कोरिया जानेको सङख्या उच्च, यस वर्षबाट थप २ वटा क्षेत्र थपिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 01:45:51 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण कोरिया नेपाली कामदारका लागि निकै आकर्षक गन्तव्य बन्दै गएको छ ।  कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत जाने कामदारले गर्ने काम तल्लो  तहको भए पनि अन्य देशको तुलनामा उच्च ज्याला र सामाजिक सुरक्षाको व्यवस्था हुने भएकाले दक्षिण कोरिया आकर्षक गन्तव्य बन्न पुगेको हो ।

ईपीएस प्रणालीअन्तर्गत दक्षिण कोरियाले नेपालसहित १६ देशबाट कामदार लिइरहेको छ । अन्य देशमा इन्डोनेशिया, मंगोलिया, श्रीलंका, फिलिपिन्स, थाइल्यान्ड, भियतनाम उज्बेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बंगलादेश, किर्गिजस्तान, इस्ट टिमोर र लाओस छन् । 

अन्य देशको तुलनामा कोरियाली कम्पनीले नेपाली कामदार ठूलो संख्यामा लिएको तथ्यांकबाट पनि पुष्टि हुन्छ । ह्युमन रिसोर्सेज डेभलपमेन्ट सर्भिसेज अफ कोरियाका अनुसार हालसम्म ९९ हजार ९०० नेपाली नेपाली ईपीएस् अन्तर्गत कोरिया पुगेका छन् ।

सन् २००७ देखि २०१४ सम्म २७ हजार  ५२९ नेपाली कोरिया गएका छन् । त्यस्तै २०१५ मा ५ हजार ८०८, २०१६ मा ८ हजार १९ र २०१७ मा ७ हजार ४७६ नेपाली कोरिया पुगेका हुन् । त्यस्तै २०१८ मा कोरिया जानेको सङख्यामा वृद्धि भएर ८ हजार ४०८ पुगेको छ । त्यस्तै २०१९मा ७ हजार ८८ र २०२० मा ९५५ जना नेपाली कोरिया गएका छन् । 

२०२१ मा भने सबै भन्दा कम नेपाली कोरिया गएका छन् । सो अवधिमा जम्मा ३८७ जना कोरिया गएका छन् ।  २०२२ मा १४ हजार ४९५ नेपाली कोरिया गएका हुन् । २०२३ मा भने १९ हजार ७३९ जना नेपाली कोरिया पुगेका छन् । जुन सङख्या हालसम्मै कोरिया जानेको उच्च पनि हो । सन् २०२३ मा कोरियाले ईपीएस प्रणालीअन्तर्गत १ लाख २० हजार विदेशी कामदारका लागि कोटा तोकेकोमा सो संख्यामा नेपाली लगेको ह्युमन रिसोर्सेज डेभलपमेन्ट सर्भिसेज अफ कोरियाले बताएको छ ।

त्यसो त सन् २०२४ का लागि १ लाख ६५ हजारको कोटा तोकिएको छ । विदेशी कामदारको कुल कोटा बढेसँगै नेपालले पाउने कोटा पनि बढेको छ । ईपीएस (कोरिया) शाखाका अनुसार नेपालको लागि सन् २०२४ मा जम्मा कोटा १३.२ प्रतिशतले बढेको छ ।

दक्षिण कोरियाले सन् २०२४ मै थप दुई नयाँ क्षेत्रमा नेपाली कामदार आफ्नो मुलुक लैजाने तयारी शुरु गरेको छ । जसअन्तरगत  सेवा र वन क्षेत्र समावेश  छन् ।

‘यो वर्षको अन्त्यतिरबाट सेवा र वनक्षेत्रमा पनि नेपाली कामदारले ईपीएसअन्तर्गत कोरियामा रोजगारीको अवसर गर्नेछन्,’ नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले बुधवार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यसको लागि कोटा पनि निर्धारण भइसकेको छ ।’

सन् २००७ को जुलाईदेखि नेपाली  कामदार कोरिया जान पाएका हुन् । उक्त वर्षमा नेपाल र दक्षिण कोरिया सरकारबीच मन्त्रीस्तरमा ईपीएस प्रणालीअन्तर्गत नेपाली कामदार कोरिया लैजानेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यो सरकार–सरकारबीचको प्रक्रिया अन्तर्गत नेपालीहरू रोजगारीको लागि कोरियामा जान पाउँछन् । परराष्ट्र मन्त्रालयका अनुसार हाल कोरियामा करिब ४० हजार नेपाली कार्यरत छन् । तीमध्ये अधिकांश ईपीएसअन्तर्गत गएकाहरू छन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved