बैंकिंङ प्रणालीमा पैसा थुप्रिएपछि बैंकहरुले ब्याज घटाउने भएका छन्। प्रणालीमा पैसा थुप्रिएकाले साउनदेखि लागू हुनेगरि ब्याज घटाउनुको कुनै विकल्प नै नरहेको नेपाल बैंकर्स संघ, एनबिए ले जनाएको छ।
बैंकिंङ प्रणालीमा नै पैसा थुप्रिएकाले ब्याज घटाएर अघि बढ्नुपर्ने निष्कर्ष सहित बैंकर्स संघका प्रतिनिधिबीच छलफल भईरहेकाले साउन देखि लागू हुनेगरि ब्याज घट्ने बैंकर्स संघका एक प्रतिनिधिले बताए।
मुद्दती निक्षेपसँगै बचतको हिस्सा पनि बढ्दै गएको र बचतको पैसा पनि मुद्दती निक्षेपमा ट्रान्सफर हुने क्रम बढेकाले बचत र मुद्दती निक्षेप दुवैको ब्याज घटाउनुको विकल्प नभएको ती बैंकरको भनाई छ।
उनकाअनुसार औषतमा कर्जाको लागत ८ प्रतिशत (कस्ट अफ फण्ड) भएकाले त्यसमा राष्ट्र बैंकले दिएको साढे ४ प्रतिशतको मार्जिनमा रहेर कर्जा दिँदा दिंदा पनि कर्जाको ब्याज एकल अंकमा नआउने भएकाले अहिलेलाई बचतको ब्याज घट्ने गरि निर्णय लिनुपर्नेमा छलफल भईरहेको छ।
यद्दपि ब्याजबारे के निर्णय लिने भन्नेबारे अहिल्यै यकिन भईनसकेको नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बिजपाटीलाई बताए। 'प्रणालीमा पैसा बढ्ने क्रममा भएकाले ब्याज स्वत सस्तो हुँदै जान्छ तर पनि बैंकर्स संघले यसबारे उचित निर्णय लिनेछ, सम्भवत ब्याज घट्ने निर्णय लिनेछ' उनले भने।
नेपाल राष्ट्र बैंककोअनुसार कर्जा निक्षेपको अनुपात (८३.०३ प्रतिशत) को आधारमा असार २४ गते आइतबारसम्म प्रणालीमा ४ खर्ब ७२ अर्ब लगानीयोग्य पैसा रहेको छ। सरकारले असारे खर्च बढाउँदा प्रणालीमा असारमा १४७ अर्ब रुपैयाले वृद्धि भएको हो। मुख्य खाता बन्द भएपनि अरु खाताबाट रकमान्तर गरेर आफुले चाहेको शिर्षकमा खर्च गर्ने प्रवृतिले थप खर्च हुने भएकाले बैंकिंग प्रणालीमा असार मसान्तसम्ममा जम्मा हुने पैसा ५ खर्ब पुग्ने देखिन्छ।
नेपाल बैंकर्स संघले असारको लागि ब्याज स्थिर राख्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याज अधिकतम ९.९९ र संस्थागत मुद्दतीको अधिकतम ब्याज ७.९९ प्रतिशत रहेको छ।