ताराको विमान दुर्घटना प्रकरणमा समिटका पाइलटलाई कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 03:33:50 PM मा प्रकाशित

laxmi  sunrise bank

तारा एयरको जहाज दुर्घटना प्रकरणमा अर्कै एयरलाइन्स कम्पनीका पाइलट कारबाहीमा परेका छन् । गत जेठमा पोखरा विमानस्थलबाट जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ मा दुर्घटना भएको थियो । ताराको जहाज भन्दा दुई मिनेट अघि सोही बाटोमा समिटको जहाज उडाउने दुई पाइलटलाई अनुसन्धानका लागि निलम्बन गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बादलभित्र विमान उडाउन नपाइने नियम हुँदाहुँदै उडाएर अर्काे विमानलाई प्रेसरमा पारेको हुनसक्ने प्रतिवेदनले औँल्याएकाले निलम्बन गरेर अनुसन्धान थालिएको बताइन्छ ।

प्राधिकरणले ट्वीटमा भनेको छ,‘दृश्यात्मक उडान (भीएफआर) मा बादलभित्र उडान गर्ने २ जना वायुयान चालकलाई प्राधिकरणले अर्को आदेश नभएसम्म उडानमा निलम्बन गरी थप छानविन प्रक्रिया अघि बढाएको छ ।’

ताराको जहाज उड्नु भन्दा ठिक २ मिनेट अगाडि मात्रै समीटको जहाज उडेको थियो । समीटको जहाज उडाएका पाइलटले जहाजलाई बादलभित्र प्रवेश गराएको र यसले पछि रहेको ताराको जहाजलाई प्रेसर गराएर त्यही बादलभित्रै प्रवेश गर्दा दुर्घटना भए जस्तो देखिएकाले छानबिन अघि बढाउन समीटको उक्त जहाज उडाएका पाइलटलाई निलम्बन गरिएको क्यान स्रोत बताउँछ ।

‘भीएफआर उडानमा जहाजलाई बादलभित्र प्रवेश गराउन पाइँदैन, तर समीटको जहाज गएको देखिएको छ’ क्यान स्रोत भन्छ, ‘समीटको जहाज अघिअघि रहेर बादलभित्र गएपछि मौसम सफा नै होला भन्ने भएर पछिपछि उडिरहेको ताराको जहाज उडाइरहेका पाइलटलाई पनि जानैपर्ने जस्तो प्रेसर फिल भएको हुन सक्ने देखिएको छ ।’ 

गत जेठ १५ गते आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना भएको थियो । क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएको उक्त जहाज पोखरा विमानस्थलबाट उडेको १२ मिनेटमै सम्पर्कविहीन भएको थियो । दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा जहाज दुर्घटनाको छानबिन आयोग गठन गरेको थियो । उक्त जहाज दुर्घटनाको छानबिन प्रतिवेदनको ड्राफ्ट तयार भइसकेको जनाइएको छ । प्रतिवेदन वैशाख १० गते सार्वजनिक गर्ने तयारी छ । 

पर्यटन मन्त्रालयले फागुन १० गते नै जहाज दुर्घटनाको छानबिन प्रतिवेदनको मस्यौदा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)सहित अन्य निकायलाई आवश्यक अध्ययनका लागि पनि पठाइएको छ । आइकाओको प्रावधानअनुसार यसरी पठाएको ६० दिनमा प्रतिवेदन सार्वजनिक हुने भएकाले वैशाख १० मा पुरा प्रतिवेदन सार्वजनिक हुनेछ ।

प्रतिवेदनको प्रारम्भिक ड्राफ्टमा दुर्घटनाको सम्भावित कारण निम्न अनुसार हुन सक्ने उल्लेख छ ।

बादल लागेर भिजिबिलिटी कम भएको बेलामा विमान चालक दलका सदस्यले सहि उडान मार्ग कायम गर्न  नसक्नु । त्यसका कारण चालक दलका सदस्यहरुलाई थाहा नै नभई विमान तल झरेर जमिनमा ठोक्किनु । 

थप कारणहरु :

- चालक दलका सदस्य उडान मापदण्डको पालना गर्न नसक्नु 

-मौसम खराब हुँदै जाँदा विमान जमिन नजिक आउँदा त्यसबारे जानकारी दिने प्रणालीले काम नगर्नु 

-चालक दलका सदस्यले उचित निर्णय लिन नसक्नु 

-मौसम खराब हुनु 

- को पाइलट अनुभवी नहुनु 

-चालक दलका सदस्यको ब्यबस्थापक कमजोर हुनु 

-उडानको क्रममा पाइलट र को पाइलट दुवैको जिम्मेवारी पाइलटले लिनु , जसका कारण सहि समयमा उचित निर्णय गर्न नसक्नु 

- उपलब्ध उपकरणहरुको सहि सदुपयोग हुन नसक्नु 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved