१६औँ योजनाको अवधारणापत्र पारित, १२ वटा रुपान्तरणकारी क्षेत्र पहिचान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2023 | 12:24:17 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आयोगले तयार पारेको १६औँ योजनाको अवधारणापत्र पारित गरेको छ । प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बुधबार बसेको बैठकले अवधारणापत्र पारित गरेको हो।

‘सुशासन, सामाजिक न्याय र समृद्धि’को सोच लिएको १६ औँ योजनाको मूल उद्देश्यहरु राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्नु, स्वास्थ्य, शिक्षा, रोजगारी, आवास लगायतका क्षेत्रमा सामाजिक न्याय स्थापित गर्नु र सामाजिक जीवन, आर्थिक विकास र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु रहेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले योजनाको पूर्ण दस्तावेजमा २०१३ सालदेखि बनेका आवधिक योजनाहरुको संक्षिप्त समीक्षा समावेश गर्न योजनालाई यथार्थपरक बनाउन साथै योजनाको आधारमा सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटको तर्जुमा प्रक्रियालाई सहभागितामूलक र व्यवहारिक बनाउन निर्देशन दिएका छन्  

१५औँ योजनामा अर्थतन्त्रलाई उत्पादनमूखी, रोजगारमूलक र आत्मनिर्भर बनाई संरचनात्मक परिवर्तन गर्नेतर्फ उन्मुख गराउने अभिप्राय रहेता पनि कोभिड–१९ महामारी, बेमौसमी प्रकोप र अन्तर्राष्ट्रिय परिघटनाका कारण लक्ष्य हासिल गर्न नसकेको अवस्था छ । १६ औँ योजनाले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिने भएकाले तोकिएको लक्ष्य हासिल हुनसक्ने र सबैले बुझ्न सक्ने गरी तर्जुमा गरिने आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले बताए ।

विकास प्रयासमा देखिएका संरचनात्मक अवरोधहरुको पहिचान, सम्वोधन र निराकरण गर्दै संरचनात्मक रुपान्तरणमार्फत सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने, योजनाको कार्यान्वयन सम्बन्धमासंघ, प्रदेश र स्थानीय तह तथा सरकारी, निजी, सहकारी, गैर सरकारी संस्था, विकास साझोदार साथै अन्य सरोकारवाला निकायहरुबीचको अन्तरसम्बन्ध र कार्यात्मक क्षमतालाई मजबुद तुल्याउने साथै अध्ययन, अनुसन्धान तथा तथ्यमा आधारित रहेर नीति निर्माण एवम् विकासका प्रयास गर्ने १६औँ योजनाको समष्टिगत रणनीति रहेका छन् । 

यो आधारपत्रले १२ वटा रुपान्तरणकारी क्षेत्रहरु पहिचान गरेको छ। जसमध्ये समिष्टगत आर्थिक आधारहरुको सबलीकरण, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित समावेशी रोजगारीका अवसरको सिर्जना, मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजना, गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणाली, गुणस्तरीय पूर्वाधार र व्यवस्थित शहरीकरण, सामाजिक सशक्तिकरण, समावेशीकरण र सामाजिक सुरक्षा लगायत १६औँ योजनाको संरचनात्मक रुपान्तरणका क्षेत्रहरु रहेका छन् । साथै संरचनात्मक रुपान्तरणका क्षेत्रहरुमा अवाञ्छित तथा अनौपचारिक कारोबारको नियन्त्रण, विनियोजन कुशलता तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि, वातावरण संरक्षण, जैविक विविधता तथा विपदको व्यवस्थापन दिगो विकास र सुशासन प्रवद्र्धन तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह रहेका छन् ।

२०८० माघ मसान्तसम्म १६औँ योजनाका पूर्ण दस्तावेज स्वीकृति गरी प्रकाशन गर्ने  र सोही योजनाको आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि मार्गदर्शन गर्ने गरी आयोगको तयारी रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved