मौद्रिक नीति केही खुकुलो हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2023 | 05:20:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामार्फत मौद्रिक नीति खुकुलो पार्ने सङ्केत गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मुलुुकको आर्थिक अवस्थानुसार व्यवस्थापन गर्नुपर्ने हुँदा मौद्रिक नीति खुकुलो आउने सङ्केत दिएका छन् । दबाबमा रहेको बाह्य क्षेत्रमा सुधार आएसँग समीक्षाले केही कसिला नीतिमाथि सम्बोधन गर्ने सूचनाहरु प्राप्त भएको छ ।

गभर्नर अधिकारीले कोभिडपछि कर्जा विस्तारलगायतमा स्पिडमा कुदेको अर्थतन्त्रको गतिले भविष्यमा ठुलो दुर्घटना निम्त्याउने देखेपछि मौद्रिक नीतिमार्फत एक्कासी ब्रेक लगाउनु परेको बताए । दुर्घटना हुनुभन्दा बरु ब्रेकबाट केही समय असन्तुलित बनोस् भन्ने उद्देश्यले लिएका कसिला नीतिहरु अब अर्थतन्त्रमा दुर्घटनाको सम्भावना कम भएसँगै विस्तारै खुकुला बनाइने उनको भनाई छ ।

“कोभिडले थलिएको अर्थतन्त्रलाई चलयामान बनाउन कर्जा सहुलियत तथा छुटहरु प्रदान गरेर मर्मत गरियो, कोभिडबाट उठेपछि अर्थतन्त्रको एक पक्ष(आयात)ले उच्च गति लियो, जसले दुर्घटना निम्त्याउने निश्चित थियो, त्यो बेला ब्रेक लगाउनुको विकल्प थिएन’ बुधबारको एक कार्यक्रममा उनले भने, ‘जसरी छुट र सहुलियत अल्पकालिन थिए त्यसैगरी ब्रेकअन्तर्गत ल्याइएका आयात प्रतिबन्ध, प्रतित पत्र(एलसी) मा मार्जिन अल्पकालिन उपकरण थिए, जसलाई हटायौँ ।’  

मौद्रिक नीतिले आजको अवस्थाले अर्थतन्त्रको भोलिको गति कुन दिशातर्फ जाँदै छ भन्ने कुरा देखाउँछ । राष्ट्र बैंकका अनुसार तत्कालिन समयमा बाह्य क्षेत्रहरु दबाबमा रहेको कारण कठोर नीति अवलम्बन गर्न परेको हो । उक्त नीतिगत कुराहरु अवस्था अनुसार परिवर्तन हुने गर्छ । संसारमा कहिँकतै पनि एक वर्षमा मुलुकको जीडिपीको १२ प्रतिशत ‘करेन्ट अकाउन्ट डेफिसेट’ नभएको तर हाम्रो मुलुकमा भएपछि सचेत हुनुपरेको गभर्नर अधिकारीको भनाइ छ । 

यद्यपि नीति बनाउँदै गर्दा नीतिमै अवस्था अनुसार त्यस्तो नीतिगत दर परिर्वतन गर्न सकिने व्यवस्था हुन्छ । ‘हाम्रो मौद्रिक नीतिमा स्पष्ट छ, रिजर्भ तथा इन्फ्लेसनको पोजिसन अनुसार आगामी दिनमा हाम्रा नीतिगत दरहरु परिर्वतन हुन्छन्’, उनले भनेका छन्, ‘अहिलेको अवस्थामा पछिल्ला ५ महिनाको तथ्याङ्क हामीसँग आइसकेको छ । घाटामा रहेको शोधानान्तर घाटा बचतमा परिणत भएको छ, लक्ष्यको सीमाभन्दा तल पुगेको डलर सञ्चिति अहिले पर्याप्त छ ।’ उनका यी भनाइले समीक्षा अवधिको मौद्रिक नीति सहज बनाउनेतर्फ आकर्षित हुने सहजै अनुमान लगाउन सकिन्छ ।

त्यस्तै मौद्रिक नीतिको मस्यौँदा निर्माणको प्रमुख भुमिकामा रहने राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख प्रकाशकुमार श्रेष्ठले मुलुकको आर्थिक धरातल बलियो नभएको हुँदा सूचकहरु तलमाथि भइरहने र सोही अनुसार नै छोटो समयमा व्यवस्था परिर्वतन गर्नुपर्ने अवस्था रहने बताउँछन् ।

‘हाम्रो आर्थिक धरातल निकै कमजोर छ, ह्वात्त तलमाथि भइरहन्छ, त्यसलाई थोरै तलमाथिको ट्रेनमा राख्ने कसरतमा राष्ट्र बैंक हुन्छ’, उनी थप्छन्, ‘त्यसैले अवस्था अनुसार व्यवस्था गरिहाल्नुपर्छ ।’

उनले पनि चालु आर्थिक वर्षको मौद्रिक नीति तय गर्ने बेला देशको पुरै आर्थिक क्षेत्रमा बेचैन भए पनि यतिबेला सिमित क्षेत्रमा मात्रै बेचैन भएको बताउँछन् । 

नीतिगत व्यवस्था अनुसार राष्ट्र बैंकले सरोकारवालाहरुलाई सुझाव माग गरेको छ । उद्योग व्यावसायी तथा बैंकरहरुले बजारमा ट्रनओभर ‘कारोबार’ नै नभएको कारण अर्थतन्त्र थप खराब हुने भन्दै चलायमान बनाउने नीति ल्याउन सुझाएका छन् । सुझाव दिनेमिति एक दिन मात्रै बाँकी छ । 

विगतको तुलनामा ७० प्रतिशत बढी ट्रनओभर संकुचित बनेका कारण यसले थप आर्थिक सङ्कट निम्त्याउने हुँदा ठप्प अर्थतन्त्रलाई गति प्रदान गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्ने माग छ ।

विगतमा भएका कमजोरीलाई पर्णरुपमा बन्द गर्नेगरी व्यवस्था गरेर अगाडि बढ्नुभन्दा पनि त्यसलाई विस्तारै प्रणालीमा ल्याउने गरी व्यवस्था ल्याउनुपर्ने व्यावसायी तथा बैंकरहरुले सुझाएका छन् । 

उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छा मुलुकका एक किसिमको आर्थिक मन्दी देखिनुमा बाह्य कारण सँगसँगै विगतमा सबै पक्षको गल्तीको कारण प्रणाली बाहिरिएको प्रवाहित नगद अहिलेका व्यवस्थाले बाहिरै ब्लक हुन हो भन्छन् ।

विगतमा राष्ट्र बैंकले कोभिडबाट थलिएको नीजि क्षेत्रलाई उठाउन ठुलो रकम बजारमा पठायो । जुन रकम सहुलियतपूर्ण थियो । बैंकमा प्रशस्त तरलता भएपछि बैंकरहरु उद्योगी व्यावसायीको घरघरमा गएर कर्जाको अफर गरे, नीजि क्षेत्र भनेकै अधिकतम नाफाको सिद्धान्तमा हिड्छ जुन सर्वमान्य कुरा हो । 

उद्योगी, व्यावसायीले पनि सजिलै सस्तोमा पाएको कर्जा स–सर्त प्रयोजनका लागि उपयोग गरेनन्, न त बैंकहरुले नै त्यसको निरीक्षण गरे । उक्त कर्जा शेयर बजार, घरजग्गा र आयातमा गएको बैंकर तथा उद्योगी व्यावसायी स्वीकार गर्छन् । 

कोभिडबाट प्यानिक विश्व अर्थतन्त्रमा महङ्गी बढ्यो । यसको प्रभाव वस्तु तथा सेवा आयातको लागि बाहिरिने रकम बढी भयो । आन्तरिक उत्पादन कम भयो । यसले चालु खाता, व्यापार, सोधानान्तर घाटा हुँदै विदेशी विनिमय सञ्चितिमा दबाब बढ्यो ।

अनि राष्ट्र बैंकले आयात निरुत्साहित गर्न बजारबाट पैसा उठाउन सुरु गर्याे । मौद्रिक नीति कसिलो बनायो । फलस्वरुप बजारमा तरलता अभाव भयो, ट्रनओभर कम हुँदै गयो । सबै आर्थिक कारोबारहरु ठप्प हुने अवस्था आयो ।  

‘अहिले अत्याउने गरी देखिएका सबै समस्याहरु बजारमा तरलता अभावको परिणाम हो, आर्थिक कारोबार जताततै ठप्प छन्’, अध्यक्ष गोल्छा भन्छन् ‘विगतमा सबैबाट कमजोरी भएको हो यसलाई सुधार गर्दै गतिविधि चलायमान बनाउँनुपर्छ, कसिला नीतिहरु विस्तारै खोल्नुपर्छ ।’

आर्थिक गतिविधि चलायमान हुन बजारमा नगद प्रवाह हुनु जरुरी हुन्छन् । बजारमा के कति नगद प्रवाह गर्ने गराउने भन्ने कुरा राष्ट्र बैंकका नीतिगत दरहरुले निर्धारण गर्छ । 

राष्ट्र बैंकले अहिले बाह्य क्षेत्र दबाबमा नरहेको कारण आयातमै केन्द्रित गतिविधि भए पनि बजारमा नगद प्रवाह गर्याे भने टर्नओभर बढ्ने छ । 

जसले गर्दा आर्थिक गतिविधि चलायमान हुने छन् । राष्ट्र बैंक पनि यसप्रति सकरात्मक देखिएको छ। यसले गर्दा मौद्रिक समीक्षाले केही नीतिगत दरहरु परिर्वतन गर्ने देखिन्छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved