हेजिङ र मौद्रिक नीतिको समीक्षालाई सुझाव दिनेबारे बैंकर्स संघले गर्यो छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2024 | 04:41:58 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल बैंकर्स संघ र युएसएस ट्रेड एण्ड कम्पिटिटिभनेसको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हेजिङ सुविधाको संस्थागत कार्यान्वयन र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि सुझाव प्रदान गर्ने गर्ने विषयमा अन्तरक्रिया भएको संघले जनाएको छ ।

संघका कार्यक्रमको मुख्य उदेश्य मौद्रिक नीति २०८०/८१  मा भएका केहि नीतिगत व्यवस्था र त्यसका कार्यान्वयनका पक्षहरुको बारेमा अन्तरक्रिया तथा हेजिङ्ग संग सम्बन्धित विषयमा छलफल रहेको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै संघका अध्यक्ष सुनिल के.सी.ले नेपालको आर्थिक विकासको लक्ष्य, अन्तराष्ट्रिय जगतमा गरिएको प्रतिबद्धता परिपूर्तिको लागि ठुलो लगानी खाँचो पर्न जाने परिस्थितिमा बाह्य लगानीलाई देशमा कसरी भित्राउन सकिन्छ भन्ने विषय महत्वपुर्ण रहेको बताए । नेपालले लिएको दिगो विकासको लक्ष्य परिपूर्तिको लागी पनि नेपालमा ठुलो स्रोत चाहिने र देश भित्रका बैंक तथा वित्तीय संस्थाले मात्र त्यसको परिपूर्ति गर्न नसक्ने परिस्तिथिमा बैदेशिक लगानी अपरिहार्य रहेकाले सरकारले यसको सहजताको लागि थप पहल गर्नुपर्ने धारणा उनले राखे ।

कार्यक्रममा शिशिर कुमार ढुङ्गानाले प्रस्तुतीकरण दिएका थिए । आफ्नो प्रस्तुतिमा उनले नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को वजेट वक्तव्य मार्फत विदेशी लगानीकर्ताहरुलाई हेजिङ्ग सुविधा प्रदान गर्ने नीति घोषणा गरेको भएता पनि हालसम्म हेजिङ्ग नियमावली, २०७९ पूर्ण रुपमा कार्यान्वयन हुन नसेको  परिस्तिथिमा त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र बिभिन्न निकायहरुले कस्तो भूमिका खेल्न सक्छन् भन्ने बिषय तथा हेजिङ्ग संग सम्बन्धित नीति कार्यान्वयनका लागि के कस्ता प्रयासहरु भैरहेका छन,  हालसम्म सम्पन्‍न भएका कार्यहरु, नीति कार्यान्वयनको जिम्मेवार निकाय, हेजिङ्ग सुविधा प्राप्‍त गर्न अवलम्वन गर्नुपर्ने प्रक्रिया, उपयोग तथा लगानीको सीमा जस्ता विविध पक्षहरुका बारेमा प्रकाश पारे ।  प्रस्तुतिको क्रममा उनले मौद्रिक नीति २०८०/८१ को अर्धवार्षिक समीक्षा आउन लागेको सन्दर्भमा केहि नीतिगत व्यवस्थाहरु उपर छलफल र सुझाव पेश गरे ।

त्यसैगरी अर्थ मन्त्रालयका सह-सचिव महेश आचार्यले हेजिङ्गको विषयमा नेपाल सरकार गम्भीर रहेको र आपसी समझदारी र सहकार्यबाट यसलाई प्रभावकारी बनाउन तयार रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले छलफलका क्रममा उठेको विषयहरुलाई सम्बोधन गर्दै देशका उद्योगी, व्यवसायी र बैंक सबैको मनोबल उच्च भएमा मात्र देशको आर्थिक विकासमा यसले सकारात्मक प्रभाव पार्ने कुरामा नेपाल राष्ट्र बैंक स्पष्ट रहेको र सोहि अनुसार नेपाल राष्ट्र बैंकले नीति निर्देशन तर्जुमा गर्ने गरेको बताए । हेजिङ्गको  सम्बन्धमा थप प्रकाश पार्दै उनले अहिले पनि बैंकहरुले कुनै न कुनै रुपमा हेजिङ्गको  सुविधा उपभोग गर्दै आएको र बैंकले आफ्नो क्षमता तथा प्राविधिक दक्षताको आधारमा त्यसको उपयोग गर्न सकिने  बताए ।

कार्यक्रमको अन्तमा बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले मौद्रिक नीतिमा भएका केही नीतिगत व्यवस्थाहरु र हेजिङ्ग जस्तो महत्वपूर्ण बिषयमा सम्बन्धित सबै सरोकारवालाहरु एकै ठाउँमा छलफल गर्ने वातावरण बनेकाले कार्यक्रम निकै उपलब्धिमूलक भएको बताउदै सबैको सक्रिय सहभागिताको लागि धन्यवाद व्यक्त गर्दै कार्यक्रम को समापन गरे।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु तथा निर्देशकहरु, विभिन्न सरकारी निकाय तथा सरोकारवाला निकायका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारी/प्रतिनिधिहरु, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र अन्य पदाधिकारीहरु लगायतको उपस्थिति थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved