वागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशत हुने अनुमान, सबै भन्दा कम मधेस प्रदेशको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2022 | 01:43:16 PM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रिय तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७८÷७९ मा वागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । बिहीवार तथ्याङ्क विभागले प्रदेशस्तरीय जीडीपीको योगदान सार्वजनिक पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्ष २०७८÷०७९ को वागतती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो ।

विभागले प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपीमा) मा वागमती प्रदेशको सबैभन्दा बढी १७ खर्ब ९१ अर्ब रुपैयाँसहित ३६.९ प्रतिशत योगदान गर्ने अनुमान गरेको छ । तर सात प्रदेश मध्ये कर्णाली प्रदेशले सबैभन्दा कम १ खर्ब ९८ अर्ब रुपैयाँले ४.१ प्रतिशतको योगदान गर्ने अनुमान तथ्याङ्क विभागले बताएको छ । अघिल्लो वर्ष समग्र राष्ट्रिय उत्पादनमा वागमती प्रदेशको मात्र ३७.७ प्रतिशत रहेको थियो । गत आर्थिक वर्षको तुलनामा वागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा योगदान घटेको विभागको तथ्याङ्कले देखाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै विभागका निर्देशक गणेशप्रसाद आचार्यले प्रदेशस्तरीय आर्थिक वृद्धिदर राष्ट्रिय आर्थिक वृद्धिदर नजिक रहेको बताए । उनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा प्रदेश तहमा सबैभन्दा धेरै वागमती प्रदेशको योगदान रहेको बताए । आचार्यले प्रदेश तहको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा सेवा क्षेत्र र कम औद्योगिक क्षेत्रको रहेको स्पष्ट पारे ।

उनले भने,‘सबैभन्दा धेरै आर्थिक वृद्धिदर वागमती प्रदेशको ६.७ प्रतिशत रहेको छ । सबै भन्दा कम मधेस प्रदेशको ४.८ प्रतिशत देखिन्छ । यसरी प्रदेशस्तरीय आर्थिक वृद्धिदर राष्ट्रिय आर्थिक वृद्धिदर नजिक रहेको छ । त्यसमा कहीँ तल,माथि परेको देखिन्छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा प्रदेश तहमा कति हिस्सा छ भन्दा, सबैभन्दा धेरै वागमती प्रदेशको रहेको छ । प्रदेश तहको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा सेवा क्षेत्रको रहेको छ । सबैभन्दा कम औद्योगिक क्षेत्रको रहेको छ । सबैभन्दा धेरै सेवा क्षेत्रमा वागमती प्रदेशमा ७६.६९ प्रतिशत रहेको छ भने  मधेस प्रदेशको ३४.५ प्राथमिक क्षेत्रको देखिएको छ ।’

विभागको तथ्याङ्क अनुसार १५.७ प्रतिशतको योगदानसहित प्रदेश १, दोस्रो स्थानमा छ । त्यस्तै १४.१ प्रतिशतसहित लुम्बिनी प्रदेश तेस्रो र १३.२ प्रतिशतसहित मधेस प्रदेश चौथो स्थानमा रहन सफल भएको छ । कुल ग्राहस्थ्य योगदानमा ८.९ प्रतिशतको योगदान दिएको गण्डकी प्रदेश पाँचौँ स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेश ७.० प्रतिशतसहित छैटौं र कर्णाली प्रदेश ४.१ प्रतिशतसहित सातौं स्थानमा रहेको विभागले जनाएको छ । क्रमशः अघिल्लो आर्थिक वर्षमा वागमतीको ३७.७ प्रतिशत, प्रदेश १ को १५.६ प्रतिशत, गण्डकी प्रदेशको ८.७ प्रतिशत, लुम्बिनी प्रेदेशको १४.० प्रतिशत, मधेस प्रदेशको १३.२ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ६.९ प्रतिशत र कर्णाली प्रदेशको ४.० प्रतिशत रहेको थियो । यसअघि विभागले चालु आर्थिक वर्षका लागि अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गरिसकेको छ । प्रदेश स्तरीय आर्थिक वृद्धिदरमा पनि चालु आर्थिक वर्ष वागमती प्रदेशको ६.७ प्रतिशत, गण्डकी प्रदेशको ६.१७ प्रतिशत, लुम्बिनी प्रदेशको ५.३६ प्रतिशत, कर्णाली प्रदेशको ५.४६ प्रतिशत, प्रदेश १ को ५.४१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.९३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको ६ महिनादेखि ९ महिनाको आर्थिक गतिविधि, प्रशासनिक तथ्याङ्क लगायत मुख्य १८ वटा सूचकहरुलाई आधार मानेर कुल गार्हस्थ्य उत्पादन प्रदेश तहको योगदान र आर्थिक वृद्धिदरको तथ्याङ्क सार्वजनिक गरेको बताएको छ ।  आर्थिक वर्ष २०६७÷६८ लाई आधार वर्ष मानेर तथ्याङ्क मापन गरिएको विभागले बताएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved