साउदीले सन २०२४ मा ५९ हजार कामदारलाई सिजनल भिसा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 06:40:03 AM मा प्रकाशित

laxmi  sunrise bank

साउदीले सन २०२४ मा विश्वभरिका ५९ हजार कामदारलाई सिजनल भिसा दिने भएको छ। साउदीका मानव संशाधन तथा सामाजिक विकासमन्त्री अहमद अल–राजीले मक्का चेम्बर अफ कमर्सको मुख्यालयमा आयोजित व्यापारीहरूको भेलालाई सम्बोधनको क्रममा मन्त्री अल–राजीले यसबारे जानकारी गराएका हुन्।  

सन् २०२४ मा विभिन्न देशबाट विभिन्न पेसाका लागि ५९ हजारभन्दा बढी सिजनल भिसा जारी गरिने उनले बताए । मौसमी काममा साउदीका युवालाई आफ्नो क्षमता र सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउने पेसामा सशक्तीकरण गर्नुपर्नेमा जोड दिए । उनले मौसमी भिसाले हज र उमराहजस्ता विशेष मौसममा कम्पनीको कामलाई सहज बनाउन सहयोग गर्ने बताए ।

उनले आफ्नो मन्त्रालय, मक्का चेम्बरबीच चुनौती छलफल गर्न, अवसरमा लगानी गर्न, विशेष गरी हज, उमराह सिजनसँग सम्बन्धित र सिफारिस पेस गर्न कार्य टोली गठन गर्ने घोषणा गरे । व्यापारीसँगको संवाद सत्रमा उनले निजी क्षेत्रमा काम गर्ने साउदीको संख्या १७ लाखबाट २३ लाखमा बढेको बताए ।

७३ नेपालीलाई एक्जिट भिसा

साउदी अरबमा विभिन्न कारण गैरकानुनी रूपमा बसोबास गर्दै आएका ७३ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । साउदीको रियाद र दमामबाट गरी ७३ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरुब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

रियादस्थित नेपाली दूतावासका प्रथम सचिव टोपनारायण गिरीका अनुसार दूतावासको पहलमा २०२३ मा २ हजार ९३ जना नेपालीले एक्जिट भिसा प्राप्त गरेको जानकारी दिए । गैरकानुनी रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ । साउदीमा करिब ११ हजारभन्दा बढी नेपाली गैरकानुनी रूपमा काम गर्ने गरेको दूतावासको तथ्यांक छ भने दूतावासको सम्पर्कमा नआएकाको यकिन तथ्यांक छैन। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved