टाट पल्टिएको गुण एयरलाइन्सको धरौटी जफत, उडान लाईसेन्स नै खारेजीको तयारी

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 31, 2023 | 10:57:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गुण एयरलाइन्सको बैंक ग्यारेन्टी जफत गरेको छ । पटक पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेपछि प्राधिकरणले गुण एयरलाइन्सले एओसी (एयर अपरेटर्स सर्टिफिकेट) लिँदा प्राइम बैंकमा राखेको १ करोड धरौती जफत गरेको हो ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसारका पाइलटसहितका कर्मचारीलाई तलब दिन नसकेका, तिर्नुपर्ने दायित्व समयमै भुक्तानी नगरेको लगायतका कारण गुण एयरलाइन्सलाई ७ महिना अगाडी उडानमा प्रतिबन्ध लगाएको थियो । 

‘तबल नपाएको पाइलटले जहाज उडाउँदा समस्या आउन सक्छ भनेर हामीले उसका जहाजहरु ग्राउण्डेड गराएका थियौँ, कर्मचारीको तबल नरोक, बक्यौता भुक्तानी गर, सबै हिसाब किताब मिलाएर आउ भन्दा उ आएन’ क्यानका सूचना अधिकारी भुलले भने, ‘यस सम्बन्धमा पटक पटक ताकेता गर्दा पनि कुनै वास्ता नगरेपछि नागरिक उड्डयन नियमावली २०५८ ले दिएको अधिकार बमोजिम क्यानले उसले एओसी लिँदा राखेको १ करोड जति धरौटी जफत गरिएको हो ।’

सूचना अधिकारी भुलका अनुसार गुण एयरलाइन्सलले क्यानमा तिर्नुपर्ने बक्यौता रकम ६ करोड हाराहारी थियो । १ करोड जफत गरेपछि अब ५ करोड बाँकी छ ।

एओसी नै खारेज हुँदै

एओसी लिँदा राखेको धरौटी जफत भएपछि एयरलाइन्सको एओसी खारेजको चरणमा प्रवेश गरेको छ । सूचना अधिकारी भुलका अनुसार एओसी लिँदा जम्मा गरेको धरौटी तथा बैंक ग्यारेन्टी जफत हुनु भनेको एओसी खारेजको प्रक्रिया अघि बढ्नु हो ।

‘एओसीका ५ वटा फेज हुन्छन्, अब उसको धरौटी जफत भएपछि एओसी खारेजको चरणमा प्रवेश गरेको छ’ उनले भने, ‘तर, हामी एयरलाइन्स कम्पनीको एओसी खारेज होस् भन्ने चाहदैनौँ, उसले चाँडै बक्यौता बुझाएर धरौटी रकम पनि जम्मा गर्यो भने खारेज हुँदैन । एओसी खारेज हुनु भनेको फेरि शून्यबाट प्रक्रिया सुरु गर्नु हो, हामी यस्तो अवस्था नआओस् भन्ने चाहन्छौँ ।’

तर, पटक पटक ताकेता गर्दा पनि कुनै वास्ता नगरी अटेर गरेपछि धरौटी नै जफत गर्न क्यान बाध्य भएको सूचना अधिकारी भुलको दाबी छ ।

आर्थिक संकटमा रहेको गुण एयरलाइन्स करिब करिब टाट पल्टिएको अवस्थामा छ । उसले आफूसँग भएका ७ वटा जहाज (जेटस्ट्रिम सिरिजका ५ वटा र विचक्राफ्ट २ वटा) चलाउन नसकेपछि बिक्रि गर्ने तयारी गरिरहेको छ । कहिले अमेरिकन, कहिले युरोपियन पार्टीसँग ‘डिल’ भइरहेको दाबी गरेपनि जहाज बिक्रि भएका छैनन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved