
मेगा बैंक Mega Bank Nepal Limited ले धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई क्यूआर कोड सेवा उपलब्ध गराएको छ । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरु खुसी भएका छन् ।
रिक्सामा यात्रुहरुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत सजिलै क्यूआर कोडबाट भाडा रकम भुक्तानी गर्न सक्नेछन । नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैैंकको धनगढीस्थित सुदुरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्रमका बीच क्यूआर कोड हस्तान्तरण गर्दा रिक्सा चालकहरु खुसी भएको बैंकले जनाएको छ । बैंकसँग कारोबार गर्न पाउनु गर्वको कुरा भएको बताउँदै उनीहरुले मेगा बैंकलाई धन्यवाद दिएका थिए ।
मेगा बैंकले नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैंकको नीति बमोजिम क्यूआर कोड सेवाको विस्तारलाई तीव्रता दिएको जनाएको छ ।
छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरु क्यूआर कोडबाट भुक्तानी गर्ने तर्फ आकर्षित हुँदै गएको बैंकले जनाएको छ । साथै स्वरोजगारमुलक काम गरिरहेका न्यून आय भएका रिक्सा चालकहरुको रकम सिधै बैंक खातामा बचत हुने भएकाले रकम बोकेर हिँड्न पर्ने बाध्यता हट्ने बैंकको बताएको छ ।