कोरियाको हेपाहा व्यवहार विरुद्द उत्रियो नेपाल सरकार, कोरियन उडान रोक्ने तयारी

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 05, 2023 | 03:10:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरियन एयरको नेपाल उडान रोक्ने तयारी गरेको छ। कोरियाले नेपाल सरकारको स्वामित्वको नेपाल एयरलायन्सको उडानमा असहयोग गरेपछि नेपाल सरकारले कोरियन एयरको नेपाल उडान रोक्ने तयारी गरेको हो। 

नेपालसँगको हवाई सेवा सम्झौता अनुसार नेपाली जहाजका लागि कोरियामा उडान अनुमति माग गर्दा कोरिया सरकार र त्यहाँको नागरिक उड्डयन हेर्ने निकायले विभिन्न कारण देखाएर नेपाली उडान रोकेपछि नेपालले पनि कोरियन एयरको नेपाल उडान रोक्ने चेतावनी दिएको हो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरलाई अक्टुबर २९ देखि उताका उडानका लागि टिकट बुकिङ नलिन निर्देशन नै दिएको छ ।  ‘अहिले समर सेड्युअल अनुसार उडान तालिका एप्रुभ भएर उडान भइरहेको हुनाले तत्काल नरोकेका हौँ, सँगै अहिले चाडवाडको बेला पनि छ, कोरियाबाट नेपालीहरु दशैँ तिहार मनाउन आउने बेला पनि छ, तत्काल उडान रोक्दा अर्को समस्या होला भनेर रोकेनौँ’ क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘तर, औपचारिक रुपमै हामीले कोरियन एयरलाई अक्टुबर २९ पछिका लागि कुनै पनि टिकट इस्यू नगर्न भनेका छौँ ।’

कोरियन सरकार र त्यहाँको सिभिल एभियसन हेर्ने निकायले नेपाली जहाज (नेपाल एयरलाइन्स) लाई कोरियामा उडान अनुमति दिनका लागि आफूले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सको अडिट गर्नुपर्ने शर्त राखेपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी आक्रोशित बनेका हुन् । सूचना अधिकारी भुलका अनुसार पनि कोरियन सरकार र त्यहाँको सिभिल एभियसन हेर्ने निकायले क्यानकै अडिट गर्छु भनेपछि उसले ‘हेपाहा प्रवृत्ति’ देखाएको भन्दै क्यानले ‘एक्सन’ लिन खोजेको हो ।

‘अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले मात्रै सम्बन्धित देशको सिभिल एभियसन हेर्ने निकायको अडिट गर्न पाउँछ, एउटा देशको कुनै निकायले अर्को देशको आफू जस्तै निकायको अडिट गर्छु भन्ने कुरा स्वीकार्य हुने कुरा भएन’ सूचना अधिकारी भुलले भने, ‘कोरियाले औपचारिक पत्रमा क्यानकै अडिट गर्छु भनेको छ, अन्तराष्ट्रिय फोरममा हाम्रा डिजी सर र अरु साथीहरु भेट भएका बेला कुरा हुँदा पनि कोरियन पक्षले यस्तै भन्न थाले । त्यसपछि अत्ति भएर एक किसिमको थ्रेट नै दिनुपर्ने स्थिति आयो ।’

भएको के हो ?

नेपाल सरकार र कोरिया सरकारबीच १९८८ र १९९८ मा २ पटक हवाई सेवा सम्झौता गर्ने समझदारी भयो । त्यसपछि सन् २००१ मा हप्तामा दूबै देशका एयरलाइन्सले २ उडान गर्न सक्ने गरी हवाई सेवा सम्झौता भयो ।

सन् २००४ मा नेपाल र कोरियाबीचको हवाई सेवा सम्झौता पुनरावलोकन गरियो र हप्तामा ४÷४ उडान गर्न सक्ने बनाइयो । त्यो सम्झौता अनुसार कोरियन एयर र एशियाना एयरले नेपालमा उडानको अनुमति माग गरे । त्यतिबेला क्यानले एशियानाको प्रस्ताव अस्वीकार गर्यो भने कोरियन एयरलाई उडान अनुमति दियो । कोरियन एयरले सन् २००६ नोभेम्बर ३० बाट कोरिया–काठमाडौँ’कोरिया उडान सुरु गर्यो । अहिले पनि कोरियन एयरले हप्तामा ४ उडान गरिरहेको छ ।

जब नेपाल एयरलाइन्सले २०१६ मा बाइडबडी जहाज ल्यायो, त्यसपछि क्यानले नै अब नेपाली जहाजलाई पनि कोरियामा उडान अनुमति दिइनुपर्छ भन्न थाल्यो । क्यानकै अगुवाइमा कोरिया सरकारलाई सन् २००४ मा भएको दुइ देशबीचको हवाई सम्झौता स्मरण गराउँदै सो अनुसार नेपाल एयरलाइन्सलाई पनि कोरियामा उडान अनुमति दिन अनुरोध गर्दै २०१७ तिर कुटनीतिक नोट पठाइयो । 

आफूसँग हवाई सेवा सम्झौता गरेको देशले कुटनीति नोट पठाएपछि सामान्यतया ‘लेटर अफ अथोराइजेशन’ दिइन्छ । तर, कोरियाले नेपाललाई ‘लेटर अफ अथोराइजेशन’ दिएन । यस सम्बन्धमा क्यानले पटकपटक ‘फलो अप’ पनि गर्यो । तर, पछिल्लो पटक कोरिया सरकारले ‘लेटर अफ अथोराइजेशन’ दिनु अगाडी आफूले ‘क्यान र नेपाल एयरलाइन्सको अडिट गर्न पाउनुपर्ने’ भनेर कुटनीतिमै खलल पुग्ने खालको पत्र पठायो। 

यसपछि क्यानले परराष्ट्र मार्फत कोरिया सरकारलाई क्यान र नेपाल एयरलाइन्सको अडिट गर्न पाउनुपर्ने माग कुटनीतिक मर्यादा विपरित र अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को नीति विपरित भएको भन्दै जवाफ पठायो।

 ‘दुई देशबीच भएको हवाई सम्झौता अनुसार नेपाल एयरलाइन्सलाई उडान अनुमति देउ भन्दा कोरियन सरकारले बखेडा झिक्यो, क्यानकै अडिट गर्छु भनेर पत्र पठायो, नेपाल एयरलाइन्सको अडिट गर्छु भन्यो’ क्यानका सूचना अधिकारी भुलले भने, ‘त्यसपछि यो स्वीकार्न सकिने कुरा होइन भनेर हाम्रो देशको जहाजलाई उडान अनुमति दिँदैन भने उसको देशको जहाजलाई रोक्न सक्छौँ भन्ने सन्देश दिनुपर्छ भन्ने कुरा डिजी सर (प्रदीप अधिकारी)बाट आयो, त्यसपछि फर्मल्ली अब टिकट इस्यू नगर्नु भनेर निर्देशन दिएका छौँ ।’

‘कोरियन दूतावासले छलफलमा बसौँ भन्यो’

क्यानले कोरियन एयरको उडान रोक्ने तयारी अघि बढाएपछि नेपालस्थित कोरियन दूतावासले छलफलमा बसौँ भन्न थालेको छ । नेपालबाट कोरिया सरकारलाई कोरियन एयरको नेपालमा भइरहेको उडान रद्द गरिने र दुइ देशबीच भएको हवाई सेवा सम्झौता पनि भङ्ग गर्ने चेतावनी सहितको पत्र गएपछि नेपालस्थित कोरियन दूतावासले क्यानसँग छलफलको प्रस्ताव गरेको हो ।

उडान रोकियोस् भन्ने हामी पनि चाहदैनौँः क्यान

क्यानले पनि उडान रोकियोस् भन्ने चाहना नरहेको जनाएको छ । तर, कोरिया सरकारले कुटनीतिक नोटको जवाफमा नेपालको सरकारी निकाय र सरकारी स्वामित्वको नेपाल एयरलाइन्सकै अडिट गर्छु भनेर गल्ती गरेकाले यसको शिकार कोरियन एयरलाइन्स हुन पुगेको क्यान स्रोत बताउँछ ।

‘हाम्रो कन्सर्न कोरियन एयरसँग होइन, कोरियाको सरकारले गरेको प्रस्ताव मान्न सकिँदैन भन्ने हो’ क्यान स्रोतले भन्यो, ‘तर, हामी पनि कोरियन एयरको उडान रोकियोस् भन्ने चाहदैनौँ, तर यसका लागि उ जुन देशको एयरलाइन्स हो, त्यो देशको सरकारले सहजीकरण गरिदिनुपर्छ ।’

नेपालबाट ईपीएस उत्तीर्ण भएका विद्यार्थीहरु अहिले कोरियन एयरले एकलौटी बोकिरहको छ । एकतर्फी भाडा मात्रै १ हजार ७५ डलर छ । अर्को एयरलाइन्सले यहीँ गन्तव्यमा उडान गर्दा व्यवसाय खोसिने र भाडादर पनि प्रतिस्पर्धी हुने भएकाले कोरिया सरकारले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिन नचाहेको बताइन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved