युरोपका देश र क्यानडा पठाइदिने भन्दै ठगी बढ्दो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2024 | 01:38:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीहरूलाई वैदेशिक रोजगारीका लागि उत्तर अमेरिकी देश क्यानडा तथा युरोपेली देशहरूमा पठाइदिने भन्दै ठगी गर्ने क्रम बढ्न थालेको छ । वैदेशिक रोजगारका जानकारहरुका अनुसार क्यानडा, अस्ट्रेलिया र न्यूजील्यान्डसहित युरोपका देशहरुमा पठाइने भन्दै ठगी बढ्न थालेको हो ।

प्रहरीमा पनि यस्ता उजुरीहरु निकै आउने गरेका छन् । प्रहरीका अनुसन्धान अधिकारीहरू पनि नेपाली श्रमिकका मुख्य गन्तव्यका रुपमा रहेका परम्परागत श्रम गन्तव्य मुलुकमा पनि ठगी हुने क्रम जारी नै रहेको र पछिल्लो समय युरोप र क्यानडाका नाममा समेत ठगी हुने क्रम बढिरहेको बताउँछन् ।

केही दिन अघि मात्रै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यानडा, पोर्चुगललगायतका देशमा रोजगारीका लागि पठाउने भन्दै ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको थियो । यीमध्ये २ जनाले ‘टप च्वाइस एजुकेशन कन्सल्टेन्सी प्रा.लि.’बाट रोजगारीका लागि क्यानडासहित युरोपेली देशहरूमा पठाइदिने भन्दै ५० जनालाई ठगी गरेको र भारतको राजधानी दिल्ली पु¥याएर अलपत्र पारेको प्रहरीको भनाइ छ । 

तर, प्रहरी अनुसन्धानका क्रममा उक्त नाम गरेको एजुकेशन कन्सल्टेन्सी दर्ता नै नरहेको पाइएको छ । पक्राउ परेका व्यक्तिहरुको बयान अनुसार उनीहरुले दलालमार्फत् नेपालीलाई दिल्ली पु¥याएर अलपत्र पारिदिएका थिए । उनीहरुले कम्तीमा ५ करोड रुपैयाँ ठगी गरेको पाइएको छ ।

प्रहरीका अनुसार क्यानडासहित युरोपेली देशहरू स्पेन, पोर्चुगल, क्रोयशिया, पोल्यान्ड, माल्ट ालगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी गर्नेहरु बढिरहेका छन् । यस्तो ठगीमा संलग्न कयौँ व्यक्तिलाई पक्राउ गरेर कारबाही गर्नका लागि वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जनाएको छ र

वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार गत साउनदेखि हालसम्म क्यानडा पठाइदिने भनेर ठगी गरेको भन्दै ११३ वटा उजुरी परेका छन् । उजुरीकर्ताले लिएको उजुरीमा उल्लेख भएअनुसार ठगहरुले पीडितबाट करिब २ करोड ६० लाख रुपैयाँ अशुलेका छन् । 

उप्रेतीका अनुसार युरोपेली देशहरूमा व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीका लागि पठाइदिने भन्दै ठगी भएका उजुरी विभागमा आउने गरेका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पनि नेपालीहरू युरोप तथा अमेरिकी देशहरुमा रोजगारीका लागि जाने लोभमा पर्दा मानव तस्करीमा पर्ने गरेको बताउँछ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालका अनुसार पहिले पहिले मलेशिया र खाडीका देशमा रोजगारीका लागि पठाइदिने भन्दै मानव तस्कर हुने गरेको भए पनि अहिले ती देशहरुसहित युरोप र अमेरिकी देशतिर पनि फैलिएको छ ।

‘पहिला पहिला मान्छेहरुमा ललाई फकाईमा परेर बेचबिखनमा पर्थे, अहिले आफ्नै चाहनामा विदेश जान खोज्दा तस्करीमा पर्ने गरेको पाइन्छ’ उनले भने, ‘मानिसहरू युरोप वा क्यानडा भन्ने बित्तिकै तयार हुन्छन्, ठूला देश भएकाले कुनै शंका गर्दैनन्, तर झ्याप्प विश्वास गर्दा उनीहरु तस्करीको शिकार बन्छन् ।’

साथै, युरोप तथा क्यानडासहितका देशहरुमा संस्थागत रूपमा भन्दा पनि व्यक्तिगत रूपमा कामदार पठाउने गरिएकाले ठगी र मानव तस्करी बढिरहेको निष्कर्ष प्रहरी र विभागको छ । तर, वैदेशिक रोजगार व्यवसायीहरु भने सरकारी नीतिकै कारण कामदारले समस्या भोग्नु परिरहेको बताउँछन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार युरोपबाट ठूलो संख्यामा नेपाली कामदारको माग आएको भए पनि संस्थागत रूपमा पठाउन सरकारी नीति नै स्पष्ट छैन । 

‘दूतावासले माग प्रमाणिकरण गरिदिँदैनन्, कतिपय दूतावास नै नभएका देशबाट समेत माग आउँछ, त्यसमा के गर्ने भन्ने कुनै कार्यविधि छैन’ उनी भन्छन्, ‘यसै कारणले कतै कन्सल्टेन्सीको नाममा र कतै व्यक्तिगत श्रम स्वीकृतिका नाममा ठगी बढिरहेको छ ।’

उनले संस्थागत रूपमा कामदार पठाउने व्यवस्था मिलाउन सरकारसँग माग पनि गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved