१८ हजारले लिएको सहुलियत कर्जामा १ अर्ब २५ करोड सरकारी अनुदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 11:03:02 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले गत असार मसान्त सम्ममा सरकारको ब्याज अनुदान सहितको सहुलियत कर्जा १८ हजार २९५ जनालाई वितरण गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार विभिन्न ७ शीर्षकमा बैंकहरुले ३७ अर्ब ८३ करोड ९८ लाख ९३ हजार कर्जा प्रवाह गरेका छन् । 

नेपाल राष्ट्र बैंकले सहुलियत कर्जा सम्बन्धी एकिकृत कार्यविधि २०७५ जारी गर्दै विभिन्न ७ शीर्षकमा ब्याज अनुदान सहितको सहुलियत कर्जा दिने ब्यवस्था गरेको थियो । 

यो कार्यविधि लागू पूर्व नै सरकारले कृषि कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिने गरेको थियो । उक्त कृषि कर्जालाई पनि सहुलियत कर्जामा गणना गर्दा व्यवसायिक कृषि तथा पशुपन्क्षी शीर्षकमा लिनेको संख्या मात्र १७ हजार २०३ जना छन् । राष्ट्र बैंकले कृषि कर्जावापत ३७ अर्ब १२ करोड ६९ लाख ९० हजार वितरण गरेको छ । 

सहुलियतपूर्ण कर्जा लिनेमा कृषिपछि महिला उद्यमी कर्जा रहेको छ । उद्यमका लागि कर्जा लिने महिला ७९६ जना छन् । उनीहरुका लागि बैंकले ५८ करोड १३ लाख ३० कर्जा प्रवाह गरेका छन् । 

अन्य शीर्षकमा सहुलियत कर्जा लिनेको संख्या भने निकै कम छ । शिक्षित युवा स्वरोजगार कर्जा वापत २४ जनाले १ करोड २६ लाख ५० हजार पाएका छन् । 

त्यस्तै विदेशबाट फर्किएका युवा परियोजना शीर्षकको कर्जा जम्मा ४९ जनाले पाएका छन् । बैंकले यो शीर्षकमा ३५ करोड ९७ लाख वितरण गरेका छन् । 

दलित समुदाय व्यवसाय विकास कर्जा जम्मा ७० जनाले पाएका छन् । बैंकले यो शीर्षकमा ३ करोड ९१ लाख २० हजार लगानी गरेका छन् । 

राष्ट्र बैंकको तथ्यांक अनुसार उच्च र प्राविधिक तथा व्यवसायीक शिक्षा कर्जा ६० जनाले पाएका छन् । बैंकले यो शीर्षकमा जम्मा १ करोड ७३ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

सहुलियतपूर्ण कर्जा अन्तर्गतकै भूकम्प पिडीत निजि आवास निर्माण कर्जा जम्मा ९३ जनाले लिएका छन् । २ करोड ६४ लाख ६८ हजार रुपैयाँ कर्जा बैंकहरुले यो शीर्षकमा वितरण गरेको राष्ट्र बैंकले जनाएको छ ।  

आधार ब्याजदरमा ३ दखि ५ प्रतिशतसम्म प्रिमियम थप परि लगानी गरिरहेका बैंकले २ प्रतिशत भन्दा बढी प्रिमियम लिन नपाउने भएपछि सहुलियत कर्जा दिन आनाकानी गरिरहेका छन् । 

महिला उद्यमशीलता कर्जामा सरकारले ६ प्रतिशतसम्म ब्याज अनुदानको ब्यवस्था गरेको छ । अन्य ६ वटा शिर्षकमा दिने कर्जामा सरकारबाट ५ प्रतिशतको ब्याज अनुदान पाउन सक्नेछन् । यस सहुलियत कर्जाको सिमा ५ वर्ष रहेको छ । नेपाल राष्ट्र बैंकबाट अनुति प्राप्त क, ख र ग वर्गका बैंकबाट सहुलियत कर्जा उपलब्ध रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सरकारले हालसम्म ब्याज अनुदानबाट १ अर्ब २५ करोड ४ लाख ८८ हजार ९४२ रुपैयाँ खर्च गरिसकेको छ । यो चैत्र मसान्तसम्मको तथ्यांक हो ।

सरकारले ब्याज अनुदान दिने सहुलियत कर्जाको प्रकार र कर्जाको सिमाः 

१. व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाः ५ करोड रुपैयाँ सम्म

२. शिक्षित यूवा स्वरोजगार कर्जाः ७ लाख रुपैयाँ सम्म

३. विदेशबाट फर्केका यूवा परियोजना कर्जाः १० लाख रुपैयाँ सम्म

४. महिला उद्यमशिलता कर्जाः १५ लाख रुपैयाँ सम्म

५.दलित समुदाय व्यवसाय विकास कर्जाः १० लाख रुपैयाँ सम्म

६.उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाः ५ लाख रुपैयाँ सम्म

७. भुकम्प पिडित नीजि आवाश निमार्ण कर्जाः ३ लाख रुपैयाँ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved