सैद्धान्तिक ज्ञान बिनाको सेयरबजार सम्बन्धी पत्रकारिता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2023 | 06:41:00 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति दाहाल

पत्रिकाले लेखेको र टीभी/रेडियोले भनेको भनेपछि ईश्वरीय वचनजस्तै मानिन्छ । यसको मतलब मानिसले सूचनाका माध्यमलाई अत्यधिक विश्वास गर्छन् भन्ने बुझिन्छ । मानिसको दैनिक जीवन सूचनाबाट शुरु भएर सूचनामै टुंगिन्छ । सूचना भनेको मानिसको दैनिकी नै हो ।

मानिसको दैनिकी बनेको सूचनामा शुद्धता हुनुपर्ने हुन्छ । सूचना सम्प्रेषण हुने पत्रपत्रिका टेलिभिजन र रेडियोले सूचनाको शुद्धतासँगै भाषिक शुद्धता पनि कायम राख्नुपर्ने हुन्छ । आर्थिक क्षेत्रमा प्रवाहित हुने सूचनाको झन् ठूलो महत्व हुन्छ । अझ सेयर बजारलाई लक्षित गरेर प्रकाशन गरिने समाचार÷सूचना प्रवाह गर्दा झन् सचेत हुनुपर्ने हुन्छ । सेयर बजार लक्षित गरेर समाचार÷सूचना प्रकाशन गर्ने विद्युतीय (अनलाइन) र छापा माध्यमले प्रकाशन गरिरहेका समाचारका शीर्षक र समाचारका विषयवस्तुको बारेमा यस आलेखमा संक्षिप्तमा चर्चा गर्ने प्रयास गरिएको छ ।

मुख्य प्रस्ताव र बोनस

सूचीकृत लगायत सबै कम्पनीले साधारण सभा गर्नुपर्छ । साधारण सभामा सामान्य र विशेष गरी दुई किसिमका प्रस्ताव हुन्छन । साधारण सभामा विशेष प्रस्ताव हुनुपर्छ भन्ने छैन, आवश्यकताअनुसार हुनपनि सक्छ र नहुन पनि सक्छ तर सामान्य प्रस्ताव भने हुन्छ÷हुनैपर्छ । प्रस्ताव बिनाको साधारण सभा आव्हान हुन्न । साधारण सभामा केकस्ता प्रस्ताव लानुपर्छ वा लगिन्छ भन्ने विषयमा कम्पनी ऐन, २०६३ ले व्यवस्था गरेको छ । त्यस्तै, विशेष प्रस्ताव पनि केके हुन्छन् वा हुनुपर्छ भन्ने विषयमा पनि व्यवस्था गरेको छ । यसबाहेक सञ्चालक समिति आफैले कुनै प्रस्तावलाई विशेष प्रस्तावको रूपमा लैजानसक्ने व्यवस्था पनि छ ।

कुनै पनि सभामा पेश गर्न लागिएको प्रस्ताव (सामान्य वा विशेष) मध्ये कुन मुख्य भन्ने बारेमा पत्रिकाले विभिन्न ढङ्गले बुझ्ने गरेका छन् । अधिकांश पत्रिकाले लाभांश (बोनस वा नगद) लाई नै सभाको मुख्य प्रस्ताव भनेर शीर्षक राख्ने गरेका छन् । वास्तवमा लाभांश कहिले पनि मुख्य प्रस्ताव हुँदैन । किनभने कम्पनीको साधारणसभा लाभांश पारित गर्नका लागि मात्र आव्हान हुन्न । कम्पनीले एक आर्थिक वर्षमा आफ्नो उद्देश्यअनुसार गरेको कार्यको विवरण सभामा पेश गर्नुपर्छ । लेखापरीक्षण भइसकेको वार्षिक आर्थिक विवरण पनि पेश गर्नुपर्छ । यी प्रतिवेदन पारित नभएसम्म अरु प्रस्तावमा प्रवेश गरिन्न । लेखापरीक्षकले लाभांश बाँड्न मिल्ने वा नमिल्ने भनेर नाफा नोक्सानको पनि बाँडफाँड गरेको हुन्छ ।

नाफा नोक्सान बाँडफाँड हिसाबले नाफा बाँड्न सकिने रकम देखाए पनि लाभांश नबाँड्न पनि सक्छ । त्यसकारण सभामा लाभांश प्रस्ताव पेश गरिए पनि यो मुख्य प्रस्ताव बन्दैन वा हुँदैन । तर, पत्रपत्रिकाले यसलाई नै मुख्य प्रस्ताव भनेर ‘भैंसीटाउके’ अक्षरमा शीर्षक राख्नु सर्वार्थ अनुचित हुन्छ । यसको सट्टा ‘अमुक कम्पनीको साधारणसभा आव्हानः केके छन् प्रस्ताव’ जस्ता शीर्षक राख्दा उचित हुन्छ वा योभन्दा अरु कुनै शीर्षक राख्न सकिन्छ । विशेषसभा आव्हान भएको रहेछ भने यस्ता सभामा एउटामात्र वा त्योभन्दा बढी प्रस्ताव हुनसक्छ । उदाहरणका लागि कम्पनी गाभ्ने विषयमा विशेष सभा आव्हान गरिएको छ भने यसको मुख्य प्रस्ताव कम्पनी गाभ्ने हुन्छ । यतिबेला भने ‘कम्पनी गाभ्ने’ मुख्य प्रस्ताव भनेर शीर्षक बनाउन र समाचार लेख्न उचित हुन्छ ।

कम्पनी गाभ्ने हुँदा गाभ्ने कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि हुने हुँदा यसमा अर्को प्रस्ताव प्रबन्धपत्र संशोधन हुन्छ । यतिबेला यो प्रस्ताव पहिलो प्रस्तावको अधिनस्थ प्रस्ताव हुन्छ । पहिलो वा मुख्य प्रस्तावको रूपमा रहेको कम्पनी गाभ्ने प्रस्ताव पारित भएमा दोस्रो प्रस्ताव स्वतः पारित हुन्छ । तर, पहिलो प्रस्ताव पारित नभएमा दोस्रो प्रस्तावमा प्रवेश नै गरिन्न र स्वतः खारेज हुन्छ ।

पत्रपत्रिकाकै कारण कम्पनीले आफ्नो आर्जनबाट सेयर धनीलाई दिने लाभ ओझेल परेको छ । हरेक पत्रिकाले ‘बोनस कति दियो’ वा ‘कहिले दिन्छ’ भनेर लेखिदिँदा लाभांश (नगद) ओझेल परेर कर्पोरेट सिद्धान्त नै ओझेल पर्दै गएको छ । सूचीकृत कम्पनीले लाभांश घोषणा गर्छन् र यसको पनि समाचार बनाउँदा पनि दिक्कलाग्दो शीर्षक बनाउने गरेका छन् । ‘कति दियो बोनस’ भन्ने शीर्षक देखिन्छ ।

त्रैमासिक विवरणको समाचार बनाउँदा पनि आगामी वर्ष यति र उति बोनस दिनसक्ने जस्ता समाचार शीर्षक देखिन्छ । कम्पनीले लाभांश घोषणा गर्दा बोनस पनि हुनसक्छ । कतिपय पत्रकारले समाचार लेख्दा बोनस दिने कम्पनीको सेयर किनौँ भन्ने आशयका समाचार लेखेका हुन्छन् । पत्रकारले समाचार वा समाचारको शीर्षक बनाउँदा कर्पोरेटको सैद्धान्तिक पक्षलाई नजरअन्दाज गरेर बनाउन हुन्न ।

एफपीओ र प्रिमियम

पत्रिकाले ‘फर्दर पब्लिक अफरिङ (एफपीओ)’ र ‘प्रिमियम’को भेद बुझ्न सकेको देखिन्न । कुनैपनि कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गर्नुलाई ‘एफपीओ’ भन्ने बुझेको र लेखेको देखिन्छ । प्रिमियम मूल्यमा सेयर जारी हुनु एफपीओ हैन । यी दुई शब्दावलीको भेद बुझ्न पहिले यी दुबै शब्दलाई अलग अलग बुझ्नुपर्ने हुन्छ । कर्पोरेट सन्दर्भमा यसलाई सेयरको मूल्यसँग जोडेर हेर्नुपर्छ । सेयरको अङ्कित मूल्य हुन्छ ।

प्रिमियम सेयरसँग जोडिएर आउने शब्द हो । सेयर जारी गर्ने कम्पनीले कम्पनीको साख (गुडविल), नाफा, व्यवसायको सम्भावना र त्यस्तै कम्पनीको बजारमा चलेको मूल्य आदिका आधारमा अंकित मूल्यमा केही रकम थप गर्ने गर्छन् । यही थपिएको मूल्यलाई ‘प्रिमियम’ भनिन्छ । यस्तो प्रिमियम रकम कम्पनीको पुँजीसरह हुन्छ ।

यसलाई वासलातमा सेयर प्रिमियम शीर्षकमा देखाइन्छ । नेपालमा एकदुई कम्पनीबाहेक सबैको अङ्कित मूल्य १ सय रुपैयाँ प्रचलनमा छ । यही १ सय रुपैयाँमा अर्को १ सय रुपैयाँ थप गरिन्छ भने यस्तो रकमलाई ‘प्रिमियम’ भनिन्छ । यहाँ १ सय रुपैयाँ नै प्रिमियम थपिन्छ भन्न खोजेको होइन ।

परल मूल्यमा जति रकम थपिन्छ त्यही नै प्रिमियम हो । प्रिमियम कति थप्ने भन्ने कुराको सन्दर्भमा एउटा ‘फिक्स्ड विधि’ हुन्छ भने अर्को बुक बिल्डिङ विधिबाट मूल्य अन्वेषण गरी निर्धारण गरिन्छ । नेपालमा बुक बिल्डिङसम्बन्धी कानुनी व्यवस्था भएपनि यसबाट अहिलेसम्म सेयर जारी भएको छैन । केही पत्रिकाले घोराही सिमेन्ट लिमिटेड बुक बिल्डिङ विधिबाट सेयर जारी गरेको भनेर लेखे पनि यो फिक्स्ड विधिबाट जारी भएको हो । यसरी फिक्स्ड विधिबाट धेरै कम्पनीले सेयर जारी गरिसकेका छन् ।

एफपीओ भनेको एकपटक प्राथमिक सेयर जारी गरिसकेका कम्पनीले फेरिपनि सर्वसाधारणलाई सेयर जारी गरे भने यसलाई एफपीओ (फर्दर पब्लिक अफरिङ) भनिन्छ । नेपालमा बैंक र बीमा कम्पनीले नियामकले तोकेको मात्रामा सर्वसाधारणलाई आइपिओ (इनिसियल प्राइमरी अफरिङ) जारी गर्नुपर्छ । यसरी आइपिओ जारी गरिएपछि कुनै कारणवश तोकिएको मात्रामा कमी आएमा त्यसलाई पूरा गर्न एफपीओ जारी गरिन्छ । एफपीओ परल (अङ्कित) वा प्रिमियम दुवै मूल्यमा जारी गरिन्छ । एफपीओ भन्नेबित्तिकै प्रिमियम मूल्य हुन्छ र प्रिमियम भन्नेबित्तिकै एफपीओ हुन्छ भन्ने हुन्न ।

भित्री कि बाहिरी कारोबार

सेयर बजारमा सबैभन्दा बढी समाचार बन्ने विषय भित्री कारोबार अर्थात् इनसाइड ट्रेडिङ हो । सेयर बजारसम्बन्धी समाचार लेख्ने पत्रकारले अहिलेसम्म यसको अन्तरवस्तु बुझेको देखिन्न । भित्री कारोबार कुन अवस्थामा कसरी, कसले गर्नसक्छ भन्ने विषयमा बुझेको पटक्कै देखिन्न । सर्वोतम सिमेन्ट लिमिटेडको ओटीसी (ओभर द काउन्टर) मा भएको कारोबारलाई जबर्जस्ती भित्री कारोबार स्थापित गराउने दुष्प्रयास भयो । सेयर मूल्य बढेपनि घटेपनि भित्री कारोबार, कुनै सेयरधनीले अलि धेरै सेयर बेचेपनि भित्री कारोबार भयो भन्ने समाचारले पत्रिका रङ्गीन थाल्छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९१(१) मा ‘कुनै व्यक्तिले धितोपत्रको मूल्यमा असर पार्नसक्ने सार्वजनिक नभएका भित्री सूचना वा जानकारीको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ’ भनिएको छ । यस्ता कारोबारमा को को व्यक्ति संलग्न हुनसक्छन् भन्ने विषयमा ऐनको दफा ९२ मा (१) कम्पनीका सञ्चालक, कर्मचारी वा सेयरधनी, (२) सो कम्पनीलाई पेशागत सेवा प्रदान गर्ने व्यक्ति (बाह्य लेखापरीक्षक, कानुनी सल्लाहकार आदि) र (३) माथि (१) र (२) मा उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्नेलाई सूचना र जानकारीमा पहुँच भएको व्यक्ति (लेखापरीक्षण वा ल–फर्मको कर्मचारी, सञ्चालक, सेयरधनी वा कर्मचारीको नातेदार आदि) मानिएको छ ।

कुनै कम्पनीको उच्च तहका दुईजना कर्मचारी चियापसलमा चिया पिउँदै कम्पनीको स्थितिको बारेमा गरिरहेको गफ अलि परतिर बसेर चिया पिउँदै गरेको अर्को व्यक्तिले सुनेर आफूले प्रशस्त सेयर किनेर त्रैमासिक अवधिको वित्तीय विवरण प्रकाशित हुनासाथ बिक्री गरेमा यसलाई भित्री कारोबार गरेको मानिन्न । भित्री कारोबार स्थापित हुन त्यति सजिलो विषय पनि होइन । भित्री सूचना चुहिँदै–नचुहिने भन्ने पनि हुन्न । त्यसकारण यसलाई हल्कारूपमा लिएर जस्तोसुकै घटनालाई पनि भित्री र बाहिरी कारोबार भयो भनेर बुझ्नु र लेख्नु उचित हुन्न ।

मालामाल र पहिरो 

धेरै जति पत्रिकाको कामै ३ बजेपछि वा कारोबार समयमै सेयर मूल्य घट्यो वा बढ्यो भने सेयरधनी ‘मालामाल’ भए र ‘पहिरो गयो’, ‘रक्ताम्य भयो’ भन्ने शीर्षक राखेर पाना रङ्ग्याउने गरेका छन् । सेयर बजारमा मूल्य घट्नु र बढ्नु सामान्य कुरो हो । सेयर बजारमा हुने यस्तै उतारचढाव नै यसको प्रकृति र स्वभाव हो । सेयर मूल्य स्थिर हुने भए यसलाई सेयर बजार भनिने नै थिएन । सेयर बजारको अर्को नाम ‘सट्टा बजार’ पनि हो । हुनत यो शब्दमा धेरैको आपत्ति छ तर कसैले आपत्ति गर्दैमा भएको कुरो भन्न अप्ठ्यारो मान्नुपर्दैन ।

सेयर जारी गर्दा प्रकाशन गरिने विवरण पत्रमै ‘सूचीकरण पश्चात् नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा हुने कारोबारले मूल्य नजनाउने भएकोले सेयर मूल्यमा हुनसक्ने परिवर्तनको जोखिम रहेको छ’ भनिएको हुन्छ । यसो भन्नुको अर्थ सेयर बजारमा हुने मूल्य उतारचढावलाई इङ्गित गरिएको हो । यस्तो उतारचढाव हुने भनेकै ‘सट्टाबाजी’ ले हो । सेयर बजारमा सट्टाबाजीलाई स्वाभाविकरूपमा लिइन्छ/ लिनुपर्छ । वैधानिकरुपमै दैनिक १० प्रतिशत घट्न–बढ्न पाउने नियम भएको हुँदा नियमानुसार कारोबार भई हुने घटबढलाई आकाशै खसेझैँ ‘रक्ताम्य’ र ‘पहिरो’ जस्ता सुन्दा पनि आङ जिरिङ्ग हुने शीर्षक राख्नु उचित मान्न सकिन्न ।

‘कारोबारीले पनि यस्ता घटनालाई अस्वाभाविक भयो भन्ने टिप्पणी गर्नुपर्ने आवश्यकता छैन । सेयर मूल्य सधँै घट्न वा सँधै बढ्न सक्छ । यसकारण सेयर बजार ‘साधुसन्तको आश्रम’ मा जस्तो ज्ञानगुनको कुरो सुन्ने र सुनाउने ठाउँ होईन । यहाँ केही हदसम्म छलछाम हुन्छ । यसलाई पनि स्वाभाविकरुपमै लिनुपर्छ । घट्दा वा बढ्दा ‘प्राकृतिक’ र ‘अप्राकृतिक’ भन्ने अर्को शब्द पनि बेलाबेलामा सुनिन्छ ।

यस्ता कुरा पनि सेयर बजारको सिद्धान्त विपरीतका कुरा हुन् । यस्ता कुरालाई पनि यसको सैद्धान्तिक पक्षसँग जोडेर हेर्नुपर्छ । कुनै कम्पनीको भाउ बढ्दैमा ‘मालामाल’ भए भन्नुपनि सान्दर्भिक हुन्न । ५० कित्ता सेयर कारोबार भएर १० प्रतिशत मूल्य बढ्दैमा मालामाल हुने प्रश्न आउँदैन । त्यस्तै, ५० कित्ताले १० प्रतिशत मूल्य घट्नपनि सक्ने हुँदा ‘पहिरो’ गएको ‘रक्ताम्य’ हुने पनि होइन ।

इन्डेक्स र कारोबार रकम

धेरै आर्थिक पत्रकारलाई इन्डेक्स गणना कसरी गरिन्छ वा हुन्छ भन्ने पनि थाहा छैन । कारोबार रकम बढ्यो भन्दैमा इन्डेक्स बढ्दैन । कारोबार रकम घट्दैमा पनि इन्डेक्स घट्दैन । इन्डेक्स बढ्नका लागि कम्पनीको सेयर मूल्य नै बढ्नुपर्छ । मूल्य बढेमा कारोबार रकम घटेपनि बढेपनि इन्डेक्स बढ्छ । इन्डेक्स सबै कम्पनीको मूल्य बढेमा बढ्छ तर त्यसको योगदान देखिन्न । मूल्य बढ्दैमा योगदान देखिने कम्पनीको सङ्ख्या सिमित हुन्छ । कम्पनीको पुँजी धेरै हुँदैमा पनि त्यसको योगदान बढी हुन्छ भन्ने पनि हुन्न । थोरै पुँजी भएपनि त्यसको मूल्य उच्च वा बजार पुँजीकरण उच्च छ भने इन्डेक्समा त्यसको योगदान उच्च हुन्छ ।

इन्डेक्स भनेको हरेक दिन कायम हुने बजार पुँजीकरणको मापन हो । यसमा आधार पुँजीकरण र दैनिक पुँजीकरण गरि दुईवटा अङ्क लिइन्छ । आधार पुँजीकरण एक निश्चित समयसम्म स्थिर रहन्छ । आधार पुँजीकरणलाई दैनिक पुँजीकरणले भाग गरेर इन्डेक्स निकालिन्छ । नयाँ कम्पनी सूचीकरण र हकप्रद पश्चात् आधार पुँजीकरण परिवर्तन हुँदै जान्छ । त्यसकारण यो कति अवधिको लागि कायम रहन्छ भनेर यकिन समय तोक्न सकिन्न ।

इन्डेक्सलाई हल्लाउने कम्पनीको सङ्ख्या थोरै हुन्छ । नेपालमा सूचीकरण भएका सबै कम्पनीलाई इन्डेक्स गणनामा सामेल गरिएको छ तरपनि १० देखि १५ वटा कम्पनीले इन्डेक्सलाई हल्ल्लाइरहेको हुन्छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले नेप्से–३० नामक इन्डेक्सको शुरुवात गर्न लागेको हुँदा अबदेखि इन्डेक्स गणनामा ३० वटा कम्पनीले इन्डेक्सलाई तलमाथि गराउने छन् ।

यसमा पनि मुख्य १० वटा जति कम्पनीको योगदान बढी हुनेछ । कहिलेकाहीँ बम्बे स्टक एक्सचेञ्ज लिमिटेड (बीएसई) र नेशनल स्टक एक्सचेन्ज लिमिटेड (एनएसई)को इन्डेक्सलाई नेपालको इन्डेक्ससँग तुलना गर्ने गरिन्छ । बीएसईको बेञ्चमार्क इन्डेक्स सेनसेक्स नेपालको सन्दर्भमा तुलना हुनैसक्दैन । किनभने बीएसई संसारको १० ठूला एक्सचेञ्जमा पर्छ । त्यहाँ ६ हजार कम्पनी सूचीकृत छन् ।

नेपालमा जम्माजम्मी २५० वटा हाराहारीमा कम्पनी सूचीकृत छन् । यद्यपि इन्डेक्स धेरै हुनका लागि कम्पनी धेरै चाहिन्छ भन्ने चाहिँ होइन । एनएसईको बेञ्चमार्क इन्डेक्स निफ्टी २० हजार हाराहारीमा छ । एनएसई र नेप्से सँगसँगै जस्तै आएको हो इन्डेक्स किन बराबर हुनसकेन भन्नेजस्ता असान्दर्भिक प्रश्न उठ्ने गरेको छ । यहाँपनि आर्थिक पत्रकारको बुझाई कम भएको प्रष्टै देखिन्छ ।

एनएसईको इन्डेक्स गणना गर्दाको पहिलो दिन १ हजार बिन्दुलाई आधार मानिएको छ । सामान्यताः इन्डेक्स १ सय बिन्दुबाट गणना गरिएको पाइन्छ । एनएसईलगायत केही एक्सचेञ्जले १ हजार बिन्दुबाट गणना शुरु गरेका छन् । रोयल सेक्युरिटीज एक्सचेञ्ज अफ भुटान र पाकिस्तानको पाकिस्तान स्टक एक्सचेञ्जको इन्डेक्स गणनाको आधार बिन्दु १ हजार हो । भारतसँग तुलना गर्ने हो भने नेप्से र एनएसईको इन्डेक्स लगभग बराबरीमा छ ।

अन्त्यमा, सेयर र सेयर बजार दुवै जोखिमयुक्त क्षेत्र हो । सेयरमा गरिएको लगानीमा परल मूल्यमात्र जाला तर, सेयर बजारमा त्योभन्दा बढी जान्छ । किनभने यसमा ‘सट्टाबाजी’ गरिएको हुन्छ । यति पुग्ला÷त्यति पुग्ला भन्ने अन्दाज र अनुमान विपरीत किनेको मूल्यभन्दा पनि तल जानसक्छ । सेयर बजार उच्च जोखिमयुक्त लगानीको क्षेत्र भएको हुँदा ‘तरबार’को धारमा हिँडेजस्तै हो । सेयर बजारको विषयमा कलम चलाउँदा आर्थिक पत्रकारले विषयवस्तुलाई गहनरूपमा बुझेर अध्ययन गरेर लेख्नु उचित हुन्छ । 

ज्योति दाहाल अधिवक्ता हुन् ।  यो लेख बिजपाटी डटकमको ८ औ वार्षिकोत्सवको अवसरमा प्रकाशित 'समृद्धिको यात्रामा सञ्चारमाध्यम' स्मारिकाबाट साभार गरिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved