नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक अहिले चरम आर्थिक संकटमा फसेको र यो संकटबाट मुलुकलाई बाहिर निकाल्न नसक्ने हो भने राजनीतिक दलहरु ‘नालायक’ सावित हुने बताएका छन् ।
शनिबार हेटौंडामा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उपसभापति गुरुङले अहिले भोगिरहेको चरम आर्थिक संकटबाट मुलुकलाई बाहिर निकाल्न नसक्ने हो भने राजनीतिक दल र यीनका नेता नालायक सावित हुने बताएका हुन् ।
‘मुलुकले भोगिरहेको चरम आर्थिक संकटबाट बाहिर निकाल्न सकेनौं भने हामी नालायक हुनेछौं, नालायकहरुले देश चलाइरहनुपर्छ, सिंहदरबारमा गैरहनुपर्छ भन्ने मलाई लाग्दैन’, उनले भने ।
सरकारमा गएपछि काम गर्न सकिएन भन्ने छुट अरु पार्टीलाई भएपनि कांग्रेसबाट मन्त्री बन्नेहरुलाई त्यस्तो छुट नहुने उनको तर्क छ ।
कार्यक्रममा माला समेत लगाउन नमानेका उनले भने, ‘केही समयपछि शिक्षक साथीहरुले तलब पाउनुहुन्छ कि हुन्न मलाई थाहा छैन । गुरुले व्यवहाररुपी ज्ञान पनि दिनुपर्छ । बाहिरबाट आएका माला खादा लगाउदिन भन्ने प्रतिबद्धता गर्नुस् । आर्थिक संकट छ, फजुल खर्च गर्नुहुँदैन ।’