तीन पटकको कारोबारबाट तीन दिनमै हरायो माछापुछ्रे बैंकका ग्राहकको ९ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 01:06:01 PM मा प्रकाशित

laxmi  sunrise bank

रौतहट चन्द्रपुर नगरपालिका ४  स्थित माछापुछ्रे बैंकको शाखाबाट एक ग्राहकको बैंक खाताबाट नौ लाख रुपैयाँ चोरी भएको छ। बिहिबार चेकमार्फत जम्मा गरेको पैसा आइतबार निकाल्न खोज्दा खाताबाट नौ लाख रुपैयाँ हराएको पाइएको हो। 

रौतहटका वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट पैसा हराएको हो। आइतबार चन्द्रपुर शाखामा चेक साट्न गएपछि उनले बैंक खाताबाटै आफ्नो पैसा हराएको थाहा पाएका हुन्। विहिबार नेपाल बैंकको तीनवटा चेकमार्फत १२ लाख २० हजार आफ्नो खातामा जम्मा गरेको सन्देश आफ्नो मोवाइलमा आएको तर आइतबार पैसा झिक्न जाँदा नौँ लाख रुपैयाँ खाताबाट हराएको यादवको भनाइ छ। 

आफ्नो खाताबाट नौं लाख रुपैयाँ हराएको विषयमा कुरा गर्न खोज्दा शाखा प्रबन्धक रामजी दासले पैसा हराएको विषयमा केही बोल्न नचाहेको यादवको आरोप छ। 

यद्यपि माछापुछ्रे बैंकका बिजनेश हेड टिका भट्टराईले चन्द्रपुर शाखाबाट बैंकको ग्राहकको खाताबाट पैसा हराएको स्वीकार गर्दै यो घटना ह्याकरसँग जोडिएको आशङ्का व्यक्त गरे । उनकाअनुसार दिनमा तीन लाख गरेर तीन दिनमा नौ लाख रुपैयाँ यादवको खाताबाट अरु कसैको खातामा ट्रान्सफर गरिएको देखिएको छ। अनलाइनमार्फत ट्रान्सफर गरिएको पाइएकाले ओटीपीको दुरुपयोग गरेर कसैले पैसा ट्रान्सफर गरेको हुन सक्ने बैंकको दावी छ । 

'ओटिपिको प्रयोग गरेर अनलाइनबाट दिनमा ३ लाख गरेर तीन दिनमा नौ लाख ट्रान्सफर गरिएको देखिएको छ। कसको नाममा ट्रान्सफर भएको छ भन्ने कुरा प्रणालीबाट थाहा भइहाल्छ। तर कसरी ट्रान्सफर भयो र कसको कमजोरी देखियो भन्ने कुरा अनुसन्धानपछि मात्र खुल्नेछ' भट्टराईले भने। 

यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक बीरबहादुर बुढा मगरले माछापुछ्रे बैंकको रौतहट चन्द्रपुर नगरपालिका ४  स्थित शाखामा यस्तो घटना भएको जानकारी आएको र यसबारे अनुसन्धान भइरहेको जानकारी दिए। यद्यपि यही विषयलाई लिएर प्रहरीमा कुनै उजुरी नपरेको र कसैलाई पनि नियन्त्रणमा लिइएको छैन ।  

'यो विषय हाम्रो जानकारीमा छ, बैंक र ग्राहकविच सम्बाद भएको जानकारीमा आएको छ, घटनाबारे थप अध्ययन अनुसन्धानको लागि बैंक वा ग्राहकबाट उजुरी परेपछि मात्र भन्न सकिन्छ' उनले भने। 

ओटिपीको प्रयोगमार्फत अनलाइनबाट एक दिनमा बढीमा तीन लाख मात्र ट्रान्सफर गर्न पाइने भएकाले ओटिपी को दुरुपयोगको आशङ्का गरिएको छ। पछिल्लो समय यस प्रकारका घटना बैंकहरुमा बढ्ने क्रममा रहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved