ब्याजको दबाबमा सरकारी स्वामित्वका तीन बैंक, किन आइलाग्यो नियम तोड्ने बाध्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2023 | 10:51:03 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्याजका कारण सरकारी स्वामित्वका तीन बैंक ठूलो दबाबमा परेको छ । भदौदेखि लागू हुने गरी साउन मसान्तमा ब्याज बढाएका कारण यी तीनवटै वाणिज्य बैंक दबाबमा परेका हुन्। 

ब्याज घटाउने सरकारको नीति विपरित हुने गरी सरकारी स्वामित्वकै बैंकले ब्याज बढाएपछि अर्थमन्त्री डा प्रकाशशरण महतले ती बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर जानकारी लिएका छन् ।

ब्याज बढाएका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले बाध्य भएर ब्याज बढाउनु परेको जवाफ अर्थमन्त्रीलाई दिएका छन् । साउनमा  आफूहरुले ब्याज घटाएको तर निजी लगानीका पाँच कमर्सियल बैंकले ब्याज बढाउँदा निक्षेप रित्तिने अवस्था आएपछि ब्याज बढाउनु परेको जवाफ अर्थमन्त्रीलाई दिएका हुन्। 

'साउनमा पाँच कमर्सियल बैंकले ब्याज बढाउँदा हामीले सरकारी नीतिलाई साथ दिने गरी नै ब्याज घटाएका थियौँ तर ब्याज घट्दा आफ्नै निक्षेप रित्तिने अवस्था आएपछि बैंकिङ उद्योगकै हाराहारी हुने गरी ब्याज बढाउँन बाध्य भएका हौँ', कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बिजपाटीसँग भने।

त्यस्तै नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले पनि कृषि विकास बैंकका सीईओ गुरुङकै जस्तो जवाफ दिएका छन्। साउन महिनामा मात्रै बैंकबाट ठूलो निक्षेप बाहिरिएकाले भएको निक्षेप बचाउनकै लागि पनि ब्याज बढाउन बाध्य भएको सीईओ अधिकारीले बताए। 

त्यस्तै राष्ट्रिय वाणिज्य बैंक पनि बाध्यताले नै ब्याज बढाएको बताउँछ। कम ब्याज भएकै कारण राष्ट्रिय बाणिज्य बैंकबाट धेरै कर्जा प्रवाह भइरहेको अवस्थामा निक्षेप खोसिँदा अप्ठ्यारो स्थिति आएपछि ब्याज बढाउन बाध्य भएको बैंक स्रोतले जनाएको छ। 

'भदौमा ठूलो मुद्दती निक्षेप परिपक्व हुँदैछ, भएको मुद्दती बचाउनका लागि पनि ब्याज बढाउनु परेको हो, बैंक स्रोतले भन्यो,'मुद्दतीमा पैसा राख्नेहरुलाई दशमलव पछिको तीन डिजिटको अन्तिम अंक पनि अर्थ राख्ने अवस्था रहेकाले बैंकिङ उद्योगकै हाराहारीमा ल्याउनलाई पनि ब्याज वृद्धिको नियम तोडेर ब्याज बढाउनु परेको हो।'

साउनदेखि लागू हुनेगरी असार महिनामा एनएमबि, नबिल, एनआईसी एसिया, प्राइम र कुमारी बैंकले ब्याज बढाएका थिए। यी पाँच बैंकले ब्याज बढाएपछि भदौदेखि लागू हुने थप १२ बैंकले ब्याज बढाएका हुन्। साउनमा १२ बैंकले ब्याज बढाउँदा असारमा ब्याज बढाएका पाँच बैंकले भने ब्याज घटाएका छन्। 

निजी लगानीका ४ बैंकसहित सरकारी स्वामित्वका तीन बैंकले बढाएको ब्याज १० प्रतिशतभन्दा माथि रहेकाले पनि केही दबाबमा परेको देखिन्छ। ब्याजदर घटबढ गर्दा बैंकिङ उद्योगको औषत ब्याजदरमा १० प्रतिशत भन्दा तलमाथि गर्न नपाइने कानुनी व्यवस्था छ। बढेको ब्याजअनुसार ६ वटा कमर्सियल बैंकको व्यक्तिगततर्फको मुद्दती निक्षेपको ब्याज अधिकतम १०.९० प्रतिशत पुगेको छ। 

यो दरनै अहिलेको बैंकिङ उद्योगमा कमर्सियल बैंकले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर हो। व्यक्तिगत भन्दा २ प्रतिशतले कम गरेर संस्थागत मुद्दती निक्षेपको ब्याज तय गर्नुपर्ने कानुनी व्यवस्था छ।

नेपाल बैंकले २७.२७ प्रतिशतले, कृषि विकास बैंकले १८.४६ प्रतिशतले र राष्ट्रिय बाणिज्य बैंकले १४.३१ प्रतिशतले बढाउँदा व्यक्तितर्फको मुद्दतीमा अधिकतम १०.९० प्रतिशत पुर्याउने बैंकको बराबरीमा ब्याजदर पुगेको छ।

हेर्नुस् कुनले कति बढाए ब्याज ? 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved