'न्युरोडको म:म पसल र सुनसान सटर : अर्थतन्त्र भड्खालोमा गएको प्रमाण'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 05:37:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अघिल्लो वर्षसम्म दशैंको बेला सामान बिक्री गर्नलाई बिक्रेताका परिवारका सबै सदस्य पसलमा बस्नुपर्ने अवस्था थियो। तर अहिले तिनै पसलमा 'बोहनी' समेत हुन छाडेको छ।

प्रविधि तथा खर्च गर्ने शैलीमा आएको परिवर्तनका कारण व्यवसाय नभएको भन्ने हो भनेपनि यसको असर देशका केहि ठाउँमा र केहि व्यवसायमा देखिनु पर्थ्यो तर अवस्था त्यस्तो छैन। काठमाण्डौ होस् वा काठमाण्डौ बाहिरका ठूला तथा साना शहर हुन्, सबैको भोगाइ करिब करिब उस्तै छ, 'दशैं जस्तो चाडमा पनि बोहनी समेत हुन छाड्यो।'

 पूर्व मेची देखि पश्चिम महाकालीका साना मझौला तथा ठूला व्यवसायीको यो 'हबिगत' मान्न भने प्रचण्ड नेतृत्त्वको वर्तमान सरकार कुनै हालतमा तयार देखिदैन। बरु उल्टै सत्ताको बागडोर सम्हालेका पुष्प कमल दाहाल र उनका मन्त्री तथा मुख्य प्रशासक मात्र नभई उनी निकट व्यवसायीका नेताहरु अर्थतन्त्र सुधारको बाटोमा गएको बताउने गरेका छन्। सार्वजनिक कार्यक्रममा होस् वा संचारमाध्यमहरुलाई प्रतिकृया दिने क्रममा होस्, प्रधानमन्त्री र मन्त्री तथा मुख्य प्रशासकहरुले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको र आत्तिनु नपर्ने भन्दै ढाडस दिने गरेका छन्। 


व्यवसायीक गतिविधि मन्दीतर्फ गएकै कारण राजश्व नउठेर नेपालका बैंक तथा अन्तराष्ट्रिय दातृ निकायबाट ऋण लिएर कर्मचारी र आफुहरु पालिएको यथार्थलाई आँखा चिम्लिन खोजिएको छ ।  काठमाण्डौको महत्त्वपूर्ण व्यापारिक स्थल न्युरोड छिर्ने बित्तिकैको गेटमै रहेको मम पसल र त्यहाँको सुनसान सटर देख्ने जो कोहि पनि राज्यसत्ता संचालकहरुको भनाईलाई मान्न तयार हुँदैन। 

आउने पुस्ताले शिर ठाडो गर्नै नसक्नेगरि ऋण लिएर चिल्ला गाडी, आलिशान महल, सुकिला मुकिला कपडा, विदेशका महँगा रक्सि र स्वदेश तथा विदेश भ्रमणको खर्च जुटाएको वर्तमान सरकार र कर्मचारीका हाकिमलाई न्युरोडको गेटमा भएको मम पसल र त्यहाँको सुनसान सटरले केहि फरक नपर्ला, र फरक परेको पनि छैन। तर नेपालको राज्यसत्तालाई शिर्षकपिच्छेको कर र कमिसन बुझाएर भएपनि आफु र आफ्नो परिवार पाल्नका लागि बर्षौदेखि ब्यापार व्यवसाय गरिरहेकाहरुलाई पनि न्युरोडको अहिलेको दृश्यले मन पोल्ने होइन, एक पटक भक्कानो नै छुटेर आउँछ। 


न्युरोडको त्यो महत्त्वपूर्ण व्यापारिक स्थलका ति सटर लिनलाई केहि अघिल्लो वर्षसम्म लाखौँ रुपैयाँ 'सलामी' बुझाउनुपर्ने अवस्था थियो। मानिसहरु लाखौँ रुपैयाँ 'सलामी' तिरेर न्युरोडको शान हुनेगरि महँगा महँगा कपडा, गरगहना तथा अन्य सामान बिक्रि गर्थे। तर अहिले त्यो सटर लिनलाई लाखौँ रुपैयाँ सलामी होइन, भाडामा मात्रै भएपनि सटर लागे हुन्थ्यो भन्ने अवस्था आएको छ। त्यहि भएर पनि हिजोका त्यहाँका महँगा पसल विस्थापित भएर अहिले त्यो ठाउँ डेढ सयमा एक प्लेट पाइने ममले ओगटेको छ। 

न्युरोड छिर्ने बित्तिकैको पहिलो सटरमा मम पसल हुनु नराम्रो पक्कै होइन तर देशकै शान बोकेको न्युरोड जस्तो ठाउँमा यो अवस्था सृजना हुनु भनेको देश भड्खालोमा गएको संकेत भएको त्यहाँका स्थानीय बताउँछन्। 


उनीहरु  भन्छन्, 'हिजो त्यो सटर लिनलाई 'सलामी' कै ४० लाख तिर्नुपर्थ्यो भने महिनामा लाखौं भाडा तिर्नुपर्थ्यो, त्यो लागत उठाउनलाई पनि महँगा सामान त्यो सटरमा हुन्थे तर अहिले सबै व्यवसाय बन्द गरेर हिँडेका छन्, त्यहि भएर त्यो सटर पनि सस्तोमा आएको छ र सस्तै चिज बिक्रि भएको छ, न्युरोडबाट व्यवसायी पलायन हुँदै जाने अवस्था यस्तै रह्यो भने केहि महिनामा त्यो मम पसल पनि बन्द हुन्छ।'

विभिन्न बैंकका न्युरोड शाखाका कर्मचारी  पनि न्युरोडको अहिलेको अवस्था देखेर हैरान छन्। उनीहरु भन्छन्, 'अघिल्लो दशैंमा भिडभाड बाक्लो हुन्थ्यो, राति अबेरसम्म यहाँ खुट्टा राख्ने ठाउँ हुन्थेन, हाम्रो शाखामा आउने कर्मचारी र एटिएमबाट पैसा झिक्नेको ताँती हुन्थ्यो तर क्यु आर कोड र अनलाइनबाट तिर्ने भएकाले बैंकमा आवत जावत कम भएको भन्ने हो भने पनि पसलमा र सडकबाट भिड त हुनुपर्थ्यो। तर त्यस्तो केहि छैन , अहिले त न्युरोड बेलुका ७ नबज्दै सुनसान हुन थालेको छ।'

ति कर्मचारी अगाडी थप्छन्, 'बरु न्युरोडको दृश्य पहिले भन्दा फरक देखेको छु, पहिला यहाँका रेष्टुरेन्ट र क्याफेमा दशैं जस्तो चाडपर्वमा खुट्टा राख्ने ठाउँ हुन्थेन तर अहिले यहाँका सस्तो खानेकुरा पाइने मम पसल र समोसा पसलमा बाक्लो भिड देखिन्छ, यसले मानिसहरुको आय आर्जन खुम्चिदै गएको संकेत गर्छ, र यो चरम आर्थिक मन्दीको प्रमाण हो।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved