने, ‘म पोखराबाट आएको हुँ, काठमाडौँ बाहिरका व्यवसायी पनि नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण दिन पनि मैले दाबेदारी दिएको हुँ ।’

यति मात्रै नभई, संस्था प्रादेशिक संरचनामा गईसकेको अवस्थामा नाडाका प्रदेश संरचनालाई यथेष्ट अधिकार प्रदान गर्न आफू अध्यक्ष हुन चाहेको उनको भनाई छ । योसँगै नाडाभित्र सिमित व्यवसायीको सिण्डिकेट रहेको र त्यसलाई चिर्न पनि आफूले उम्मेद्वारी दिएको उनको भनाई छ ।

‘नाडामा वर्षौदेखि केही सिमित कर्पोरेट हाउसहरुको बर्चश्व छ, एक किसिमले भन्ने हो भने सिण्डिकेट नै छ’ उनले भने, ‘ब्याक टु ब्याक अध्यक्ष बनाउन मान्छेहरु पहिल्यै तयार पारेर राख्ने र आफ्नो अनुकुलमा संस्था चलाउने परिपाटी छ । यसलाई च्यालेन्ज दिन पनि मैले उम्मेद्वारी दिएको हुँ, संस्था कसैको प्राईभेट कम्पनी बन्न सक्दैन ।’

नाडामा महिला सहभागीता शून्य रहेकाले महिलालाई नाडामा स्थापित गराउन र आफ्नै कार्यकालबाट संविधानले दिएको अधिकार अनुसार नाडामा महिला सहभागीता सुनिश्चित गराउने योजना पनि थापाले सुनाए ।

‘संविधानले हरेक संघ संस्थामा महिला सहभागीता हुनुपर्ने भनेर व्यवस्था गरेको छ, तर नाडामा अध्यक्ष त परैको कुरा, एक्जुकेटिभ कमिटीमा एक जना पनि महिला छैनन्’ उनले भने, ‘सदस्यको लिस्ट हेर्दा ३० प्रतिशत बढी महिलाहरु छन् । तर, उहाँहरु एक्जुकेटिभ कमिटीमा किन अट्नु भएको छैन ?’

समग्रमा नाडालाई सबै अटो व्यवसायीको साझा संस्था बनाउनेदेखि विधान संशोधन सम्मका मुद्दा थापाले उठाएका छन् । विधान संशोधन गरेर नाडा भित्रको खराब पक्षलाई हटाउने आफ्नो लक्ष्य रहेको उनको भनाई छ । 

हाल नाडामा ३३ सय ६५ सदस्य छन् । उनीहरु सबैले मतदान प्रक्रियामा सहभागी हुन पाउने गरी व्यवस्था गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved