नेपालको आर्थिक मन्दीः अरुलाई अभिशाप तर कुलमानलाई वरदान !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 05:49:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले चरम आर्थिक मन्दी भोगिरहँदा यहाँका कयौं उद्योग व्यवसाय बन्द भईसके । कुनै बेला ब्यापार गर्नलाई भ्याई नभ्याई हुने न्यूरोड, दरबारमार्ग, असन, इन्द्रचोक जस्ता काठमाडौँका मुख्य व्यापारिक ठाउँहरुमा अहिले सन्नाटा छाएको छ । यहाँ कयौं मानिसहरु ब्यापार नभएकाले भाडा तिर्न नसकेर सटर बन्द गरेर आफ्नै गाउँ फर्कीसके ।

देशमा भविष्य नदेखेर दैनिक २५ सय बढी नेपाली विदेशिँदा युवाहरुले धानिएका क्याफे, रेष्टुरेन्ट पनि अब खाली खाली देखिन थालेका छन् । पछिल्लो समय पुराना मुद्दा मामिला ब्यँताएर हुने खाने ठूला ब्यापारी व्यवसायमाथि सरकारले ‘अप्रेशन’ नै थालेपछि ठूलाहरू थप ब्यापार गर्नुभन्दा विदेश पलायन हुने क्रम बढेको छ भने सहकारीमा समस्या आउँदा सर्वसाधारण बिचल्लीको अवस्थामा पुगेका छन् । 

नेपाल उद्योग परिसंघ (सीएनआई) ले गरेको एक सर्वेक्षणअनुसार पछिल्लो २ वर्षमा बजार माग ३७ प्रतिशतले घटेको छ । सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा आइपुग्दा उद्योगहरूको मागमा कूल ३६.९३ प्रतिशतले संकुचन आएको देखिएको छ । बजारमा वस्तु तथा सेवाको माग नै कम हँदा उद्योगहरु आंशिक क्षमतामा मात्रै चलेका छन् ।

एकातिर उद्योग पूर्ण क्षमतामा चलेका छैनन् भने अर्कोतिर आंशिक क्षमतामा चलिरहेका उद्योगहरुले पनि पर्याप्त बिजुली पाएका छैनन् । देशका मुख्य औद्योगिक क्षेत्रमा अहिले पनि दैनिक ८ देखि १२ घण्टासम्म अघोषित लोडसेडिङ छ । बुटवल–भैरहवा, बारा–पर्सा, मोरङ–सुनसरी लगायतका मुख्य औद्योगिक करिडोरमा रहेका उद्योगहरुले पर्याप्त बिजुली पाइरहेका छैनन् । तर, विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ सहितका अधिकारीहरु भने लोडसेडिङ छ भनेर स्वीकार गर्न चाहिरहेका छैनन् ।

उता, प्राधिकरणका विरतण केन्द्रहरुले भने सूचना पठाएरै बिहान ७ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ९ बजेसम्म उद्योग नचलाउन उर्दी जारी गरेका छन् । बुटवलस्थित एक उद्योगीका अनुसार हरेक दिन बिहान ४ घण्टा र बेलुका ४ घण्टा गरेर दैनिक ८ घण्टा नियमित लोडसेडिङ भइरहेको छ । उनका अनुसार कहिलेकहीँ बिहान र बेलुका गरेर १० देखि १२ घण्टासम्म पनि विद्युत कटौती भइरहेको छ । 

‘खाद्यान्नका उद्योगहरु दैनिक चल्ने भए पनि ठूलो उत्पादन र धेरै कामदार हुने निर्माण सामग्रीका उद्योगहरु हिउँदमा बढी चल्ने हुन्, असारदेखि कार्तिकसम्मै निर्माण सामग्रीको माग हुँदैन, मंसिरदेखि जेठसम्म काम हुने हो’ एक जना उद्योगी भन्छन्, ‘यहीँ सिजनमा निर्माण सामग्रीको माग बढी हुन्छ, माग बढी भएपछि उत्पादन बढी हुने नै भइहाल्यो । तर, यहीँ सिजनमा उद्योगले माग अनुसारको बिजुली पाउँदैनन् । यसपाली मन्दी भएर सामानको माग नै नहुँदा त आंशिक रुपमा चलेका उद्योगले पर्याप्त बिजुली पाएका छैनन् भने उद्योगहरु आफ्नो क्षमता अनुसार चल्ने वातावरण हुन्थ्यो भने अवस्था के हुन्थ्यो होला ?’

प्राधिकरणका अनुसार अहिले विद्युतको पिक डिमाण्ड १ हजार ८८५ मेगावाट छ । नेपालको आफ्नो उत्पादन र भारतबाट आयात हुने ६८१ मेगावाट जोड्दा १४ सय ८३ मेवागाट विद्युत मात्रै आपूर्ति भइरहेको थियो । तर, आइतबारबाट ५५४ मेगावाट मात्रै आयात गर्न पाइने भएपछि अब आन्तरिक उपलब्धता र आयात गर्दा जम्मा १३ सय ५६ मेगावाट मात्रै बिजुली उपलब्ध छ ।

त्यसैले पनि यो आर्थिक मन्दी चौतर्फी सबैका लागि चरम पिडाको विषय बन्न पुगेको छ । तर, खराबी सबैका लागि खराब नहुने रहेछ ।  मारमा परेको बेला उज्यालोको ‘हिरो’ भनेर चित्रण गरिएका नेपाल विद्युत प्राधिकरणका ‘हाकिम’ कुलमान घिसिङलाई भने मन्दी फापेको देखिन्छ । 

यो बेला आर्थिक मन्दी नहुँदो हो त उद्योग कलकारखाना फुल फेजमा अर्थात पूर्ण क्षमतामा चल्थे । प्राधिकरणले उपलब्ध गराउने विद्युत अपुग हुन्थ्यो । र, उद्योगहरुमा अहिले भन्दा थप समय लाइन काटिन्थ्यो । सर्वसाधारणको घरघरमा पनि उद्योगहरुमा झैँ लोडसेडिङको तालिका पुग्थ्यो होला । तर, चरम आर्थिक मन्दी हुँदा उद्योग कलकारखाना र घर घरमा विद्युतको प्रयोग अत्यन्त कम हुँदा भएकै बिजुलीले पुगेको जस्तो देखिँदा उज्यालोको नायकको छबी बनाएका कुलमानलाई गाली खानु परेको छैन । त्यसमा पनि हिउँदमा विगतको तुलनामा भारतबाट आयात हुने विद्युतमा १२७ मेगावाटले कटौती हुँदा समेत लोडसेडिङको तालिका निकाल्नु नपर्दा आर्थिक मन्दी कुलमानलाई फापेको देखिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved