कोहलपुर–सुर्खेत प्रसारण लाइनको निर्माण कार्य शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2021 | 07:24:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य शुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको ३६ औँ वार्षिकोत्सवको अवसरमा कोहलपुर सुर्खेत १३२ केभी प्रसारण आयोजनाले प्रसारण लाइनको टावर निर्माण कार्य शुरुआत गरेको हो ।

आयोजनाले प्रसारण लाइनका लागि १६१ टावर निर्माण गर्दैछ । आयोजनाका इञ्जिनीयर कृष्ण खड्काले कोहलपुरमा टावरको शिलान्यास भइसकेको र दुई वर्षभित्र प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

“आयोजना निर्माण भएपछि लामो समयदेखि लो भोल्टेजबाट आजित कर्णालीवासी उपभोक्ताले राहत पाउने छन्”, उनले भने, “प्रसारण लाइनको निर्माण व्यवसायी कम्पनीले काम शुरु गरिसकेको छ, कुनै अवरोध नआए निर्धारित समयमै आयोजना सम्पन्न हुनेछ ।” विसं २०४५ मा विस्तार भएको कोहलपुर–सुर्खेत प्रसारण लाइन अब १३२ केभी क्षमताको निर्माण हुने भएपछि कर्णालीवासी उत्साही छन् ।

आयोजनाका अनुसार करिब ५१ किलोमिटर प्रसारण लाइनको लम्बाइ डबल सर्किटको हुनेछ । आयोजनाको कूल लम्बाइ करिब ५१.४६२ किलोमिटर रहनेछ । एंगल टावर २६ वटा रहने छन् भने आयोजनाको कूल टावरको सङ्ख्या १६१ रहने जनाइएको छ । त्यस्तै, सुर्खेतमा रहने सव–स्टेशनको क्षेत्रफल ३.७२४९ हेक्टर रहनेछ । आयोजना क्षेत्रको स्थलगत सर्वेक्षणअनुसार प्रसारणलाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, सामुदायिक र सरकारी वन पर्नेछ ।

आयोजना लुम्बिनी प्रदेशको बाँके, बर्दिया तथा कर्णालीको सुर्खेतभित्र अवस्थित रहनेछ । यस आयोजनाबाट तीन जिल्लाका पाँच नगरपालिका तथा एक गाउँपालिका प्रभावित हुने जनाइएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved