बहसमा पुनः वामगठबन्धन : निर्वाचनमार्फत एमालेमा 'एकता' पक्षधर अनुमोदित, माओवादी के गर्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2022 | 02:22:13 PM मा प्रकाशित

laxmi  sunrise bank

झापा ५ बाट निर्वाचित भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई फोन गरेर मिलेर जान आग्रह गरे । छलफल गरौंला भन्दै प्रचण्डले आफू सकारात्मक रहेको जवाफ दिए ।

पछिल्लो समय तिक्ततापूर्ण सम्बन्ध रहेका ओली र प्रचण्डबीचको त्यही टेलिफोन कुराकानीका आधारमा राजनीतिक वृत्तमा वाम गठबन्धन हुने चर्चा चलेको छ । सामाजिक सञ्जालमार्फत चलेको यो छलफलमा दुवै पार्टीसम्बद्ध नेता कार्यकर्ताहरूले आ-आफ्नो रायसहित सहभागिता जनाउने गरेका छन् ।

कतिपय दोस्रो तहका नेताहरूसमेत वामगठबन्धन असम्भव नरहेको प्रतिकृया दिने गरेका छन् । यद्यपि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कम्फर्टेबल महसुस गरेका प्रचण्डले देउवासँग गठबन्धन नटुटाउने प्रतिबद्धता भने गरिसकेका छन् । तर राजनीति सम्भावनाको खेल हो ।

हालसम्मको मतपरिणामले एमाले प्रतिनिधि सभाको दोस्रो ठूलो पार्टी बन्ने देखिएको छ । ओलीले माओवादी र आफ्नै पार्टी विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई विश्वासमा लिन एक-दुई फोन कल मात्र पर्याप्त छैन । एमालेका कतिपय नेताहरू भन्छन् बरू प्रचण्डसँग मिल्न सकिएला तर माधवकुमार नेपालसँग एमाले सँगै जान सक्दैन ।

निर्वाचनमा एमालेले अपेक्षित परिणाम ल्याउन सकेन । अझ अध्यक्ष ओलीलाई दह्रो साथ दिँदै आएका हेभिवेट नेताहरू जस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले निर्वाचनमा पराजय बेहोरेको अवस्था छ । उपाध्यक्षद्वय विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ ओलीसँग त्यति नजिक छैनन् । उपमहासचिवमध्ये निर्वाचन जितेका पृथ्वीसुब्बा गुरुङ पनि ओलीको संघीयताविरोधी रुझानको विपक्षमा छन् ।

निर्वाचनका कारण एमालेभित्रकै आन्तरिक शक्तिसन्तुलन फेरबदल हुने अवस्थालाई ओलीले गम्भीर रूपमा लिएका छन् । उनलाई आफ्नो पार्टी पहिला मिलाउनुपर्नेछ । अब बस्ने एमालेको समीक्षा बैठकमा पार्टी हारको जिम्मा ओलीले लिनुपर्ने आवाज उठ्नसक्ने परिस्थिति सिर्जना भएको छ ।

पार्टीभित्र वाम एकता पक्षधरमध्ये धेरैले प्रत्यक्ष निर्वाचन जितेका छन् । पुनः वाम गठबन्धन बन्न सक्ने बलियो आधार यही हो । तर वाम गठबन्धन हुँदा पनि सरकार चलाउने बहुमत भने नपुग्ने प्रष्ट भएको छ । ओली या प्रचण्डकै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी नजाने पक्कापक्की जस्तै छ भने राजाको पक्षमा वकालत गरेको राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा पनि कम्युनिस्टसँग हातेमालो गर्ला भन्न सकिन्न ।

कांग्रेस, माओवादी, नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चा मिलेर बहुमत पुग्ने अवस्थामा अहिले कायम रहेको गठबन्धन टुट्न गाह्रो छ । तर ओली भने यो गठबन्धनलाई हरहालतमा तोड्न चाहन्छन् । गठबन्धन तोड्ने ओलीको २ वर्षको मेहेनत सफल हुन सकेको छैन ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ पार्टीको बैठकमा वाम गठबन्धनको सम्भावनाबारे छलफल हुने बताउँछन् । लमजुङमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजय बेहोरेका देव गुरुङले पृथ्वीसुब्बा गुरुङलाई बधाइ र शुभकामना दिँदै वाम गठबन्धन गरेर अघि बढ्नुपर्ने राय व्यक्त गरेका थिए ।

बिजपाटीसँगको संक्षिप्त कुराकानीमा देव गुरुङले दुवै पार्टीभित्र वाम एकताका पक्षधर नेताहरू रहेको बताए । 'चुनावी समीक्षा होला, हाम्रो पार्टीभित्र पनि यसबारे कुरा उठ्छ,' उनले भने, 'निर्वाचनको अन्तिम मतपरिणाम आउन दिनुपर्यो ।'

खोटाङबाट माओवादी केन्द्रका रामकुमार राईसँग पराजित भएका ओलीका विश्वासपात्र मानिने बिशाल भट्टराई भने प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्री दिएन भने मात्र उनले एमालेसँग गठबन्धन बनाउन प्रयास गर्ने दाबी गरे ।

भट्टराईले भने, 'प्रचण्डसँग वाम विचारधारा नै छैन । उनलाई कांग्रेसले प्रधानमन्त्री दिएन भने केपी ओलीसँग सहयोग माग्न यता आउन सक्छन् । मैले पुनः वाम गठबन्धनको सम्भावना देखेको छैन ।'

भट्टराईले एकाध उम्मेदवारको हारजितले पार्टीभित्रको आन्तरिक शक्तिसन्तुलन पनि प्रभावित नहुने बताए ।

'एकाध उम्मेदवारको हारजितले पार्टीको आन्तरिक शक्तिसन्तुलन प्रभावित हुँदैन,' उनले भने, 'पार्टी एकताबद्ध भएर अघि बढ्छ । गठबन्धनमा रहेका दलहरूले सरकार बनाउन सकेनन भने बल्ल एमालेसँग छलफल हुने हो । ठूलो दल भएको नाताले कांग्रेसले नै सरकार बनाउने पहल लिनुपर्छ ।'

भट्टराईलगायत केही नेताबाहेक एमाले र माओवादीका दोस्रो पुस्ताका कतिपय नेताहरूले ओली र प्रचण्डलाई आराम गराएर आफूहरूले सरकार र पार्टीको नेतृत्व लिनुपर्ने धारणा राख्ने गरेका छन् । तर त्यसको मोडालिटी भने स्पष्ट छैन । दुवै पार्टीभित्र नेतृत्वको तानाशाहीकरणले कम्युनिस्ट आन्दोलन पछि परेको धारणा राख्ने नेताहरू मनग्य छन् ।

महासचिव शंकर पोखरेलको हारपछि एमालेमा उपाध्यक्ष विष्णु पौडेलको शक्तिशाली उदय भएको र उनैले प्रचण्ड र ओलीलाई मिलाएर लैजान सक्ने एक केन्द्रीय कमिटी सदस्यको भनाइ छ ।

'पार्टीभित्र एकता चाहनेहरूलाई जनताले अनुमोदन गरेका छन् भने विभाजन चाहनेहरूलाई जनताले पाखा लगाइदिएका छन्,' आफ्नो नाम उल्लेख नगर्ने शर्तमा उनले भने, 'अब बुढा नेताहरूलाई विस्थापन गरेर विष्णु पौडेललगायतको एकता पक्षधर समूहले दुवै पार्टीमा निर्णायक हस्तक्षेप गर्नुपर्छ ।'

सत्ताको दौडमा भएका कम्युनिस्ट नेताहरू मन्त्री प्रधानमन्त्रीकै बहसमा अड्किन्छन् कि वाम गठबन्धनमार्फत कम्युनिस्ट मतदातालाई खुसी पार्छन् त्यो अबको केही दिनमा प्रष्ट हुन्छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved