
सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा रमेश राज अर्याल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई नियुक्त गरेको हो।
बैंकका अनुसार तत्कालिन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि.) वाट बैंकिङ्ग करियर प्रारम्भ गरेका नवनियुक्त स्वतन्त्र संचालक अर्याल विगत ३२ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा संलग्न छन्। निजसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ७ वर्षको कार्यअनुभव समेत रहेको छ । त्रिभुवन विश्व विद्यालयवाट एम.बि.ए. हासिल गरेका निजले स्वदेश तथा विदेशमा गरी दर्जनौ बैंकिङ्ग सम्बन्धी विशेष प्रशिक्षण लिनुको साथै लेखा परीक्षण तथा प्राध्यापनको समेत अनुभव रहेको छ।
यस अघि बैंकको स्वतन्त्र संचालकमा नेपाल सरकारका पूर्व सचिवद्वय बालकृष्ण प्रसाई तथा अवनिन्द्र श्रेष्ठ एवम् प्रतिष्ठित बाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतहरु सुदेश खालिङ्ग तथा अनिल ज्ञवालीले समेत योगदान गरेको बैंकले जनाएको छ । रमेश राज अर्यालको नियुक्तिमा बैंकलाई सुशासन तथा बैंकिङ्ग जग थप मजबुत बनाउन सहयोग पुग्ने बिश्वास बैंकले व्यक्त गरेको छ ।
बैंकले १८९ वटा शाखा, १४९वटा ए.टि.एम. र ९७ वटाशाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।