४.५६ प्रतिशतसम्म पुग्यो वाणिज्य बैंकको खराब कर्जा, कुनको कति पुग्यो ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 11:28:55 AM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष ७९/८० तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन् । त्रैमास समाप्त भएको ७ दिन भित्र वित्तिय विवरण प्रकाशन गर्नु पर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार २१ वटै वाणिज्य बैंकहरुले आज वित्तीय विवरण प्रकाशन गरेका हुन् ।

यस अवधिमा सबै वाणिज्य बैंकको खराब कर्जा बढेको छ । विवरण अनुसार वाणिज्य बैंकहरुको खराब कर्जा बढेर ४.५६ प्रतिशतसम्म पुगेको छ । हिमालयन बैंकको खराबकर्जा ४.५६ प्रतिशत पुगेको हो । त्यस्तै कृषि विकास बैंकको खराब कर्जा ४.३५ प्रतिशत तथा नेपाल बैंकको खराब कर्जा ४.१६ प्रतिशत पुगेको छ । त्यस्तै सितिज्नस बैंक, कुमारी बैंक , ग्लोबल आईएमई बैंक सहित १० वटा बैंकको खराब कर्जा ३ देखि ४ प्रतिशतको बीचमा रहेको छ ।

एभरेष्ट बैंकको खराब कर्जा भने सबैभन्दा कम ०.७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ०.२६ प्रतिशत थियो । त्यस्तै एनआईसी एसिया बैंकको खराब कर्जा ०.८५ प्रतिशत तथा स्ट्याण्डर्ड चार्टड बैंकको खराब कर्जा ०.९ प्रतिशत पुगेको छ । 

यस अवधिमा  हिमालयन बैंकको खराब कर्जा सबैभन्दा धेरै बढेको छ । त्यस्तै खराब कर्जा धेरै बढ्नेमा दोस्रोमा कुमारी बैंक र तेस्रोमा सिद्धार्थ बैंक रहेका छन् । 

हेर्नुस् खराब कर्जाको अवस्था 



बैंक वित्तीय सँस्थाको कर्जा उठान 'रिकभरी' को अवस्था सन्तोषजनक नभएपछि बैंकहरुको खराब कर्जा बढेको हो।  ऋण मिनाहाको माग राखेर गरिएको आन्दोलन र साँवा/ब्याज दायित्व भाखा नाघेको ३० दिनभित्र भुक्तान गरे हुने नेपाल राष्ट्र बैंकको निर्देशनले कर्जा उठान प्रभावित भएको बैंकरको बुझाई रहेको छ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७९ जारी गर्दै ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको ३० दिनभित्र भुक्तान गरे ‘जरिवाना’  लिन नपाइने व्यवस्था गरेको थियो।  उक्त निर्देशनअनुसार चैत मसान्तसम्मको किस्ता बैशाख मसान्तसम्म तिर्दा र बैशाख मसान्तसम्मको जेठ मसान्तसम्म तिर्दा र जेठ मसान्तसम्मको असार मसान्तसम्म तिर्दा  ऋणीमाथि कुनै पनि प्रकारको जरिवाना लिन पाइनेछैन। तर २०८० असार मसान्तसम्मको कर्जाको साँवा/ब्याज दायित्व भने असार मसान्तभित्रै तिर्नुपर्ने हुन्छ। 

अर्कोतर्फ, बैंक बिरुद्द व्यवसायी र अन्य पक्षको जारी आन्दोलनका कारण कर्जाको साँवा/ब्याजमा मिनाहा वा कुनै राहत पाइने आशाले तिर्न सक्नेले पनि नतिरेको हुन सक्ने बैंकरको बुझाई रहेको छ। दुर्गा प्रसाई समुहले २० लाख मुनीको ऋण मिनाहा गर्नुपर्ने र मणिराम ज्ञवालीको समुहले लघुवित्तको कर्जा मिनाहा हुनुपर्ने माग सहित आन्दोलन जारी राखेका छन्।

त्यसो त अन्तराष्ट्रिय मुद्रा कोष लगायतका अन्तराष्ट्रिय एजेन्सीले अर्थतन्त्रमा मन्दी आउँदा र आर्थिक गतिविधि सन्तोषजनक नहुँदा पनि नेपालका बैंकहरुको खराब कर्जा अनुपात १-२ प्रतिशतमा नै सिमित रहनुलाई शंकाको दृष्टिकोणले हेरेको थियो। र उनीहरुले यसमा सुक्ष्म अध्ययन गर्नलाई समेत राष्ट्र बैंकलाई सुझाव दिएका थिए। पाँच प्रतिशतभन्दा बढी खराब कर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ। खराब कर्जा पाँच प्रतिशतभन्दा माथि पुगेका बैंकलाई राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाहीसमेत गर्ने गर्छ।

यो पनि : एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा सर्वाधिक बढ्यो, ७ बैंकको नाफामा गिरावट (सूचीसहित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved