'आयल निगमको स्वास्थ्यमा ख्यालठट्टा गरे तरलतामा मात्रै होइन, समग्र अर्थतन्त्रमा क्षति हुन्छ' (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 02, 2021 | 06:56:09 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढेको सुची पठाएपछि निगमको मासिक घाटा अझै चुलिएको छ। घाटा धेरै भयो भनेर तीन दिन अगाडी मात्रै मुल्य बढाएको निगमको घाटा नयाँ मुल्य सुचीले अझैं चुलिएको हो। 

भारतले पठाएको नयाँ मुल्य सुची अनुसार निगमलाई १५ दिनमा ३ अर्ब २ करोड घाटा भई मासिक रुपमा करिब ६ अर्ब ४ करोड घाटा हुने देखिन्छ।  तीन दिन अगाडी पेट्रोलियम पदार्थको मुल्य बढाउँदा पनि निगमलाई १५ दिनमा १ अर्ब ८७ करोड ६७ लाख घाटा रहेको अवस्था थियो। 

तीन दिन अगाडी शुक्रबार कात्तिक १३ गते मात्रै निगमले पेट्रोलियम पदार्थमा प्रति लिटर ३ रुपैयाँ तथा खाना पकाउने ग्याँसमा प्रति सिलिन्डर ५० रुपैयाँ बढाएको थियो। निगमले प्रति लिटर पेट्रोल १३३, डिजेल र मट्टीतेल ११६ र सिलिन्डर १५०० रुपैयाँ तोकेको थियो।

तर भारतले पछिल्लो पटक अर्थात् कात्तिक १५ गते सोमबार पठाएको मुल्य सुचीअनुसार निगमलाई पेट्रोलमा ७ रुपैयाँ ४२ पैसा, डिजेलमा ३ रुपैयाँ ९२ पैसा , मट्टीतेलमा ११ रुपैयाँ ४९ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ११ पैसा, एलपी ग्याँसमा प्रति सिलिन्डर २४६ रुपैयाँ ९७ पैसा ले बढेको छ। 

जसअनुसार निगमलाई प्रति लिटर पेट्रोलमा २० रुपैयाँ ४ पैसा, डिजेल मा १५ रुपैयाँ ६२ पैसा, हवाई इन्धनमा आन्तरिकमा ०।०१ तथा एल पी ग्याँसमा प्रति सिलिन्डर ७२१ रुपैयाँ ६९ पैसा घाटा हुन पुगेको छ। समग्रमा यो घाटा मासिक रुपमा ६ अर्ब ४ करोड रुपैयाँ हो। जन निगमलाई घाटा परेको अहिलेसम्मकै बढी रकम हो।   

भारतमा बढेको मुल्य अनुसार मुल्य समायोजन नगर्दा एकातर्फ नेपाल आयल निगम ठुलो नोक्सानीमा जाने देखिन्छ भने अर्कोतर्फ भारत भन्दा नेपालमा सस्तो पर्न गई चोरी पैठारी बढ्ने देखिएको छ। 

पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजार मुल्य अनुसार नेपाल र भारतको स्थानीय बजारमा समायोजित पछिल्लो मुल्य स्थिति अनुर्प भारतिय सिमा बजार रक्सौलको तुलनामा नेपालको बिरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर ५३ रुपैयाँ ३८ पैसा, डिजेल ५६ रुपैयाँ ७६ पैसा र एलपी ग्याँस १२५ रुपैयाँ ६५ ले नेपाल तर्फ सस्तो रहेको छ। 


मुल्य समायोजन नहुँदा तरलता व्यवस्थापनमा समस्या

भारतमा बढेको मुल्य अनुसार मुल्य समायोजन नगर्दा निगमलाई घाटा भएको रकम व्यवस्थापन गर्दा नेपालको बैंकिङ प्रणालीमा नै तरलतामा समस्या पर्ने देखिएको छ। 

निगमसँग मूल्य स्थिरीकरण कोषमा १२ अर्ब र रिर्जभमा ६ अर्ब रुपैयाँ रहेको छ। अहिलेकै अवस्थामा यो पैसा तीन महिनाभित्र खर्च हुने भएकाले  निगमले आफुले पैसा राखेका बैंकलाई जानकारी गराइसकेको छ। 

निगमको १८ अर्ब रुपैयाँ मध्ये राष्ट्रिय बाणिज्य बैंकमा ४ अर्ब, नेपाल बैंकमा २ अर्ब, कृषि विकास बैकंमा २ अर्ब र अरु बाँकीका निजि लगानीका कमर्शियल बैंकमा १० अर्ब रुपैयाँ रहेको छ। मुल्य समायोजन नगरी अहिलेकै अवस्थामा अगाडी बढ्दा यो पैसा ३ महिना भित्र बाहिरिने देखिन्छ।    

निगमसँग भएको पैसा सकिएपछि तेल ल्याउनका लागि निगमले ऋण लिनुपर्ने अवस्था आउनेछ। विगतमा झैं सरकार जमानी बसेर नागरिक लगानी र कर्मचारी संचय कोषबाट ऋण लिएर निगमले भारतसँग तेल किन्न पर्ने अवस्था आउँन सक्छ। त्यस्तो अवस्थामा नगरिक लगानी र संचय कोषको पैसा समेत बाहिरिने भएकाले बैंकहरुमा अझ तरलता दबाब बढ्ने देखिन्छ।

निगमको स्वास्थ्यमा ख्यालठट्टा नगर्न पौडेलको सुझाव

निगमको स्वास्थ्यमा ख्यालठट्टा नगर्न कार्यकारी निर्देशक पौडेलले सुझाव दिएका छन्। बढेको मुल्यअनुसार मुल्य समायोजन हुन नसके त्यसको भार सबैले भोग्नुपर्ने उनले बताए। 

बढेको मुल्यअनुसार मुल्य समायोजन नहुँदा एकातर्फ त्यसको प्रत्यक्ष असर तरलतामा पर्ने र अर्कोतर्फ निगमको घाटा बढ्दै जाँदा ठुलो नोक्सानी व्योहोर्नु पर्ने उनको तर्क छ। 

अहिले प्रति लिटर पेट्रोलमा २० रुपैयाँ ४ पैसा, डिजेल मा १५ रुपैयाँ ६२ पैसा, हवाई इन्धनमा आन्तरिकमा ०।०१ तथा एल पी ग्याँसमा प्रति सिलिन्डर ७२१ रुपैयाँ ६९ पैसा घाटा भएकाले यसले निगमलाई धेरै ठुलो नोक्सानीमा लैजाने र त्यो नोक्सानी ब्योहोर्न सरकारकै पैसा प्रयोग गर्नुपर्दा त्यसले तरलतामा मात्रै नभई अर्थतन्त्रमा नै असर गर्ने उनको भनाई छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved