जजिरा एयरवेजले सोमबारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा शुरु गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2022 | 06:52:13 PM मा प्रकाशित

laxmi  sunrise bank

जजिरा एयरवेजले भोली जेठ २ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई सेवा शुरु गर्दै छ। यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हुने छ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको जहाज भोली जेठ २ गते बिहान आइपुग्ने छ । कुवेतबाट स्थानीय समयअनुसार साँझ १८ः३० बजे उडेको विमान जेठ २ गते बिहान १ बजेर ४५ मिनेट जाँदा भैरहवा आइपुग्ने छ ।

बुद्ध जयन्तीका अवसर पारेर कुवेतको जजिरा एयरलाइन्सले पहिलोपटक सोमबार बिहान १७५ जना यात्रु बोकेर विमानस्थलमा जहाज अवतरण गर्ने कार्यतालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए । उक्त विमान सोमबार नै ९० जना यात्रु बोकेर कुवेत प्रस्थान गर्ने महाप्रबन्धक दाहालले जानकारी दिए ।

सो जहाज सोही दिन बिहान २ः३० बजे कुवेतका लागि प्रस्थान गर्नेछ । जजिराले साताको आइतबार, मङ्गलबार, बिहीरबार कुवेतबाट नेपालका लागि उडान भर्नेछ । यस्तै सोमबार, बुधबार र सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर फर्कने छ ।

यसअघि सन् २०१९ नोभेम्बरदेखि उक्त विमान कम्पनीले कुवेत र नेपालबीच सिधा हवाई सेवा दिँदै आएको छ । कुवेतस्थित नेपाली दूतावासले  सिधा हवाई सेवा सञ्चालन भएपछि मध्यपूर्वमा बसोबास गर्ने नेपाली समुदायलाई नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष हवाई सेवामार्फत जोड्न सकिने जनाएको छ । वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि खाडीमुलुक प्रवेश गर्ने नेपालीका लागि सहज तथा सुविधाजनक हवाई यात्रा हुने दूतावासको विश्वास छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकका लागिसमेत थप सहज हुने दूतावासले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved