सिभिल बैंकको अध्यक्षमा प्रतापजंग पाण्डे चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2021 | 07:12:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited  को अध्यक्षमा प्रतापजंग पाण्डे चयन भएका छन् । आज बुधबार बसेको बैंकको संचालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । 

बैंकका अध्यक्ष इच्छाराज तामांङ पक्राउ परेपछि पाण्डे अध्यक्ष चयन भएका हुन्। अध्यक्ष बन्नको लागि  अमिर बोगटी र प्रताप जंग पाण्डेबीच  प्रतिस्पर्धा तिब्र देखिएकोमा पाण्डे अध्यक्ष चयन भएका हुन् । त्यसो त सिभिल बैंकमा व्यक्तिगत रुपमा पाण्डेको नै सबै भन्दा बढी सेयर स्वामित्व रहेको छ। बैंकमा उनको करिब ४ प्रतिशत सेयर स्वामित्व रहेको छ भने अध्यक्ष इच्छाराज तामांगको ३.८ प्रतिशत शेयर रहेको छ। 

पाण्डेलाई अरु प्रमोटर डम्बर बहादुर मल्ल र अन्जन शाहले सघाउदा सहजै अध्यक्ष बनेका हुन्। मल्लको साढे तिन र शाहको साढे तिन गरि ७ प्रतिशत सेयर स्वामित्व रहेको छ। पाण्डे सिभिल बैंकले प्राप्ति गरेको आइएलएफसी फाइनान्सबाट आएका हुन्।

पाण्डेसंगै सिभिल बैंकको अबको अध्यक्षमा अमिर बोगटीको पनि दाबि रहेको थियो । बोगटीको सेयर १ प्रतिशत भन्दा कम नै रहेपनि तामांङ यस अगाडी सांसद हुँदा बोगटीलाई अध्यक्ष बनाईएकाले अहिलेपनि उनी अध्यक्ष हुने सम्भावना उत्तिकै बलियो रहेको थियो । तर बिगतमा तामाङले इच्छाएका व्यक्तिको रुपमा बोगटीलाई लिईएको र अहिलेपनि उनको प्रतिनिधिको रुपमा हेरिने भएकाले बोगट अध्यक्ष बन्दा बैंकको ब्राण्डसँग इच्छाराज जोडिन सक्ने भएकाले अध्यक्षमा उनलाई चयन गर्न नहुने आवाज बैंकभित्र बलियो बनेको थियो।

सिभिल सेभिङ एण्ड को–अपरेटिभको अर्बौं रुपैयाँ हिनामिना तथा ठगी गरेको अभियोगमा तामांङ पक्राउ परेकाले त्यसको असर बैंकमा नदेखियोस् भन्नका लागि पनि अध्यक्षमा तामाङको विकल्प खोजिएको बैंक स्रोतले जनाएको छ। 

 कान्छो बाणिज्य बैंकको रुपमा संचालनमा आएर पनि धेरै सूचकमा राम्रो हुँदाहुँदै पनि इच्छाराजको 'इमेज' ले सिभिल बैंकको ब्राण्डमा धक्का लागेकोले अध्यक्ष परिवर्तन गरिएको एक संचालकले बताए। 

उनले भने 'व्यक्तिगत रुपमा हामीहरुको कुनै रिसिभी छैन, उहाँ (इच्छाराज तामाङ)  राम्रो मान्छे हुनुहुन्छ तर सिभिल सहकारी र सिभिल होम्सका कारण उहाँको इमेजमा धक्का लागेको छ, अहिले पक्राउ परेपछि झनै ठुलो धक्का लागेको छ, अहिलेको नेगेटिभ असर बैंकमा देखिनु हुदैन, त्यसैले पनि उहाँको विकल्प खोजिएको हो।'

सिभिल बैंकमा संस्थागत रुपमा कर्मचारी संचय कोषको सबै भन्दा धेरै स्वामित्व रहेपनि संचालक समितिमा संचय कोषको प्रतिनिधि नभएकाले अहिले भएकैबाट अध्यक्ष चयन गरिएको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved