लगानी सम्मेलनमा प्रस्तुत गरिने १२८ परियोजना तय, २ खर्बका ४ प्रोजेक्टमा हुनेछ सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2024 | 03:18:34 PM मा प्रकाशित

laxmi  sunrise bank

बैशाख १६ र १७ गते हुन लागेको लगानी सम्मेलनमा निजी क्षेत्रका ७ सहित १२८ वटा परियोजनाहरू प्रस्तुत गरिने भएको छ । यीमध्ये सम्मेलनमै २ खर्ब ११ अर्ब रुपैयाँ बढी लागत बराबरका ४ वटा परियोजनाको विकासका लागि समझदारी पत्रमा हस्ताक्षर हुने लगानी सम्मेलन निर्देशक समितिका एक अधिकारीले बताए ।

७८६ मिलियन अमेरिकी डलर (१ खर्ब ४ अर्ब रुपैयाँ) को चीन नेपाल मैत्री औद्योगिक पार्क, ६४७ मिलियन अमेरिकी डलर (८५ अर्ब ८३ करोड रुपैयाँ) बराबरको माथिल्लो मस्र्याङ्गदी–२ जलविद्युत आयोजना र १५८.५ मिलियन डलर (२१ अर्ब ०२ करोड रुपैयाँ) बराबरको  कोहलपुर र वाणगङ्गा ४० मेगावाट क्षमताको सोलार परियोजनाको विकासका लागि समझदारी पत्रमा हस्ताक्षर हुने टुंगो लागेको छ । यी परियोजनाहरु सबै चिनियाँ लगानीका परियोजना छन् ।

डाबर नेपाल प्रा.लि.को ९ अर्ब ६८ करोड ७३ लाख ४२ हजार रुपैयाँ बराबरको क्षमता विकास सम्बन्धित सम्झौता हुने पनि पक्का भएको छ ।

यी ४ परियोजनाका सम्झौताका लागि आवश्यक कागजात तयार पार्ने काम अहिले लगानी बोर्डले गरिरहेको छ ।

यी हुन् लगानीकर्ता खोजी गरिने परियोजना

लगानी सम्मेलनमा ‘शो–केस’ गर्न लगानी बोर्डले निजी क्षेत्रका ७ सहित १२८ वटा परियोजनाको सूची तयार पारेको छ । यी १२८ परियोजनामा दैजी औद्योगिक क्षेत्र, शक्तिखोर औद्योगिक क्षेत्र, कर्णाली चिसापानी वायु उर्जा र पाँचखाल विशेष आर्थिक क्षेत्रलाई आशयपत्र आह्वान गरिने परियोजनाको सूचीमा राखिएको छ । 

यसैगरि ४ वटा ठूला जलाशययुक्त जलविद्युत परियोजनामा पनि लगानीकर्ता खोजिनेछ । लगानीका लागि सम्भाव्य देखिएका २१८ मेगावाटको नौमुरे बहुउद्देश्यीय परियोजना, १ हजार २१६ मेगावाटको खिम्ती ठोसे शिवालय जलाशययुक्त आयोजना, ६५० मेगावाटको कालीगण्डकी–२ जलविद्युत परियोजना र ३७७.१ मेगावाटको भारभुङ स्टोरेज जलविद्युत् आयोजनामा लगानीकर्ता खोजिनेछ । यी ४ परियोजना विद्युत विकास विभागले प्रस्ताव गरेका परियोजनाहरु हुन् ।

यस्तै, पोखरा अन्तराष्ट्रिय सम्मेलन केन्द्र, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग, खप्तड राष्ट्रिय निकुञ्ज एकीकृत विकास र सुदूरपश्चिम सार्वजनिक यातायात लगायतका परियोजना पनि प्रस्तुत गरिने लगानी बोर्डले जनाएको छ । 

‘प्रशारण लाइन र जलविद्युत आयोजना सम्बन्धी २ दर्जन परियोजनामा लगानीको घोषणा हुने अपेक्षा गरिएको छ’ लगानी सम्मेलन कार्यान्वयन समितिका एक जना अधिकारीले भने ।

विद्युत र प्रशारण लाइनबाहेक हरेक प्रदेश राजधानीमा सरकारी कर्मचारीको आवासका लागि अपार्टमेन्ट बनाउने प्रस्ताव पनि प्रस्तुत गर्ने तयारी छ । यस्तै, देशका विभिन्न भेगमा पहिचान गरिएका फलाम खानी, तामा खानी र चून ढुङ्गा खानी सम्बन्धी परियोजनामा समेत लगानी भित्र्याउन कसरत गरिने बताइएको छ ।

निजी क्षेत्रले लगानी सम्मेलनमा प्रस्तुत गर्न पहिचान गरेका परियोजनामा सिक्लेस अन्नपूर्ण केबलकार र जाल्पादेवी केबलकार छन् । साथै, आईएमई सिमेन्ट पनि छ ।

लगानी सम्मेलनलाई लक्षित गरेर उद्योग मन्त्रालयले १० वटा कानुन र २ वटा नियमावली संशोधन गर्ने प्रक्रिया पनि अघि बढाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved