करदातालाई जागरुक बनाउन ‘सडक नाटक’ सुरु गर्दै काठमाडौँ महानगर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2021 | 11:48:34 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट ‘सडक नाटक’ सुरु गर्ने भएको छ । पहिलो चरणमा काठमाडौँ क्षेत्र भित्रका १० स्थानमा सडक नाटक देखाउने तयारी भएको काठमाडौँ महानगरपालिका राजश्व विभागका प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए ।

‘करदातालाई दबाब दिएर होइन सकारात्मक सन्देशसहित कर तिर्ने वातावरण सिर्जना गर्न महानगरले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन ‘आनासुकी घरबेटी’ बा सडक नाटक सुरु गर्न लागेको हो,’ अधिकारीले भने, ‘पहिलो चरणमा हामी काठमाडौँ क्षेत्र भित्रका वसन्तपुर, कालिमाटी, कलंकी, चावहिल, गौशाला, नयाँबानेश्वरलगायत १० स्थानमा सचेतनासहित सडक नाटक गर्छौ । प्रभावकारी भयो भने स्थानहरु थप गर्ने तयारी छ ।’ 

अधिकारीले कोभिडका कारण चालु आर्थिक वर्षमा राजश्व संकलनको प्रक्षेपण नै कम गरेको भन्दै प्रक्षेपण अनुरुप कर संकलन गर्ने उदेश्यले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिए । 

‘यस्तो महामारीका बेला करदातालाई दबाब दिने भन्दा पनि सचेतनामुलक अभियान सञ्चालन गरेर राजश्व असुली गर्ने उदेश्य अनुरुप यसो गरेका हौँ,’ उनी भन्छन्, ‘हामीले यस अघिपनि आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारको अनुगमन गरेका थियौँ । कर तिर्नेलाई धन्यवादपत्र र नतिर्नेलाई के–कारणले कर तिर्न सम्भव भएन भनी जानकारी गराउन सबै विवरणसहित विभागमा हाजिर हुने पत्र थमाएका थियौँ ।’ 

करीब २० मिनेटको नाटकमा करदाताले राज्यलाई तिर्ने करको सदुपयोग कसरी हुन्छ भन्ने विषय देखाईने छ ।

महानगरले कोभिडका कारण यो वर्ष व्यवसाय करमा २० प्रतिशत र होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिएको छ । महानगरले कोभिडका बेला एक महिना घरभाडा छुट दिएका घरधनीलाई असारसम्म करमा १० प्रतिशत छुट दिएको छ ।

‘होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई हामीले असारसम्म नै छुट दिएका छौँ,’ उनले भने, ‘सम्पत्ति करमा १० प्रतिशत छुट दिएका छौँ । त्यो चैत मसान्तासम्म मात्रै हो । सम्पत्ति करमा पनि होटललाई असारसम्म ७५ प्रतिशत छुट दिएका छौँ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved