चालू खाता र शोधनान्तर स्थिती दुवै बचतमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 04:23:11 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आवको दुई महिनामा चालु खाता २३ अर्ब ५० करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष समिक्ष अवधिमा चालु खाता घाटा ३६ अर्ब ८४ करोड घाटामा थियो ।

खुद  प्रत्यक्ष वैदेशिक  लगानी  ३  अर्बले धनात्मक रहेको छ । अघिल्लो  वर्षको  सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख ऋणात्मक रहेको थियो ।

एक मुलुकले अर्को मुलुकसँग मौद्रिक कारोबार गर्न सरकारसँग चालु, पुँजीगत र वित्तीय खाता रहेका हुन्छन । मुलुकको चालु आय र व्ययको विवरण देखाउने खाता नै चालु खाता हो । यो खातामा वस्तु आयात र निर्यात, सेवा आयात र निर्यात, रेमिट्यान्स सहितका रकम ट्रान्सफर भएको रकम सहित मुलुकलाई प्राप्त आय र व्यय दुबैको हिसाव राखिन्छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा रहेको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर  स्थिति  २०  अर्ब  ८१  करोडले  घाटामा  रहेको  थियो  । अमेरिकी  डलरमा  अघिल्लो  वर्षको  सोही अवधिमा १६ करोड ३४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा छ ।

नेपाल भित्रिने रकम र नेपालबाट बाहिरिने रकमबीचको अन्तर नै शोधनान्तर स्थिति हो । शोधनान्तर स्थिति बचतमा जानुको मतलव नेपालबाट बाहिरिने रकम भन्दा भित्रिने रकम बढी रहेको बुझिन्छ । 

रेमिट्यान्सको रकममा आएको वृद्धि र आयातमा कमी आउँदा यस्तो अवस्था आएको हो । साथै पर्यटनतर्फको आय पछिल्लो समय बढेर गएको छ  । शोधनान्तर स्थितिलाई भुक्तानी सन्तुलन समेत भनेर बुझिन्छ । यो व्यक्ति, उद्योगी व्यवसायी र सरकारले गर्ने सबै कारोबारको एकमुष्ट हिसाव हो ।

त्यस्तै समिक्षा अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि बढोत्तरी भएको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६  करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले बढेर भदौ मसान्तमा १५ खर्ब ९८ अर्ब ९० करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ । यसले १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved