हिमालयन र सिभिलको मर्जरपछि एकिकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 04:53:22 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् “हिमालयन बैंक  लिमिटेड”को नामबाट आज शुक्रबार देखि एकिकृत कारोबार सुरु भएको छ।

हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले एक विशेष समारोहका बीच एकिकृत कारोबार शुभारम्भ भएको घोषणा गरेका हुन्। उनले हिमालयन बैंक  लिमिटेडलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सगैं अगाडि बढ्नका लागि सिभिललाई प्राप्ति गरेको बताए।

सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको अधिकृत पूँजी रु २६ अर्ब, चुक्ता तथा जारी पूँजी २१.६५ अर्ब,  कूल पूँजी ३४ अर्ब र कूल सम्पत्ति ३३४ अर्ब रहने छ। बैंकको कूल निक्षेप २७४ अर्ब र कूल कर्जा २५० अर्ब   रहने छ ।  यसैगरी आजबाट बैंकले नेपाल भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएमहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।

एकिकृत कारोबार सुरु गर्न आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष श्रेष्ठले देशविकासको आर्थिक अवस्था एवं प्राप्ति पछि प्राप्त हुने बजार विस्तारको सम्भावना तथा लगानी योग्य वातावरणलाई ध्यानमा राखेर बैंकको बृहत्तर विकास, दिगोपन र सशक्तताका लागि हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेको बताए।

त्यसै गरी सिभिल बैंक लिमिटेडका अध्यक्ष प्रदिप जङ्ग पाण्डेले दुई बैंकबीचको एकता आगामी दिनमा थप सबल र सक्षम बनाउनका लागि भएको बताए। समारोहमा हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अब हिमालयन बैंक देश कै एउटा उत्कृष्ट, सबल तथा ठूलो संस्था बनेकोे बताए। उनले आगामी दिनहरुमा बैंक आफ्ना शेयरधनीहरुलाई उच्चतम प्रतिफल दिन र ग्राहकवर्गलाई समय सापेक्ष नवीन   प्रबिधियुक्त सेवा सुबिधा  प्रदान गर्नका लागि केन्द्रित हुने बताए। 

हिमालयनले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको संचालक समितिमा हाल हिमालयनकै संचालक समिति रहनेछ भने बैंकको अध्यक्षतामा प्रचण्ड बहादुर श्रेष्ठ नै रहने सहमति भएको छ। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा रहने छन्। प्राप्ति पश्चात बैंकको केन्द्रीय कार्यालय कमलादी स्थित हालको हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थानमा नै रहेको छ । हिमालयन बैंक लिमिटेडले सिभिल बंैक लिमिटेडलाई १ः०.८०२८ शेयर आदान प्रदान अनुपातमा प्राप्ति गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved