जेष्ठ नागरिकलाई हवाई भाडामा छुट: घाटा कम धर्म बढी

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 05, 2019 | 09:45:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको उड्ययन बजारमा जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने नदिने बिषयमा चर्चा छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गर्दै ७० वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक हवाई भाडमा ५० प्रतिशत छुट दिलाउने घोषणा गरेसँगै उक्त बिषयले चर्चा पाएको हो। 

हवाई सेवा प्रदायक कम्पनीले सरकारी योजनालाई ठाडै मान्दैनौ भनेपछि मन्त्री भट्टराईले केही चित्त दुखाई गरेका छन। एक सार्वजनिक कार्यक्रममै मन्त्री भट्टराईले सरकारले ल्याएको योजनामा बसेर छलफल गर्छौ भनेर निजी क्षेत्रले भनेको भए आफू जुनसुकै बेलामा पनि बस्न तयार रहेको तर सिधैँ मान्दैनौ भन्दा आफ्नो चित्त दुखेको दुखेसो गरेका थिए।  

छुटको अन्तराष्ट्रिय अभ्यास

विभिन्न विषयगत निजी क्षेत्रले नेपालमा लगानी गरेवापत सहुलियत दिएका छन्। स्वदेशी लगानीका मेडिकल कलेजले १० प्रतिशत र विदेशी लगानीका मेडिकल कलेजले २० प्रतिशत छात्रवृति दिनुपर्ने अनिवार्य व्यवस्था छ। यी पनि नाफा मूलक नै हुन् । तर यीनिहरुले सरकारी प्रावधान मानिरहेका छन् । 

यद्यपी नेपालको हवाई क्षेत्र भर्खरै बामे सर्दै गरेको क्षेत्र हो । भारत, अमेरिका, स्पेन लगायतका देशमा जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने  चलन छ। ती देशहरुमा जेष्ठ नागरिकको जनसंख्या १० देखि १५ प्रतिशत छन। विकसित देशका नागरिक हवाई यात्रामा अभ्यस्त समेत भईसकेका छन् । ती देशमा अधिकांश नागरिक हवाई यात्रा गर्छन् । तर पनि उक्त देशको सरकारले जेष्ठ नागरिकलाई हवाई भाडामा २० देखि ३० प्रतिशतसम्म छुट दिने गरेका छन् ।

नेपालमा कानुनी प्रावधान  

जेष्ठ नागरिकहरुको सम्मान गर्नुपर्ने कुरा कानुनमा लेख्नै पर्ने विषय नभई यो त मानवतासँग जोडिएको विषय भएको सरोकारवालाको बुझाई छ । आफूभन्दा ठूलालाई इज्जत सम्मान र सानालाई माया ममता गर्ने हाम्रो संस्कार नै हो । 

त्यहि पनि नेपालको संविधान २०७२ ले समेत जेष्ठ नागरिकको अधिकारलाई मौलिक हकभित्र समावेश गरेको छ । संविधानले मौलिक हक अनुसार नै हरेक सेवामूलक क्षेत्रमा जेष्ठ नागरिकलाई सहुलियतको व्यवस्था गरेको छ । 

यतिमात्रै नभई २०६७ सालको एक मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले समेत ‘६० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई यातायात, सडक यातायात लगायत अन्य सार्वजनिक सवारीका साधनमा छुट दिनु’ भनेर आदेश दिएको छ । आजसम्म यो निर्देशन लागू नगरी अदालतको फैसला समेत कार्यान्वयन नभएको अवस्था रहेको सरोकारवालाको भनाई छ । मन्त्री भट्टराईले समेत अदालतले ६० वर्ष भनेकामा सरकारले ७० वर्षमाथिका जेष्ठ नागरिकलाई मात्रै छुट दिने भनिएको बताएका छन् ।

जेष्ठ नागरिक कति  

नेपालमा जेष्ठ नागरिकको संख्या कुल जनस्ंख्याको ७ प्रतिशतको हाराहारीमा छ। अझ ७० वर्षमाथिका जेष्ठ नागरिक त ३.५ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको छ। ७० वर्ष माथिका वृद्धवृद्धा करिब ९ लाख ८० हजार देखिन्छन। यी मध्ये हवाई यात्रा गर्नेको आँकडा हेर्दा वार्षिक करिब ६० हजार मात्रै छन। अर्थात ७० वर्षमाथिका जेष्ठ नागरिक मुस्किलले ५ प्रतिशत छन् । हवाई उडानमा अभ्यस्त भईनसकेको हुनाले नेपालमा हवाई यात्रा गर्ने यात्रुको संख्या कम छ ।   

नेपालमा २ करोड ८० लाख कुल जनसंख्यामा आन्तरिक हवाई यात्रा गर्ने यात्रुको संख्या वार्षिक २८ लाख हाराहारी छ। त्यसमध्ये हवाई यात्रा गर्ने ७० बर्ष माथिका वृद्धवृद्धा ६० हजार मात्रै छन। यसलाई आधार मान्ने हो भने नेपालमा हवाई यात्रा गर्ने कुल जनसंख्याको २ प्रतिशत मात्रै ७० बर्ष माथिका वृद्धवृद्धा देखिन्छन।     

त्यसैले पनि होला मन्त्री भट्टराइले एयरलाइन्स आफैँले जेष्ठ नागरिकलाई छुट दिने घोषणा गर्नुपर्नेमा सरकारले ल्याएको कार्यक्रमलाई सहयोग गर्दिन भन्न नमिल्ने बताए। ‘एयरलाइन्सको पनि सामाजिक उत्तरदायित्व हुन्छ होला, वृद्धवृद्धालाई सेवा दिँदा र नदिँदा पाप र धर्मका कुरा पनि हुन्छन् होला’ मन्त्री भट्टराईले भने । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved