जापानमा नेपाली कामदार पनि जान पाउने, श्रम सम्झौताको तयारी सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2018 | 08:37:37 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्न सक्ने जापानमा नेपाली कामदार पठाउन जापान सरकारसँग लचिलो भई सम्झौता गर्न आन्तरिक छलफल भइसकेको नेपाल सरकारका अधिकारीहरूले बताएका छन्। कामदारको अभाव हटाउन जापान सरकारले हालै विभिन्न सात देशका श्रमिक भित्र्याउने निर्णय गरेकोमा नेपालको नाम पनि थप गर्ने भएपछि धेरैभन्दा धेरै नेपाली कामदार जापान पठाउन गृहकार्य तीव्र बनाइएको श्रम मन्त्रालयले जनाएको छ । आफ्नो देशमा बढिरहेको कामदार अभाव हटाउन विदेशी श्रमिक ल्याउने योजना अघि सारेको जापान सरकारले मंगोलिया र नेपालको नाम पनि सूचिकरण गर्ने प्रस्ताव गरिएको बताइएको छ।

अर्को हप्ता जापानको संसदबाट उक्त प्रस्ताव पारित भएपछि नेपालले रोजगारीको नयाँ गन्तव्य पाउन सक्ने छ। त्यसका निम्ति नेपाल सरकारले जापानसँग श्रम सम्झौताको लागि आन्तरिक तयारी थालिसकेको श्रम मन्त्रालयका सचिव महेश दाहालले बताए। उनले भने, "कूटनीतिक पहल जारी छ। नेपाली कामदार पठाउने सम्भावनाबारे गृहकार्य भइरहेको छ। उताबाट प्रतिनिधि मण्डल नै नेपाल आउने कुरा भइरहेको छ। के गर्न सकिन्छ हामी छलफल गर्छौँ।"

जापानले लामो समयदेखि विदेशबाट दक्ष श्रमिक ल्याउने तयारी गरिरहेको बताइन्छ। विदेशी श्रमिक प्राप्त गर्ने देशहरूको सूचीमा नेपाललाई समावेश गर्न यसअघि नै परराष्ट्र मन्त्रालय मार्फत बारम्बार छलफल भएको श्रम मन्त्रालयले जनाएको छ। तर नेपाली अधिकारीहरूले सरकार-सरकारबीच सम्झौता गर्नुपर्ने अर्थात 'जी टु जी' सम्झौता गर्न खोज्दा कुरा नमिलेको बताइएको छ।

त्यसैले अब हुने छलफलमा पनि सरकारले अप्ठ्यारा प्रस्ताव अघि सारेमा जापान जस्तो आकर्षक वैदेशिक रोजगारीको गन्तव्य गुम्न सक्ने चिन्तामा वैदेशिक रोजगार ब्यवसायीहरू देखिन्छन्। जापानले कृषि, स्वास्थ्य सेवा, निर्माण, स्याहार-सुसार, सवारी जस्ता क्षेत्रमा झन्डै साढे तीन लाख विदेशी कामदार भित्र्याउने लक्ष्य राखेको बताइएको छ। त्यसनिम्ति कामदारहरूले भाषा परीक्षा र सीप परीक्षा पास गर्नुपर्ने न्यूनतम योग्यता मापदण्ड तोकेको बताइएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved