समानुपातिकतर्फ स्वतन्त्र पार्टी र माओवादीलाई बराबर सिट, कुन दलले कति पाउँछन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2022 | 02:39:43 PM मा प्रकाशित

laxmi  sunrise bank

आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र र सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सिट पाउने भएका छन् ।


सोमबार दिउँसोसम्म निर्वाचन आयोगको समानुपातिकतर्फको पछिल्लो तथ्यांकअनुसार उक्त दुई दलले समान सिट पाउने भएका हुन् । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ६२ हजार २२९ मत पाएको छ । भने, रास्वपाले ११ लाख २४ हजार ५५४ मत पाएको छ । दुई पार्टीबीच केही हजार मतको अन्तर भएपनि मत परिणाम विभाजक सूत्रअनुसार दुवै पार्टीले समान १४/१४ सिट पाउने भएका हुन् । 


यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र  सिके राउत नेतृत्वको जनमत पार्टीबीच झण्डै २६ हजारको मत अन्तर छ। तर, मत परिणाम विभाजक सूत्रबाट हिसाब यी दुवै पार्टीले समान ५/५ सिट पाउने देखिन्छ । प्रतिनिधि सभातर्फ प्रत्यक्षमा माओवादी केन्द्रले १८ सिट ल्याउँदा रास्वपाले ७ सिटमा जित निकालेको छ । 


निर्वाचन आयोगले समानुपातिकमा दलहरुले पाएका भोटको आधारमा कसले कति सांसद पाउने भन्ने निर्धारण गर्छ । मत परिणाम विभाजक सूत्रअनुसार समानुपातिकमा एमालेले ३३, कांग्रेसले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले १४, माओवादी केन्द्रले १४ , राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ५ सिट पाउने देखिन्छ। यद्यपि समानुपातिकतर्फको अन्तिम मतपरिणाम आएपछि आयोगले सिट संख्या आधिकारिक रुपमा निर्धारण गर्ने छ। 


यस हिसाबमा यी ७ दलले मात्र राष्ट्रिय दलको हैसियत पाउने छन्  । राष्ट्रिय पार्टी बन्नको लागि प्रत्यक्षमा कम्तिमा १ सिट जित्नु पर्छ भने समानुपातिकमा कुल सदर मतको कम्तिमा ३ प्रतिशत मत ल्याउनु पर्छ  । कुल सदर मतको ३ प्रतिशत मत नपाएपछि माधव नेपाल नेतृत्वको नेकपा एस राष्ट्रिय पार्टी बन्ने छैन  । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved