गौतमबुद्ध विमानस्थलमा उद्योगी व्यवसायीको धर्ना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 03:04:09 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी–व्यवसायीहरु भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नियमित उडानको माग गर्दै आन्दोलित भएका छन् । रुपन्देहीका उद्योगी व्यवसायीहरुले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नियमित अन्तराष्ट्रिय उडानको माग गर्दै आज सडकमा उत्रिएर आन्दोलन गरेका हुन् । 

निजी क्षेत्रको प्रतिनिधित्व गर्ने ३२ वटा संघसंस्थाहरु आवद्ध रहेको सिद्धार्थ सञ्जाल रुपन्देहीमार्फत उद्योगी व्यवसायीहरु सडकमा उत्रिएका हुन् ।

उनीहरुले विमानस्थलमा पनि धर्ना दिएका छन् । आन्दोलनमा सहभागी भएका व्यवसायीहरुले भैरहवा विमानस्थलमा अध्यागमन कार्यालय, भन्सार कार्यालय, क्वारेन्टाइन कार्यालय, हुलाक अफिस, श्रम कार्यालय, स्वास्थ्य परीक्षण केन्द्र स्थापना गर्न माग गरेका छन् । 

सरकारले आफूहरुका माग पूरा नगरेसम्म आन्दोलन जारी रहने सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले जानकारी दिए । विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन भएपछि नियमित सञ्चालन हुन्छ भन्ने अपेक्षा गरेर होटल तथा पर्यटन व्यवसायमा निजी क्षेत्रले ६० अर्ब बढी लगानी गरेको भएपनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा लगानी डुब्ने चिन्ता बढिरहेको ज्ञवालीले गुनासो गरे ।

१७ महिना अगाडी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए । उद्घाटन पश्चात जजिरा र हिमालयन एअरलाइन्सले केही समय अन्तराष्ट्रिय उडान गरेपनि झण्डै १ वर्षदेखि उडान रोकिएको छ । हाल बुद्ध, यती र श्री एअरलायन्सका १५ वटा जहाजले आन्तरिक उडान गरिरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved