काठमाडौं महानगरमा केशव स्थापित र सृजना सिंहको भीडन्त, यस्तो छ दुवैको राजनीतिक पृष्ठभूमि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 04:06:25 PM मा प्रकाशित

laxmi  sunrise bank

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन सोमवार हो । काठमाडौंलगायत सबै ६ महानगर र त्यहाँ उम्मेदवारी दिएका पात्रहरू यतिबेला चर्चामा छन् । 

काठमाडौं महानगरमा सत्तारूढ गठबन्धनका तर्फबाट सृजना सिंहले उम्मेदवारी दिएकी छन् भने एमालेका तर्फबाट यसअघि महानगरकै मेयर बनेका केशव स्थापितले उम्मेदवारी दिएका छन् । स्थापितको राजनीतिक पृष्ठभूमि कमजोर छ तर व्यक्तित्व बलियो छ । सिंहको भने पारिवारिक राजनीतिक पृष्ठभूमि बलियो छ भने राजनीतिमा कम सक्रिय उम्मेदवार हुन् । 

स्थापित २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा काठमाडौंकै मेयर बनेका हुन् । त्यतिबेलै उनको आक्रामक छवी थियो । स्थापित पटक-पटक विवादमा पनि तानिने गरेका छन् । 

सिंह र स्थापित दुवैले धेरै मतान्तरले काठमाडौंको मेयर जित्ने बताउने गरेका छन् । शक्तिशाली राजनीतिक पृष्ठभूमिकी सिंह लौहपुरुष गणेशमान सिंहकी बुहारी र प्रकाशमान सिंहकी पत्नी हुन् । चौधौं महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुरलाई सहयोग गरेका प्रकाशमानको गुन तिर्न उनकी पत्नी सिर्जनालाई काठमाडौंको मेयर उम्मेदवार बनाइएको चर्चा यदाकदा चल्न थालेको छ । 

दुवै उम्मेदवारको पृष्ठभूमिबारे विस्तृत चर्चा गर्नुभन्दा पहिला २०७४ सालको निर्वाचनका आधारमा आधारमा काठमाडौं महानगरपालिकाको मतविश्लेषण गरौँ । 

काठमाडौंको मत विश्लेषण 

२०७४ सालको स्थानीय निर्वाचनमा एमालेले विद्यासुन्दर शाक्यलाई उठाएको थियो र जित हासिल गरेको थियो । शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएका थिए । त्यतिबेला कांग्रेसको तर्फबाट उम्मेदवार बनेका राजुराज जोशीले ४५ हजार २ सय ६९ मात्र मत ल्याउन सके । त्यतिबेला काठमाडौंमा एमाले र राप्रपाबीच गठबन्धन बनेको थियो । 

उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी हुँदा राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याएका थिए । माओवादी उम्मेदवार सर्वोत्तम डंगोलले मेयरमा ७ हजार ९ सय ६ मत ल्याएका थिए ।

अघिल्लो चुनावमा विवेकशीलकी रन्जु दर्शना र साझा पार्टीका तर्फबाट मेयर लडेका किशोर थापाको कूल मत ४२ हजार थियो । अहिले स्वतन्त्र रूपमा उठेका बालेन शाहले खासै मत नकाट्ने कांग्रेस र एमालेको बुझाइ छ । 

त्यतिबेला कांग्रेस र एमालेका मेयर उम्मेदवारले ल्याएको मतको अन्तर करीब १९ हजार थियो । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जोड्दासमेत कांग्रेसलाई त्यतिबेलाको अन्तर मेटाउन मुश्किल देखिन्छ । त्यतिबेला वैकल्पिक शक्तिका रूपमा उठेका दर्शना र थापाले प्राप्त गरेको मत र नयाँ थपिएको मत कांग्रेसमा गएमा सिंहको बिजय निश्चित छ । 

सिंहको राजनीतिक पृष्ठभूमि ?

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी श्रृजना काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिस भएकी थिइन् । प्रकाशमानकी पत्नी मात्र नभइ उनको राजनीतिक पृष्ठभूमि भने लामो छ । उनले ०३२ सालमा काँग्रेसको क्रियाशील सदस्यता लिएकी थिइन् । 

०३६ सालमा काँग्रेस प्रतिबन्धित हुँदा उनी गोरखा नेपाल महिला संघ बहुदल प्रचार–प्रसार समितिको संयोजक थिइन् ।

०३६ सालदेखि ३८ सालसम्म उनी नेविसंघको क्याम्पस इकाई सभापति पनि भएकी थिइन् । त्यसपछि उनले शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनमा वर्तमान उर्जामन्त्री पम्फा भुसाललाई कोषाध्यक्षमा हराएकी थिइन् ।

०४२ सालमा प्रकाशमानसँग बिहे गरेपछि उनी राजनीतिबाट निष्क्रिय जस्तै हुन पुगिन् । यद्यपि ०५९ मा काँग्रेस विभाजन भइ बनेको शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उनको सक्रियता देखिएको थियो । 

पति प्रकाशमान जेलमा भएका बेला काँग्रेस प्रजातान्त्रिकको ११ औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि भएकी थिइन् ।

त्यसपछि भने काँग्रेस राजनीतिमा उनको सक्रियता थिएन । तर काँग्रेसको १४ औं महाधिवेशनबाट सिर्जना पुनः सक्रिय राजनीतिमा देखिएकी हुन् । १४ औं महाधिवेशनमा उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि बनेकी थिइन् ।


स्थापितको राजनीतिक पृष्ठभूमि 

केशव स्थापित भिजन भएका र विकासवादी नेताकै रुपमा चिनिन्छिन् । आफ्नो जति अरुको क्षमता छैन भन्ने स्वभाव हुँदाहुँदै पनि काठमाडौँका जनताले विकासवादी नेताका रुपमा चिनेका व्यक्ति हुन् उनी ।

उनले २०५१ सालमै विवाद र आलोचनाकै बीचमा खेलकुद परिषद्को सदस्य सचिव भएर सफलताका साथ काम गरेर देखाएका थिए । 

२०४९ को स्थानीय चुनावमा उपमेयरमा पराजित भएपनि २०५४ मा मेयर नै जितिदिए । मेयरमा जितेनन् मात्रै, उदाहरणीय काम गरेर सफल मेयरको उपमा पनि पाए ।

अहिले माइतीघर मण्डला रहेको ठाउँमा सडक अतिक्रमण गरेर त्यतिबेला बजार बसेको थियो । स्थापिथ आफैँ अघि लागेर त्यो बजार नै भत्काएर रातारात आकर्षक मण्डला खडा गरे ।

सडक पूर्वाधारतर्फ कालिमाटी–कुलेश्वर खण्ड विस्तार गरेर चौडा बनाए । कुनैपनि सडकको नामाकरण हुन नसकेको अवस्थामा उनले काठमाडौँका सबैजसो सडकको नामाकरण गरिदिए । 

आफ्ना पीता बितेको समयमा समेत स्काभेटरसँगै सडकमा बसेर काममा खटिन्थे । त्यसबेला देखिको उनको जोश अहिले पनि उस्तै छ भन्छन् उनलाई नजिकबाट चिन्नेहरु ।

विकासप्रेमी एकातिर हुन् भने अर्कोतिर उनी काठमाडौँका रैथाने नेवार समुदायका व्यक्ति हुन् । उनलाई उपत्यका बाहिर पनि धेरैले अतिथि वक्ताका रुपमा लगिरहन्छन् । 

विकास तत्काल गर्न सकिन्छ भनेर सपना देखाउने, योजना बनाउने, बनाइएका योजना जनतालाई सुनाई हाल्ने, निराशाका कुरा नगर्ने, सबैलाई आशावादी बन्न उत्प्रेरणा दिईरहने, जोखिम मोल्न नडराउने उनको स्वभाव सबैले मन पराउँछन् ।

पार्टीको भातृ संगठनमा केपी ओली र केशव स्थापित एउटै कमिटीमा थिए भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । अझ, एउटै कमिटीमा मात्रै होइन, दुवै जना कार्यकारी भूमीका थिए । 

२०४७ सालमा एमालेको तत्कालिन भातृ संगठन ‘प्रजातान्त्रिक राष्ट्रिय युवा संघ’को अध्यक्ष केपी ओली थिए भने केशव स्थापित महासचिव थिए । त्यतिबेला यो संगठन जति शक्तिशाली अरु संगठन थिएनन् । ओली यो संगठनको संस्थापक अध्यक्ष, स्थापित संस्थापक महासचिव ।

ओलीपछि स्थापित नै यो संगठनको अध्यक्ष बनेका थिए । स्थापित भन्दा पछि युवा संघको अध्यक्ष भएकाहरु एमालेको पदाधिकारी, स्थायी कमिटी सदस्य र मन्त्री नै भईसके । तर, स्थापित अहिले पनि एमालेको केन्द्रीय सदस्यमा सिमित छन् ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved