छालाजन्य उद्योगहरुले आवश्यक मात्रामा छाला नपाएको गुनासो गरिरहेका छन् । तर छाला उत्पादन गर्नेहरुले भने करोडौँको छाला विदेशमा निर्यात गर्ने गरेका छन् । गत आर्थिक वर्ष २०७६/०७७ मा नेपाली छाला उत्पादकहरुले १७ करोड ८४ लाख ४४ हजार रुपैयाँको छाला विदेश पठाएका छन् । ठूलो मात्रामा छालाको निर्यात हुने गरेपनि स्वदेशी उद्योगहरुले भने छाला नपाउँदा आफूहरुले क्षमता अनुसारको काम गर्न नसकेको गुनासो गर्ने गरेका छन् ।
६ करोड ३१ लख १८ हजारको छाला आयात हुँदा १८ करोडको हाराहारीमा निर्यात हुनु मूलुकको व्यापार घाटा घटाउनका लागि महत्वपूर्ण योगदान रहेको छाला उत्पादकहरुको दाबी छ । गत वर्ष छाला ब्यापारबाट मूलुकले ११ करोड ५१ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ ।
७५ प्रतिशत निर्यात
नेपालमा उत्पादन भएको छालामध्ये ७५ प्रतिशत छाला निर्यात हुने गरेको छ । नियममा नै नेपालमा उत्पादन भएको छालाको ३० प्रतिशत स्वदेशमै प्रयोग गर्नुपर्ने र बाँकी निर्यात गर्दा हुने भनिएकाले छाला उत्पादकहरुले आफूले उत्पादन गरेको छालाको ठूलो हिस्सा विदेश पठाउने गरेका छन् ।
‘नेपालमा सबै खालका छाला पाउनै सकिँदैन, पाएका छालामा पनि एक किसिमको प्रशोधन गरेर हामी निर्यात गर्छौ’ छाला उत्पादक संघका अध्यक्ष संजय गिरीले भने, ‘काँचो छाला पाउन निकै मुस्किल छ ।’
नेपालमा १३ वटा छाला उद्योगहरु छन् । यी उद्योगले उपलब्ध छालालाई एक चरणको प्रशोधन सकेर विदेश पठाउने गरेका छन् ।
नेपाली उद्योगलाई सधैँ अभाव
उत्पादनको ७५ प्रतिशतसम्म विदेश निर्यात हुने एकमात्र प्रोडक्ट छाला मात्रै रहेको उद्योगीहरुको दाबी छ । यसले ब्यापार घाटा घटाउन मद्दत पुगेको उनीहरुको भनाई छ । तर छालाजन्य उद्योगहरुले भने नेपाली छाला नेपालमा नै खपत बढाउने हो भने तयारी बस्तुकै निर्यात गर्न सकिने र यसले अझ बढी ब्यापार घाटा कम गर्न योगदान पुर्याउने बताउँछन् ।
‘हामी त डोमेस्टिक इन्डस्ट्रि हौँ, हामी हाम्रै देशको प्रोडक्टमा भ्यालु एड गरेर निर्यात गर्छौ’ अध्यक्ष गिरीले भने, ‘छाला किन बाहिर बेच्यौ भनेर सोध्नुभन्दा पनि हामीले मूलुकको अन्तराष्ट्रिय ब्यापारमा दिएको योगदान हेर्दा राम्रो हुन्छ ।’
फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्ण कुमार फुयाँल नेपाली जुत्ता चप्पल उद्योगले छालाको खपत बढाउन सक्के भएपनि पर्याप्त छाला नपाउँदा क्षमता अनुसार उत्पादन गर्न नसकिएको बताउँछन् । छाला उद्योगीहरुले एक चरणको प्रशोधन गरेर नेपालबाट छाला विदेशमा निर्यात गरेपनि विदेशबाट थप २ चरणको प्रशोधन भएर त्यही छाला नेपाली उद्योगले किन्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
छाला संकलनमा समस्या
१ सय जोडी जुत्ता चप्पल उत्पादनको क्षमता भएर पनि उद्योगले जम्मा ३० जोडी उत्पादनमा नै चित्त बुझाउनु परेको उद्योगीले बताएका छन् । छाला लगायतका कच्चा पदार्थको अभावकै कारण वार्षिक १० करोड जोर जुत्ता चप्पल उत्पादन गर्ने क्षमता भएर पनि आफूहरुले ५ करोडको हाराहारीमा मात्रै उत्पादन गरिरहेको अध्यक्ष फुयाँलले बताए ।
‘खसी बाख्राको छालाबाट कन्फटैृबल जुत्ता चप्पल बन्छ, तर हामी मासुसँगै छाला खाइदिन्छौँ’ उनले भने, ‘स्वास्थ्यका लागि हानिकारक हुने छाला खानुभन्दा त्यसलाई निकालेर अन्य काममा उपयोग गर्दा धेरै व्यवसायिक फाइदा हुन्छ ।’
छाला उत्पादकहरुले पनि काँचो छाला पर्याप्त मात्रामा नपाउँदा समस्या रहेको स्वीकार गरेका छन् । ग्रामिण भेगमा खासी बाख्रा र राँगा भैसीको छाला त्यसै खेर जाने गरेको तर त्यसको बैज्ञानिक संकलनमा कसैले ध्यान नदिँदा नेपाली उद्योगहरु छालामा पनि परनिर्भर हुनुपरेको उद्योगीकै गुनासो छ ।
नेपालमा ‘काउ लेदर’ (गाइ, गोरुको छाला) नपाइने भएकाले खसी, बाख्रा र च्याङ्ग्राको छाला संकलन गरेर प्रशोधन गर्ने पद्धतिको विकास गर्न सकिए काउ लेदरको अभाव टर्ने जुत्ता चप्पल उद्योगीहरुको भनाई छ । सरकारले अब छालाको निर्यातमा नयाँ व्यवस्था गर्ने र उत्पादित छालाको ५० प्रतिशत स्वदेशमै खपत गर्ने प्रवन्ध मिलाउने तयारी भइरहेको बताएको छ ।