त्रिविमा अराजकता : एक वर्षदेखि ताला लाउने र फोड्ने सिलसिला, प्रधानमन्त्रीको रहस्यमयी मौनता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2022 | 10:51:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सराकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले ६ दशक भन्दा बढीको यात्रा पार गरिसकेको नेपालकै जेठो त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेर राखेको छ ।

त्रिविलाई बन्धक बनाएर राख्ने नेविसंघकै कार्यकर्ताहरूले २०७७ असोज २० गते उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गरेका थिए । नेविसंघले वर्षमा ३ सय भन्दा बढी दिन लगाएको तालाबन्दी खोल्न कूलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उदासीन देखिन्छन् ।

आफ्नै पार्टीको भातृसंगठनले त्रिविमा गरेको आराजक क्रियाकलापमाथि नियन्त्रण गर्न सरकारको नेतृत्व गरेका शेरबहादुर देउवासमेत चुप रहनुलाई शिक्षाविदहरूले अनौठो मानिरहेका छन् । त्रिविको समस्या समाधान गर्न नसकेको भन्दै प्रधानमन्त्री देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेलको आलोचनासमेत भइरहेको छ ।

यो विषय सोमवार बसेको प्रतिनिधि सभा बैठकमा पनि उठेको थियो । नेकपा एमालेका संसद प्रदीप ज्ञवालीले त्रिविमा देखिएको समस्या समाधानका लागि सभामुख अग्निप्रसाद सापकोटासमक्ष रुलिङको माग गरेका थिए ।

सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयको समस्यालाई शीघ्र समाधान गर्न सरकारलाई निर्देशन दिए ।

'त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दीलगायतका विरोध कार्यक्रमले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ । सभाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु,' उनले भने ।

यही घटनालाई लिएर त्रिविका पदाधिकारीहरूले आफूलाई अतिरिक्त सुरक्षा माग गर्दै विज्ञप्तिसमेत जारी गरेका छन् ।

'विश्वविद्यालयलाई नै बन्धक बनाउने गरी तालाबन्दी गर्ने समूहको खोजी गरी त्यस्ता व्यक्तिहरूलाई आवश्यक कारवाही गर्नुको अतिरिक्त त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिनुहुन नेपाल सरकार गृह मन्त्रालयसमक्ष अपील गर्दछौं,' विज्ञप्तिमा भनिएको छ ।

तर त्रिविमा देखिएको समस्या समाधानका लागि आफूले पहल गरिरहेको शिक्षामन्त्री पौडेलको दाबी छ । शुक्रवार ‘उच्च शिक्षा सुधार, सम्भावना र चुनौती’बारे त्रिभुवन विश्वविद्यालय र त्यस अन्तर्गतका क्याम्पस प्रमुखहरुसँगको छलफलमा मन्त्री पौडेलले भनेका थिए 'हामीले हल गर्न सक्ने कुराहरू हामी मिलेर हल गरौं अरुलाई आरोप प्रत्यारोप लगाउने काम बन्द गरौं ।’

उनले थपे, 'त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी हुनु राम्रो पक्ष होइन, प्रधानमन्त्रीले पनि विश्वविद्यालयमा लगाइने तालाबन्दी सधैका लागि अन्त्य गरिनुपर्ने बताउँदै आउनुभएको छ । समस्याको समाधान तालाबन्दी होइन, वार्तामार्फत टुंग्याउँ नभए बल प्रयोग गरेर भएपनि तालाबन्दी खुलाउँ ।'

उक्त छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकूलपति धर्मकान्त बास्कोटाले त्रिविमा राजनीतिक खिचातानी बढेको र विश्वविद्यालय बिग्रदै गएकोमा चिन्ता व्यक्त गरे । 'एउटा क्याम्पस प्रमुख नियुक्ति गर्दा १० ठाउँबाट नेताको फोन आउँछ,' बास्कोटाको आक्रोश थियो, 'कसरी विश्वविद्यालय स्वायत्त हुन्छ ? कसरी सुर्धिन्छ ?'

बास्कोटाले एउटै विद्यार्थी १०/१५ वर्षदेखि विश्वविद्यालयमा नाराबाजी र तालाबन्दीको नेतृत्व कुन स्वार्थका कारण गरिरहेको छ भन्दै प्रश्न पनि गरे ।

छलफलमा अन्य क्याम्पस प्रमुखहरूले क्याम्पस जाँदा युद्धमैदान गएजस्तो अनुभव भएको सुनाए । उनीहरूले क्याम्पसमा चरम राजनीति भएकै कारण आफूहरू असुरक्षित भएको गुनासो शिक्षामन्त्रीसमक्ष गरेका थिए ।

आइतवार त्रिविमा लगाइएको ताला एमालेनिकट अनेरास्ववियु तोडेको थियो । अनेरास्ववियुले स्थानीयसँगको सक्रियतामा त्रिविमा महिनौँ पहिलेदेखि लगाइएको ताला तोडेपनि केहीबेरमै पुनः नेविसंघले अर्को ताला लगायो ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आफ्नो संगठनले राखेका माग सम्बोधन नभएसम्म ताला नखोल्ने अडान लिँदै आएका छन् ।

यसअघि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले त्रिविमा लगाइएको ताला तोडेको थियो । ताला तोडेकै भोलिपल्ट नेविसंघले पुनः लगाएको थियो ।

त्रिविमा २०७७ असोज २० गते नेविसंघमा आबद्ध कांग्रेस कार्यकर्ताहरूले उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेदेखि अराजकता शुरू भएको हो । नेविसंघका कार्यकर्तालाई कारवाही गर्नुपर्ने माग त्यतिबेलैदेखि उठेको हो ।

पछिल्लो समय नेविसंघले परीक्षामा प्रश्नपत्र दोहोरिएको विषयलाई जोडतोडले उठाइरहेको छ । प्रत्येकजसो दिन हुने नेविसँगको प्रदर्शनमा सहभागी विद्यार्थीले प्रश्नपत्रमाथि लापरबाही गर्नेलाई कारबाही र छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । 

आक्रमणकारीमाथि लगाइएको मुद्दा महान्यायाधीवक्ता कार्यालयले फिर्ता गर्नका लागि सिफारिस गरेको आरोप एमाले र भातृसंगठन अनेरास्ववियूले लगाएको छ ।

नेकपा माओवादी केन्द्रनिकट भातृसंगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विश्वविद्यालयमा भइरहेको अराजकताबारे आफूहरू पनि चुप नबस्ने बताइन् ।

उनले बिजपाटीसँग भनिन्, 'विश्वविद्यालयमा देखिएको अराजकताले समग्र शैक्षिक क्षेत्रमै नकारात्मक प्रभाव पारेकोप्रति हामी चुप बसेका छैनौं । अब केहीदिनमा हामीले विश्वविद्यालय बचाउ अभियानसँगै नयाँ कार्यक्रम लिएर अघि आउँछौं । प्रशासनसँग विद्यार्थीको अलिअलि मतभेद हुने भएपनि विश्वविद्यालय नै धरासायी हुने गरी अराजकता मच्चाउनु राम्रो होइन ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved