अमेरिकी डलर किन यति बलियो भएको हो, यसले नेपाललाई कसरी प्रभाव पार्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 07:05:13 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वका प्रमुख मुद्राहरूसँग तुलना गर्दा अमेरिकी डलर दुई दशकयताकै शक्तिशाली स्थानमा पुगेको छ। यसको अर्थ डलर खरिद गर्नु अझ महँगो बनेको छ र डलर दिँदा पहिलाको भन्दा बढी पाउन्ड, युरो र येन आउने भएको छ। यसले विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई असर पार्नेछ।

डलर कति बलियो बनेको छ?

अमेरिकी डलरको सामर्थ्य युरो, पाउन्ड र येनसहित छ प्रमुख मुद्रासँग तुलना गर्ने द डलर इन्डेक्स (डीएक्सवाई) सन् २०२२ मा १५ प्रतिशतले बढेको छ। यो मापनका आधारमा डलर २० वर्षयताकै उच्च बिन्दुमा छ।

डलर किन यति बलियो भएको हो?

अमेरिकी केन्द्रीय ब्याङ्कले यो वर्ष बढ्दो मूल्यवृद्धिसँग जुध्न पटकपटक ब्याजदर वृद्धि गरिरहेको छ। त्यसले कर्जा लिन झन् महँगो पारेको छ। यसको अर्थ अमेरिकी सरकारी 'बन्ड' जस्ता आर्थिक औजारबाट थप नाफा कमाउने अवस्था छ जसले त्यसतर्फ लगानीकर्ताहरूलाई आकर्षित गरिरहेको छ।

बन्ड सरकारले कर्जा सङ्कलन गर्ने एक किसिमको ऋणपत्र हो जसमा भविष्यमा ब्याज दिने प्रतिबद्धता जनाइएको हुन्छ। उक्त लगानीलाई ज्यादै सुरक्षित ठानिन्छ।  सन् २०२२ को जुलाईमा मात्रै विदेशी लगानीकर्ताहरूले १०.२ अर्ब अमेरिकी सरकारी बन्ड खरिद गरेका थिए। अहिले ७५ खर्ब डलर बराबरको बन्डमा उनीहरूको स्वामित्व छ।

लगानीकर्ताहरूले यी बन्ड किन्न डलर खरिद गर्नुपर्ने हुन्छ र त्यसको मागले डलरको मूल्य समेत बढाउँछ। जब लगानीकर्ताहरूले अरू मुद्रा बेचेर डलर किन्छन् तब ती मुद्राको मूल्य घट्छ। यूकेको सरकारले ठूलो कर कटौतीको घोषणा गरेपछि डलरको तुलनामा पाउन्डको मूल्य घटेको छ। लगानीकर्ताहरू विश्वव्यापी अर्थतन्त्र दबावमा रहँदा डलर किन्न चाहन्छन् किनभने अमेरिकाको आकारका कारण डलरमा गरिएको 'सुरक्षित लगानी' हुने ठानिन्छ। त्यसले पनि मूल्यलाई बढाउँछ।

युरोप र एशियाका कैयौँ देशका अर्थतन्त्रहरू युक्रेनमा जारी युद्धका कारण अकासिएको ग्यासको मूल्यका कारण अप्ठेरोमा परेका छन्। बढ्दो ऊर्जाको मूल्यले अमेरिकामा त्यो स्तरमा असर परेको छैन। यद्यपि उसको अर्थतन्त्र विगत छ महिनामा सङ्कुचित बनेको छ। तर पनि व्यवसायहरूले मानिसलाई रोजगारीमा राखिरहेका छन् जसलाई एउटा विश्वासको वातावरणको सङ्केतका रूपमा लिइएको छ। तर डलर बलियो बनेका कारण बाँकी विश्वबाट पैसा आर्जन गरिरहेका एपल र स्टारबक्सजस्ता अमेरिकी फर्महरूले घाटा बेहोरिरहेका छन्। एसएन्डपी ५०० स्टक मार्केट इन्डेक्समा रहेका अमेरिकी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय कारोबारमा १०० अर्ब डलरको हानि हुनसक्ने ठानिएको छ।

कमजोर मुद्रा भएका देशलाई बलियो डलरले कसरी असर पार्छ?

कमजोर मुद्रा भएका देशहरूलाई बलियो डलरबाट लाभ हुनसक्छ किनभने यसले उनीहरूले अमेरिकालाई बिक्री गर्ने वस्तु र सेवाहरू त्यहाँको बजारमा सस्तो हुन्छ जसले गर्दा निर्यात बढ्छ। तर त्यतैबाट आयात गर्ने सामग्रीहरू थप महँगो हुन्छन्।

तेलको कारोबार अमेरिकी डलरमा गरिने भएकाले विश्वका धेरै देशहरूमा पेट्रोलको मूल्य बढेको छ। उदाहरणका लागि, केन्यामा त्यहाँको स्थानीय मुद्रा शिलिङ कीर्तिमानी स्तरमा डलरको तुलनामा घटेको छ। त्यहाँ सन् २०२२ को सुरुयता डलरको मूल्य करिब ४० प्रतिशतले बढेको छ।

धेरै देशका सरकार र व्यापारिक कम्पनीहरूले आफ्नै देशको मुद्राभन्दा डलरमा बढी ऋण लिन्छन् किनभने डलर बढी स्थिर हुन्छ। डलरको मूल्य बढेको समय स्थानीय मुद्राबाट ती कर्जाहरू तिर्न अझ महँगो पर्न जान्छ। विशेषगरी आर्जेन्टिनाको सरकार बलियो डलरका कारण नराम्रोसँग प्रभावित भएको पाइन्छ। आफ्नो विदेशी मुद्रा सञ्चिति रक्षा गर्नका लागि उसले अस्थायी रूपमा आयातित वस्तुहरू जस्तै ह्विस्की र विलासी पानीजहाजको आयात रोकेको छ।

डलर घर पठाउने कामदारलाई के फाइदा?

प्रत्येक वर्ष आप्रवासी कामदारहरूले आफ्ना परिवारलाई ६२५ अर्ब डलर पठाउँछन्। यी विप्रेषण स्थानीय अर्थतन्त्रका लागि महत्त्वपूर्ण हुनसक्छ। 

अमेरिकाबाट मात्रै विदेशी कामदारहरूले १५० अर्ब डलर प्रत्येक वर्ष पठाउँछन्। त्यसमा ३० अर्ब डलरभन्दा बढी मेक्सिको, १६ अर्ब डलर चीन, ११ अर्ब डलर भारत र ११ अर्ब डलर फिलिपिन्स पर्छ। जति बलियो अमेरिकी डलर हुन्छ त्यति नै बढी उसले अरू मुद्रा खरिद गर्न सक्छ। यसले डलरमा आधारित रेमिट्यान्स प्राप्त गर्ने व्यक्तिहरूलाई फाइदा हुन्छ।

बर्नाडेट क्रूज आफ्ना तीन छोरासहित फिलिपिन्सको सान होजे सहरमा बस्छिन्। न्यूयोर्कमा १८ वर्षदेखि नर्सका रूपमा काम गरिरहेका उनका श्रीमान् फ्रेडले पठाउने रकममा उनको परिवार आश्रित रहेको छ।

फिलिपिन्सको स्थानीय मुद्रा पेसोको तुलनामा डलरको मूल्य १३.५ प्रतिशतले वृद्धि भएको छ। "फिलिपिन्समा खानेकुरा र अन्य सेवामूलक सबै वस्तुको मूल्य बढिरहेको छ। तर बढेको डलरको मूल्यले हामीलाई चाहिएका वस्तु किन्न मलाई ज्यादै सजिलो भइरहेको छ। थप आम्दानीले बाहिर बसेर मेरा पतिले गरिरहेको त्यागलाई ठिकै जस्तो बनाएको छ।"

बलियो डलरलाई लिएर विभिन्न देशले के गर्दछन्?

विश्वका धेरै देशहरुले आफ्नो देशको मुद्राको मूल्य वृद्धि गर्ने प्रयासमा ब्याजदरमा वृद्धि गरिरहेका छन्। अर्जेन्टिनाले प्रमुख ब्याजदर ६९.५ प्रतिशत कायम गरेको छ। घानामा त्यो १९ प्रतिशत छ भने नाइजिरियामा १४ प्रतिशत र ब्रजिलमा १३.७५ प्रतिशत छ। तर उच्च ब्याजदरको अर्थ व्यवसायी र सर्वसाधारण मानिसलाई कर्जा लिन थप महँगो भएको छ। कम्पनीहरू आफ्नो व्यवसाय विस्तार गर्न सङ्घर्ष गर्न सक्छन् र उनीहरूले आफ्ना कर्मचारीहरूलाई जागिरबाट निकाल्न सक्छन्। परिवारले खर्च कटौती गर्न सक्छन्। यसको परिणामस्वरूप अर्थतन्त्र मन्दीमा फस्न सक्छ। 

साभार : बीबीसी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved