नेपालको ज्याला प्रणालीलाई वैज्ञानिक बनाउन आवश्यक छः पूर्व अर्थमन्त्री पाण्डे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 09:32:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको ज्याला र पारिश्रमिक प्रणालीमा हेरफेर आवश्यक रहेको बताएका छन् । श्रमिकले पाउने ज्यालाको तुलनामा कृषि उपजको मूल्य निकै कम भएकाले उत्पादन सुहाउँदो ज्याला प्रणाली आवश्यक रहेको पूर्व अर्थमन्त्री पाण्डेले बताए ।

नेकपा एमाले रामेछाप काठमाडौँ सम्पर्क मञ्चको १२औँ सम्मेलन उद्घाटनका क्रममा उनले कामदारको ज्याला दक्ष भए प्रतिदिन ११ सय र अदक्ष भए प्रतिदिन ७९० रुपैयाँ रहेको स्मरण गर्दै यसको तुलनामा कृषि उत्पादनको मूल्य निकै कम भएको बताएका हुन् । 

‘ज्याला ११ सय छ, पूरै काम नजाने पनि एक दिन काम गरेबापत अदक्ष कामदारकै ज्याला ७९० रुपैयाँ छ, समग्र महँगीलाई हेर्ने हो भने अपुग नै देखिएला, तर हामी जस्तो कृषि प्रधान देशको यो प्रणाली वैज्ञानिक हुन सकेन भन्ने मेरो निष्कर्ष छ’ उनले भने, ‘दैनिक ज्याला अदक्ष नै भए पनि ७९० रुपैयाँ, अनि धानको भाउ एक पाथीको डेढ सय । अनि मान्छेले किन खेती गर्छ ? धान फलाएर कामदारको ज्याला पनि कभर हुँदैन भने खेतबारी बाँझो नभएर के हुन्छ ?’

उनले कृषि उपजको भाउ कम रहेको र ज्याला बढी भएकै कारण खेतबारी बाँझो भइरहेको समेत बताए । 

‘अन्त ज्यालादारीमा काम गरेर किनेर खान पुग्ने भइहाल्यो, अनि मान्छेले खेतबारी बाँझो राखेर जम्प गर्न थाल्यो, स्वदेशमै कृषि बाहेकका अन्य क्षेत्रमा जम्प गरेर बसेको भए ठिकै पनि हुन्थ्यो, तर विदेशतिर जम्प हान्यो’ पूर्व अर्थमन्त्री पाण्डेले भने, ‘ज्याला महँगो छ, आफूले उत्पादन गरेका धान मकैको भाउ छैन । अनि मान्छे खेतबारी बाँझो राख्न बाध्य भयो ।’

उनले ज्याला प्रणाली वैज्ञानिक नबनाएसम्म देश विकास नहुने समेत बताए ।

‘युरोपमा पनि कुनै समय ज्याला निकै कम थियो, आजको युरोप एकैपटक बनेको होइन’ पूर्व अर्थमन्त्री पाण्डेले भने, ‘युरोपमा कुनैबेला प्रतिघण्टा २ सेन्टमा काम लगाइन्थ्यो । विकास हुँदै गएपछि आम्दानी बढ्दै जान्छ, आम्दानी बढ्दै गएपछि ज्याला, पारिश्रमिक सबै बढ्दै जान्छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved