यसकारण बन्द हुन सक्छ गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जजीराको उडान

निरोज कुमार थापा

निरोज कुमार थापा

May 19, 2022 | 10:21:31 AM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिष्य विमानस्थलबाट कुवेतको जजीरा एयरवेजले व्यवसायिक उडान सुरु गरेको छ । तर, उडान नियमित गर्न सकिनेमा कम्पनी नै विश्वस्त छैन । किनकी सुरुवाती चरणमा भएको उडानमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मात्रै बोक्नु परेको छ ।

यसका लागि भैरहवामै विदेश जानेहरुका लागि श्रम स्वीकृतिको व्यवस्था छैन । काठमाडौँ आएर श्रम स्वीकृति लिएकाहरुलाई फेरि भैरहवा लगेर जहाजमार्फत श्रम गन्तव्यमा पठाउनुपर्ने बाध्यता छ । भैरहवाबाटै श्रम स्वीकृती दिने व्यवस्था नभए केही समयमै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जजीराले उडान बन्द गर्न सक्नेछ ।

बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जजिरा एयरवेजको नेपालका लागि जनरल सेल्स एजेण्ट सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले यस्तो संकेत गरिसकेका छन् । 

‘एक महिना बाटो हेर्छौँ’

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले सधैं काठमाडौँबाट यात्रुलाई भैरहवा लगेर अन्तराष्ट्रिय उडान सम्भव नहुने बताईसकेका छन् । उनले भैरहवामै यात्रु उपस्थित हुने वातावरण श्रम मन्त्रालय र नागरिक उड्ययन मन्त्रालयले मिलाउनुपर्ने सिंहको भनाई छ ।

‘अहिले ७५ हजार रुपैयाँ बस भाडा खर्च गरेर काठमाडौँबाट यात्रुहरुलाई भैरहवा लगेर उडान सुरु गरेका छौँ, सधैँ काठमाडौँबाट बोकेर यात्रुलाई भैरहवा लगेर त्यहाँबाट अन्तराष्ट्रिय फ्लाईट गराउने भन्ने कुरा सम्भव हुँदैन’ उनले भने, ‘भैरहवाबाटै श्रम स्विकृती दिने व्यवस्था मिलाए सधैँ काठमाडौँबाट यात्रु बोकेर भैरहवा पुग्नुपर्ने बाध्यता हुँदैनथ्यो, त्यसैले भैरहवाबाटै श्रम स्वीकृतिको व्यवस्था गरिदिन हामीले श्रम मन्त्रीलाई भनेका छौँ ।’

ट्राभल कम्पनीले काठमाडौँमा आएर श्रम स्वीकृति लिएकालाई हाल गाडीमार्फत भैरहवा लैजादै आएकोमा अब विमानमार्फत लैजाने विषयमा पनि छलफल गरिरहेको छ । 

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको व्यवसायिक आधार तयार पार्न र कम्तीमा ‘अपरेशन कष्ट’ पूर्ति गर्न १ महिनासम्म काठमाडौँबाट यात्रु लगेरै उडान गर्न आफूहरु तयार रहेको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहको भनाई छ ।

‘हामी एक महिना काठमाडौँबाटै यात्रु बोकेर लगेर भएपनि उडान गर्न तयार छौँ, तर एक महिनाभित्र भैरहवामै श्रम कार्यालय राखेर त्यहीँबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाउन श्रममन्त्रीसँग कुरा राखेका छौँ’ सिंहले थपे, ‘श्रम मन्त्री सकारात्मक नै देखिनु भएको छ, उहाँले भैरहवाबाट श्रम स्विकृति दिने व्यवस्था सुरु गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।’ 

‘नेपाल सरकारले बचन पूरा गरे दैनिक उडान गर्छौँ’

जजीरा एयरवेजका भाइस प्रेजिडेन्ट रविन्द्रन भाराथनले पनि पर्यटन मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण र अन्य सरोकारवाला निकायले बचन दिए अनुसारको सहयोग गरे भैरहवाबाट दैनिक १ उडान गर्न कम्पनी तयार रहेको बताएका छन् ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जेठ २ गतेदेखि व्यवसायिक उडान सुरु गरेको जजीराले हाल सोमबार, बुधबार र शुक्रबार गरी सातामा ३ उडान थालेको छ ।

तर, १ महिनाभित्र भैरहवाबाटै श्रम स्वीकृतिको प्रवन्ध नभए जजीराको उडान कायम नरहन सक्ने संकेत एयरलाइन्सका प्रतिनिधि र जजीरा एयरवेजको नेपालका लागि जनरल सेल्स एजेण्टका प्रतिनिधिले गरिसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved