
राष्ट्र बैंकले सरकारको चालु खाता २९ अर्ब ४७ करोडले घाटामा रहेको जनाएको छ । चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै राष्ट्र बैंकले समीक्षा अवधिमा चालु खाता रु.२९ अर्ब ४७ करोडले घाटामा रहेको जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५२ अर्ब १६ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.१ प्रतिशतले कमी आई रु.४ अर्ब ४३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७४ करोड ९४ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.५ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.११ अर्ब ३४ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.९७ अर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४१ अर्ब २३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति
२०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.० प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा रु.१३३७ अर्ब २९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ पुस मसान्तमा १२.० प्रतिशतले वृद्धि भई रु.११८३ अर्ब ३७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई रु.१५३ अर्ब ९१ करोड कायम भएको छ । २०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।
सञ्चिति पर्याप्तता सूचक
आर्थिक वर्ष २०७९/८० को छ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०७९ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.६ प्रतिशत, ७५.५ प्रतिशत र २३.४ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।