मोनिका श्रेष्ठ र आशुतोष गोल्यानको दैनिकी फेरिएको छ । आजकाल उनीहरु सिजनअनुसारका सामग्री बोकेर अचार बनाउने महिलाहरुको घर–घरै पुग्छन्। तयार भएका अचार बोकेर फिर्ता हुन्छन् । अनि अडर्र आएका ठाउँमा सामान पुर्याउन पुग्छन् । यस्तैयस्तैमा उनीहरुको समय वितिरहेको छ । त्यही कामका लागि उनीहरु काठमाडौँका विभिन्न क्षेत्रमा पुग्छन् ।
जब अचार तयार हुन्छ गृहिणीबाट फोन आउँछ । अनि फेरि उनीहरु ६५ केजीको ठूला–ठूला डब्बा लिएर उनीहरुका घरमै पुग्छन् । यो उनीहरुको तीन वर्षदेखि चलिरहेको व्यवसायिक चक्र हो। यी दुई साथी गृहिणीलाई उद्योगसँग जोडेर उद्यमी बनाउँदैछन् ।
मोनिकाको घर स्याङ्जा हो भने आशुतोषको घर काठमाडौँको बूढानीलकण्ठ हो। उनीहरुले सँगै पढ्ने क्रममा व्यवसाय गर्ने सोचको मिलन विन्दु भेटिएपछि सहकार्य शुरु गरे । 'देसना' मोनिका र आशुतोषले गृहिणी फुड उद्योगमार्फत उत्पादित अचारको 'ब्रान्ड' हो । करिब तीन वर्षदेखि यसले आँप, लप्सी, टिमुर, डल्ले खुर्सानी र तामाको अचार उपलब्ध गराउँदै आएको छ।
देसना अचार उनीहरु आफैँले बनाउने होइन । मोनिकाले भनिन्, “१५ जना महिलाहरू देसनामा जोडिएका छन् । उनीहरुले आफ्नै घरमा तयार गरेको अचार देसनाले बिक्री गर्छ ।” त्यो अचार ल्याएर सिनामंगलमा रहेको देसनाको उद्योगमा आवश्यकताअनुसारको तौलमा प्याकेजिङ हुन्छ र यहीँबाट माग अनुसार बजारमा जान्छ ।
आशुतोषका अनुसार सिजनमा एक महिलाले दैनिक कम्तिमा १० किलोदेखि ४० किलोसम्म अचार बनाउँछिन् । दश केजी अचार बनाउने गृहिणीले ६ देखि ८०० सम्म पाउँछन् । घरमै अरु काम गरेरै पनि अचार बनाएर थप आम्दानी गरिरहेका छन् गृहिणीहरू ।
“उत्पादनको सबै काम गृहिणीले गर्नुहुन्छ, उहाँहरू सबै देसनाका पार्टनर हो । हामी अचार जम्मा गरेर प्याकेजिङ गर्छौं र बजारमा पठाउँछौँ । मार्केटिङमा हामी आफैँ लागेका छौँ”, आशुतोषले भने, ।
देसनामा सबैभन्दा महँगो डल्ले खुर्सानीको अचार छ भने सबैभन्दा सस्तो आँपको । बजारमा सबैभन्दा धेरै बिक्री हुने अचारमा लप्सीको अचार पर्छ । लप्सीको अचार उत्पादन मितिले एक वर्षसम्म र अरू दुई वर्षसम्म खान मिल्छ ।
लप्सीको अचार सिसाको बोतलको ४०० ग्रामको मूल्य २५० रहेको छ । ४५० ग्रामको गुलियो आँपको मूल्य २८० छ । टिम्मुरको अचार २०० ग्रामको मूल्य २९० छ, डल्ले खुर्सानीको मूल्य ४५० छ र तामाको ३८० ग्रामको मूल्य ३५५ छ ।
देसना अचार काठमाडौँ र नेपालका केही क्षेत्रका साथै अस्ट्रेलिया, जापान, अमेरिका र भारतमा पनि पुगेको आशुतोषले बताए । व्यवसायमा सक्रिय मोनिका र आशुतोष दुवैले सँगै एमबीए (मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन) गरेका छन् ।
यसरी पलायो व्यवसायिक सोच
कोरोनाकालको लकडाउनले उनीहरुलाई सोच्न बाध्य बनायो । मोनिकाले भन्छिन्, “लकडाउनमा केही काम थिएन, के काम गर्ने भनेर आइडिया पनि थिएन ममीले केही काम गर्ने इच्छा गर्नुभयो । ममीलाई सेल पकाउन आउँथ्यो । सेलको व्यवसाय सुरु गरौँ भनेर अध्ययन गर्यौँ तर राम्रो होला जस्तो लागेन, त्यसपछि अचार बनाउन सुरु गरेका हौँ ।”
अचार बनाउने विषयमा दुई जानाबीच छलफल भयो अचार बनाउन सिक्न मोनीका २०७७ सालमा जन्मथलो स्याङ्जा गइन् । एक हप्ता बसेर केही अचार बनाउने र प्याकेजिङ गर्ने तरिका सिकिन् । केही जान्ने भएपछि उनी काठमाडौँ फर्किइन् ।
उनले पहिला लप्सीको अचार बनाइन् र परिवारका सदस्यलाई चाख्न दिइन् । उनीहरुले मीठो भएको प्रतिक्रिया दिए । त्यसपछि उनले व्यावसायिक हिसाबले अचार बनाउन थालिन् । छिमेकी एक गृहिणीलाई सामेल गराएर तालिम दिइन् । दुई जना मिलेर अचार बनाउन थाले । अचार बनाउनबाहेक अरू सबै प्रक्रियामा आशुतोष सामेल थिए ।
सय बट्टा अचार तयार भएपछि उनीहरूले मार्केटिङका लागि एउटा भ्यान भाडामा लिए । अचार बोकेर दिनभर काठमाडौँका विभिन्न पसलमा पुग्न थाले । तर यो प्रयास त्यति उपयोगी भएन । पसलहरूले राख्न चाहेनन् ।
त्यसपछि उनीहरूले सामाजिक सञ्जालमा पेज बनाए र त्यहीँबाट बिक्री गर्न थाले । “दिनभरी भ्यानमा बोकेर हिड्दा बिक्री नै हुँदैनथियो, सामाजिक सञ्जालबाट बिक्री गर्न थालेपछि बिक्री बढ्न थाल्यो,” आशुतोषले भने ।
घरघरमै तालिम दिँदै, उद्यमी बनाउँदै
उनीहरूले सुरूमा पाँच जना गृहिणीलाई लप्सीको अचार बनाउने तालिम दिए । उनीहरुले सबैको घर–घरमा गएर तालिम दिने गरेका छन् । “पहिला गएर घर कस्तो ठाउँमा छ हेछौँ, अचार बनाउने ठाउँ कत्तिको सफा हुन्छ हेर्छौँ । सबैकुरा मिल्यो भने हामीले १ दिनको तालिम दिन्छौँ,” मोनीकाले थपिन् ।
लप्सी अचारपछि टिमुरको छोप थपियो । बजारबाट पिरो अचारको पनि माग आयो । त्यसपछि डल्ले खुर्सानी अर्थात् अकबरे खुर्सानीको अचार ल्याए ।
मोनिका र आशुतोषले नयाँ प्रकारका अचार बजारमा ल्याउँदा त्यो विषयसम्बन्धी धेरै खोजी गर्ने भएकाले काठमाडौँको डल्ले खुर्सानी त्यती उचित लागेन ।यसले पेट पोल्ने भयो । त्यसपछि भोजपुरबाट डल्ले खुर्सानी मगाए । त्यसको अचारको माग ह्वात्तै बढ्दै गयो । अमिलो र गुलियो स्वादमा आँपको र तामाको अचार थपे । हाल देसनाको अचार बनाउन १५ जना गृहिणी संलग्न छन् । १५ जनामध्ये धेरै जस्तो ३५ वर्षको हाराहारीका छन् र १ जाना चाहिँ २४ वर्षकी पनि छिन् ।
मोनिकाका अनुसार, यो अचार बनाउन सिकेपछि १४÷१५ वर्षका किशोरीहरुले पनि बनाउन सक्छन् । यो काम गर्न पाउँदा महिलाहरु धेरै खुसी भएको आशुतोषले बताए । उनीहरूले बनाएको अचारको बट्टामा उनीहरूकै नाम र फोटो राखिएको हुन्छ। “अचारकै बट्टामा यसरी फोटो र नामसहित परिचय दिँदा उहाँहरू पनि उद्यमी भनेर चिनिनुहुन्छ, हौसला बढ्छ,” मोनिकाले भनिन्।
आशुतोष र मोनिकाको लक्ष्य दुई लाख महिलालाई देसनामा जोड्ने हो । त्यसका लागि देसना मोबाइल एप बनाएका छन् । घरमै अचार बनाउन चाहने गृहिणीहरू एपमार्फत जोडिन सक्नेछन् । जति धेरै गृहिणीलाई जोड्न सक्यो, उति धेरैका भान्सामा अचार पुग्छ, व्यापार बढ्छ र महिलाको स्वरोजगारी बढ्छ भन्ने उनीहरूको विश्वास छ ।