पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 04:10:11 PM मा प्रकाशित

laxmi  sunrise bank

पाटन मल्टिपल क्याम्पसको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन बिहीबार सुरु भएको छ । ललितपुरस्थित पाटन मल्टिपल क्याम्पसको आयोजनामा सुरु ‘फस्र्ट इन्टरनेसनल कन्फरेन्स अन इकोनोमिक्स, २०२४’ (एफआईसीई २०२४) शुक्रबारसम्म चल्नेछ ।

क्याम्पसको अर्थशास्त्र विभागको नेतृत्वमा आयोजित सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, सिंगापुर र मलेसियाका प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता छ । अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएको छ । विकासको सवालमा नवीन सोच र तयारी तथा नविन ज्ञान आर्जन र त्यस्तो ज्ञान साटासाट गर्ने उद्देश्यले सम्मेलन गरिएको विभागका प्रमुख डा. रघुवीर विष्टले बताए ।

सम्मेलनको मुख्य विषय ‘न्यु इमर्जिङ डाइनामिक्स अन इकोनोमिक्स’ रहेको छ । जुन विषय वस्तुमा तयार कुल ३८ रिसर्च पेपर ११ प्राविधिक सत्रमा प्रश्तुत हुँदैछन् । पहिलो दिन ६ सत्र सम्पन्न हुनेछ । सम्मेलनमा २ विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र ५ विज्ञ सम्मिलित १ प्यानल छलफल हुँदैछ । सम्मेलनमा कुल १५० जनाको सहभागिता रहनेछ ।

सम्मेलनले विकासका नयाँ मुद्दामाथि छलफलमार्फत् ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीतिनिर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको विष्टले बताए । ‘विकासको एजेण्डालाई नवसिर्जित मुद्दासँग अंगिकार गर्दै अर्थतन्त्र बिस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको खोजि सम्मेलनले गर्नेछ,’ विष्टले भने ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौं, पोखरा र सुदूरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्वविद्यालयका विभिन्न आंगिक तथा सम्बन्धन क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहेको छ ।

सम्मेलन उद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालयका रेक्टर डा. भार्गव धिताल, मानविकी तथा सामाजिक विज्ञान संकायकी डिन डा. कुसुम शाक्य तथा पाटन मल्टिपल क्याम्पस प्रमुख डा. लक्ष्मण सिंह कुँवरको उपस्थिति थियो । उनीहरुले सम्मेलनको लक्ष्य हासिल हुने शुभकामना व्यक्त गरे । 

रेक्टर धितालले आर्थिक सुस्तता, तरलता समस्या तथा आन्तरिक उत्पादनमा गिरावट जस्ता चुनौती सम्बोधन गर्न यस्तो सम्मेलन आवश्यक रहेको बताए । 

डिन शाक्यले नेपालको वर्तमान आर्थिक परिदृष्यमाथि चर्चा गर्दै अर्थतन्त्रको गतिशिलता बुझेर अतिकम विकसित मुलुकबाट विकासशील तथा मध्यम आय भएको मुलुक बन्दाखेरिको संक्रमणकालीन स्थितिलाई सम्बोधन गर्ने उपाय खोजिनुपर्ने चर्चा गरिन् ।

क्याम्पस प्रमुख कुँवरले भुरानीतिक सन्तुलनमार्फत् आर्थिक वृद्धि हासिल गर्दाका जटिलता केलाउनुपर्ने आवश्यकता औंल्याए । प्रमुख कुँवरले भने, ‘एमसीसी र बीआरआई कार्यान्वयन गर्दा संयमता अपनाइ सन्तुलित आर्थिक वृद्धिको नीति अंगिकार गर्नुपर्छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved