केही दिनयता नेपालको कन्सल्टेन्सी बजारमा 'होराइजन' नामक रिपोर्टको प्रतिवेदनले तरङ्ग ल्याएको छ। उक्त प्रतिवेदनमा नेपालका केहि कन्सल्टेन्सी व्यवसायीमाथि गम्भीर आरोप लगाइएकाले नेपालको कन्सल्टेन्सी बजार तरंगित बनेको हो।
उक्त रिपोर्टमा नेपालका कन्सल्टेन्सी व्यवसायीहरुले विद्यार्थीको भिसा आवेदन दिदा शंकास्पद कागजात पेश गरेको, नक्कली कागजात पेश गरेको, नेपाल सरकारको करछली गरेको, नेपाल राष्ट्र बैंकलाई झुक्याएको, नक्कली एनओसी बनाएको लगायतजा गम्भीर आरोप लगाइएको छ।
त्यतिमात्र नभई उदाउँदा तथा नाम चलेका कन्सल्टेन्सी व्यवसायीको नाम नै तोकेर उनीहरुमाथि गम्भीर प्रकृतिका आरोप लगाईएपछि सबैको ध्यान खिचिएको हो। नेपालका केहि संचारमाध्यमले 'होराइजन' नाम गरेको उक्त रिपोर्टमा उल्लेख बिषयलाई 'आधिकारिक' नै ठानेर समाचार बनाएपछि नेपालको कन्सल्टेन्सी बजार थप तरंगित बनेको हो।
उक्त रिपोर्टले केहि कन्सल्टेन्सी व्यवसायीको नाम नै तोकेर उनीहरुमाथि गम्भीर आरोप लगाएको विषयलाई एकाध मिडियाले समाचार नै बनाए। जस कारण ती मिडिया विरुद्द अहिले नियामक प्रेस काउन्सिलमा उजुरी परेको छ व्यवसायीहरु अदालतसम्म पनि पुगेका छन्।
तर 'होराइजन रिसर्च' नाममा अष्ट्रेलियामा दर्ता भई ‘होराइजन रिसर्च कन्फिडेन्सियल इन्फरमेशन’ नाममा छापिएको भनिएको उक्त रिपोर्ट नक्कली भएको पाइएको छ। यस रिपोर्टलाई आधार बनाएर केहि मिडियाले केहि कन्सल्टेन्सी व्यवसायीमाथि प्रतिशोध नै साधेर समाचार बनाएपछि खोजिएको आधिकारिकतामा उक्त रिपोर्ट नक्कली भएको पाइएको हो।
आफुहरु 'होराइजन रिसर्च पब्लिसिंङ' भएको र आफ्नो सँस्था अमेरिकाबाट मात्रै संचालित रहेको बताउदै होराइजन अमेरिकाले उक्त रिपोर्ट नक्कली भएको जवाफ बिजपाटीलाई समेत पठाएको छ। यसका जर्नल म्यानेजर अस्टिन स्कटले बिजपाटीलाई लेखेका छन्, 'हामी होराइजन रिसर्च पब्लिसिंङ, अमेरिका हौं, होरिजन रिसर्च होइन, हाम्रो कुनै शाखा छैन।'
सक्कली होराइजनले आफुहरुले नेपाली बजारमा नेपालका केहि मिडियाले छापे जस्तो प्रतिवेदन ननिकालेको र आफुहरु अष्ट्रेलियामा नरहेको जवाफ दिएपछि नक्कली 'होराइजन' को फन्डा कसले किन चलायो भन्ने प्रश्न उब्जिएको छ। त्यसो त अस्ट्रेलियाको न्यू साउथ वेल्सस्थित महावाणिज्य दूतावासको वाणिज्यदूत छनौट हुने प्रकृयालाई प्रभावित बनाउन यो काण्ड जन्माइएको बजार चर्चा छ। वाणिज्यदूत बन्नबाट रोक्नका लागि आकांक्षीहरुले नै ‘होराइजन रिसर्च रिपोर्ट’ को नक्कली फण्डा चलाएको अनुमान छ। वाणिज्यदूतका लागि १३ जनाले आवेदन दिएकोमा एक जना मात्र छनोट हुनेछन्।