कारवाहीमा परेको तेल उद्योगले नै घटाएन मूल्य

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Feb 04, 2021 | 03:27:21 PM मा प्रकाशित

laxmi  sunrise bank

बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नियमित बजार अनुगमको क्रममा गत माघ ६ गते बारामा सञ्चालीत दुई तेल उद्योगलाई कारवाही गर्याे । 

पछिल्लो समय खाने तेलको मूल्यमा बृद्धि भएको गुनासोपछि अनुगमनका क्रममा गल्ती प्रमाणीत भएपछि विभागले अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालि लाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही स्वरुप तीन÷तीन लाख जरिवाना गरेको थियो । 

कारवाही गर्दा १५ दिनभित्र बजारमा पठाएको सबै तेल फिर्ता ल्याएर नयाँ मूल्य सूचि बनाएर बिक्री गर्नुपर्ने र त्यसको जानकारी विभागमा गराउन निर्देशन दिईएको विभागका अधिकारीहरु बताउँछन् । 

कारवाही गरिएको १५ दिन बित्दा समेत उक्त दुई उद्योगले मूल्य घटाएको कुनै जानकारी नदिएको विभागका बजार अनुगमन शाखाका निर्देशक सागर मिश्र बताउँछन् । ‘हामीले कारवाही गर्दा १५ दिनको समय दिएका थियौँ । तर मूल्य घटाएको कुनै जानकारी आएको छैन, हामी आईतबार उद्योगमा नै गएर मूल्य घटाएको नघटाएको विषयमा अध्ययन गर्छौ’, उनले भने, ‘यदि हामीले दिएको निर्देशक पालना भएको रहेनछ भने पुनः कारवाही गछौँ ।’

विभागले अनुगमन गरेर कारवाही गरोको उद्योगले नै मूल्य नघटाउँदा विभागले गरेको बजार अनुगमन प्रभावकारी नभएको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । विभागले देखाउँन र राजश्व असुलिका लागि मात्र केन्द्रीत भएर बजार अनुगमन गर्ने गरेको अधिकारकर्मीहरुले आरोप लगाउँदै आएका छन् । 

यता विभागका अधिकारीहरु भने दैनिक ५ समूहबाट बजार अनुगमन गर्दै आएको दाबी गर्दै आएको छ । 

विभागले अनुगमन गरेर कारवाही गरेको दाबी गर्दै आएपनि उपभोक्ता बजारमा खाद्यान्न देखि निर्माण क्षेत्रमा व्यवसायीले आफूखुशी मूल्य बढाउँन छोडेका छैनन् । पछिल्लो समय खाने तेल, चिनी, चामलदेखि फलामे डन्डी र सिमेन्टको मूल्यमा धेरै अन्तर देखिएको छ । 

उपभोक्ताले गरेको गुनासोका आधारमा विभागले केही उद्योगलाई कारवाही र केही उद्योगीसँग मूल्य घटाउने विषयमा छलफल समेत गर्दै आएको छ । तर विभागले कारवाही नै गरेको उद्योगले समेत बढाएको तेलको मूल्य घटाएका छैनन् । 

अनुगमन रोकिएको छैन: विभाग

जाडपर्वको समयमा बजारमा अनौतीक व्यापारिक कारोबार हुने भन्दै बजार अनुगमनका लागि थप गरिएको जनशक्तिबाटै हाल दैनिक बजार अनुगमन हुँदै आएको विभागका अधिकारीहरु बताउँछन् । उपभोक्ताले गरेको गुनासोका आधारमा दैनिक ५ समूहबाट काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमन हुँदै आएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी बताउँछन् । 

‘हामीले जाडपर्वका लागि विभिन्न कार्यालयबाट थप जनशक्ति मागेका थियौँ । दशैँ अघि नै थप भएको जनशक्ति हाल विभागमा नै रहनुभएको छ । सोही जनशक्तिबाट दैनिक अनुगमन हुँदै आएको छ’, उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता उपभोक्ताले गुनासो गरेको स्थानमा हुन्छ । गुनासो भन्दा बाहेक क्षेत्रका आधारमा दैनिक अनुगमन टोली परिचालन हुँदै आएको छ । गल्ती गरेको भेट्नासाथ हाम्रा साथीहरुले तत्काल कारवाही गर्नुहुन्छ । तत्काल कारवाहीको अधिकार अनुगमन अधिकृतलाई दिइएको छ ।’

विभागको नेतृत्वमा काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नतृत्वमा बजार अनुगमन हुँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved