नेपाली
कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र
उम्मेदवार जगन्नाथ पौडेललाई निर्वाचनमा निष्क्रिय पार्न भन्दै भरतपुरमा छन् ।
पौडेललाई
निष्क्रिय पारेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा चुनावी
माहोल बनाउन देउवाले चाहेका छन् । उनले पौडेलसँग छलफलसमेत गरेको कांग्रेसका एक नेताले
जानकारी दिए ।
पौडेल
भने निष्क्रिय हुन सकारात्मक भइसकेका छैनन् । देउवाले उनलाई ‘कन्भिन्स’ पार्न भने प्रयास
गरिरहेको ती नेताले बताए ।
तर, कांग्रेस
जिल्ला सभापति राजेश्वर खनालले भने पौडेलसँग छलफल गर्ने भन्ने सुनेको र पौडेल सकारात्मक
कि नकारात्मक भए भन्ने जानकारी नभएको बताए ।
‘सभापतिज्यूले भेट्ने भन्ने कुरा चाहिँ सुनेको थिएँ । तर, भेट भयो कि भएन र भेटमा निष्क्रिय हुन उहाँ (जगन्नाथ पौडेल) सकारात्मक हुनु
भयो कि भएन भन्ने जानकारी छैन’, खनालले भने ।
पौडेललाई
१६ वैशाखमा उम्मेदवारी फिर्ता गराउन यसअघि गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री
उमेश श्रेष्ठलाई देउवाले पौडेलकै घरमा पठाएका थिए । उनीहरूले आग्रह पनि गरे तर पौडेल
टसमस भएनन् ।
यसपछि
भने नेता शंकर भण्डारीलाई पनि पौडेललाई भेट्न पठाए । उम्मेदवारी फिर्तादेखि निष्क्रिय
रहन अस्वीकार गर्दै आएपछि देउवा नै भरतपुर पुगेका हुन् ।
पौडेल
१६ वैशाखकै पार्टीको साधारण सदस्यतासमेत नरहनेगरी कारबाहीमा परिसकेका छन् । उनी स्वतन्त्र
उम्मेदवारको रूपमा निर्वाचन चिह्न ‘भुइँकटहर’ लिएर घरदैलो अभियानमा छन् ।
कांग्रेसबाट
उनी यसअघि राष्ट्रियसभा सदस्य भइसकेका छन् । उनी गठबन्धनप्रति असन्तुष्ट हुँदै स्वतन्त्र
उम्मेदवार बनेका हुन् ।