
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सँग आकासमै ठोकिनबाट जोगिएको एयर इण्डियाको जहाजको सम्बन्धमा छानबिन गर्ने भएको छ । प्राधिकरणले उक्त घटनामा संलग्न एयरलाइन्समाथि छानबिन गरिने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज मलेसियाको क्वालालम्पुरबाट काठमाडौँस्थित त्रिभुवन विमानस्थल आउँदै थियो । सोही समय दिल्लीबाट काठमाडौँका लागि उडेको एयर इण्डियाको जहाज १९ हजारको फिटको उचाइबाट उडिरहेको थियो । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना नै एयर इण्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सले उडान केही फिट डाउन गरेकाले दुर्घटना हुनबाट बचेको थियो ।
प्रवक्ता निरौलाका अनुसार उक्त घटनाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको र घटनामा एयर इण्डियाका तर्फबाट देखिएको लापरबाहीका सम्बन्धमा छानबिन गर्न एक समिति गठन गरिएकोे छ ।
जतिसक्दो छिटो अध्ययन गरी प्रतिवेदन पेस गर्न उक्त समितिलाई निर्देशन दिइएको छ । यसअघि फागुन १५ गते पनि कतारको दोहाबाट काठमाडौँ आउँदै गरेको कतार एयरवेज र मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज आकाशमै ठोकिनबाट बचेका थिए । उक्त घटनामा आन्तरिक उडानमा रहेको बुद्ध एयरको जहाज पनि जोडिएको थियो ।