एचआईडिसीएलको योजना: राष्ट्र बैंकको नियमनमा जाने, शेयर दिएर अन्तर्राष्ट्रिय साझेदार ल्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2022 | 01:11:51 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले कम्पनीको पूँजीमा पुनः संरचना गरी शेयर संरचनामा अन्तर्राष्ट्रिय रणनीतिक साझेदारलाई सहभागी गराउने योजना अघि सारेको छ । कम्पनीको आज भएको साधारणसभा कम्पनीका अध्यक्ष देवेन्द्र कार्कीले कम्पनीको वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीका विभिन्न रणनीतिक योजनाहरु बारे जानकारी दिएका छन् ।

जस अनुसार कम्पनीले कम्पनीको पूँजीमा पुनः संरचना गरी शेयर संरचनामा अन्तर्राष्ट्रिय रणनीतिक साझेदारलाई सहभागी गराई कम्पनीमा अन्तर्राष्ट्रिय अनुभव र स्रोत साधन भित्राउन प्रयास गर्ने पनि उल्लेख रहेको छ।

कम्पनीले आगामी रणनीतिक योजना तयार गरेको छ । नीजि तथा सरकारी स्तरबाट विकास गरिने जलविद्युत आयोजनाहरुमा शेयर तथा ऋण लगानी गरी आयोजनाहरुको वित्तीय, संस्थागत एवं प्राविधिक सुदृढिकरण गर्ने तथा दीर्घकालीन लगानी गरी कम्पनीका शेयरधनीहरुको लाभ वृद्धि गर्ने उद्देश्य सहित कम्पनीले जलविद्युत आयोजनाहरुमा शेयर लगानीलाई प्राथमिकतामा राखी अघि बढ्ने योजना अनुसार सो रणनीतिक योजना तयार गरिएको कम्पनीले जनाएको छ ।

अध्यक्ष कार्कीले कम्पनीको चार वर्षे रणनीतिक योजनाले देहाय बमोजिमको लक्ष्य लिएको बताए। 

(क) लगानी संरचनाः कुल लगानीमध्ये शेयर लगानीतर्फ न्यूनतम ४५ प्रतिशतदेखि र अधिकतम ६५ प्रतिशतसम्म र ऋण लगानीतर्फ न्यूनतम ३५ प्रतिशतदेखि अधिकतम ५५ प्रतिशतसम्मको लगानी संरचना (Portfolio) कायम गर्ने दीर्घकालीन लक्ष्य अनुरुप ऋण तथा लगानीको संरचना कायम गर्ने।

(ख) लगानी प्रतिबद्धताः करिब ६५०० मेगावाट जडित क्षमताका जलविद्युत आयोजनाहरूमा करिब रु. १०० अर्ब बराबरको शेयर पूँजी र ऋण लगानीको लगानी प्रतिबद्धता रहने।

(ग) लगानी प्रवाहः प्रतिबद्धता गरिएका आयोजनाहरुमा करिब रु. ३२ अर्ब ऋण र शेयर बापत लगानी रकम प्रवाह गर्ने।

(घ) वित्तीय स्रोत परिचालनः शेयर पूँजी बापत रु. २२ अर्ब र अन्य वित्तीय उपकरणको माध्यमबाट रु. १५ अर्बसहित कुल रु.३७ अर्ब वित्तीय स्रोतको परिचालन गर्ने।

(ङ) तरलता व्यवस्थापनः परिचालन भएको वित्तीय स्रोतको न्यूनतम ९० प्रतिशत रकम विद्युत आयोजनाहरूमा लगानी प्रवाह गर्ने।


कम्पनीको चार वर्षे रणनीतिक योजना अन्तर्गत देहायका रणनीतिक सुधार योजना एवं रणनीति अवलम्बन गर्ने योजना रहेको जनाएको छः

(क) नेपाल राष्ट्र बैङ्कको पूर्ण नियमन र सुपरीवेक्षणमा रहने गरी कम्पनीको संरचनागत तथा संस्थागत रूपान्तरण र विकास गर्ने।

(ख) कम्पनीको पूँजीमा पुनः संरचना गरी शेयर संरचनामा अन्तर्राष्ट्रिय रणनीतिक साझेदारलाई सहभागी गराई कम्पनीमा अन्तर्राष्ट्रिय अनुभव र स्रोत साधन भित्राउन प्रयास गर्ने।

(ग) वित्तीय स्रोतको परिचालन तथा लगानीको विस्तारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य र रणनीतिक साझेदारी कायम गरी नेपाल सरकारले प्राथमिकतामा राखेका आयोजनाहरुको वित्तीय व्यवस्थापन गर्ने प्रमुख वित्तीय व्यवस्थापकको रुपमा भूमिका निर्वाह गर्ने।

(घ) सहायक कम्पनी मार्फत एवं रणनीतिक साझेदारीमा अघि बढाइएका आयोजनाहरुको विस्तृत अध्ययन सम्पन्न र लगानीको ढाँचा निर्धारण गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने।

(ङ) बण्ड, डिवेञ्चर, सर्टिफिकेट अफ डिपोजिट आदि जस्ता वित्तीय उपकरण एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट ऋण तथा अनुदान प्राप्त गरी लगानी योग्य पूँजी अभिवृद्धि गर्ने।

(च) शेयर लगानीकर्ताहरूको दीर्घकालीन प्रतिफल उच्चतम कायम गर्न आयोजनाहरुको शेयरमा हुने लगानीलाई प्राथमिकतामा राखी शेयर लगानी र ऋण लगानी बीच सन्तुलन कायम हुने गरी लगानी विस्तार गर्ने।

(छ) कम्पनीको संस्थागत क्षमता अभिवृद्धि, संस्थागत सुशासन प्रवद्र्धन, सूचनामा आधारित व्यवस्थापन पद्धतिको विकास, मितव्ययी तथा परिणाममुखी कार्यसञ्चालन पद्धतिको विकास एवं संस्थागत सामाजिक उत्तरदायित्वको प्रवद्र्धनका माध्यमबाट कम्पनीको सार्वजनिक विश्वसनीयता अभिवृद्धि गर्ने।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved